शुक्रबार हलमा ‘घामड शेरे’ र ‘जीवन काँडा की फूल’

काठमाडौँ– शुक्रबार हलमा दुई नेपाली चलचित्र प्रदर्शन भएका छन्। साहित्यकार झमक घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’ र सामाजिक विषयवस्तुमा आधारित चलचित्र ‘घामड शेरे’ नेपालभर प्रदर्शनमा आएका हुन्।

साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा की फूल’ मा आधारित चलचित्र ‘जीवन काँडा की फूल’ तीन वर्ष अगाडि नै छायांकन सकिएको थियो। यो चलचित्र विभिन्न प्राविधिक कारणले अहिले प्रदर्शनमा आएको हो। यो चलचित्रको पटकथा मुक्ति उपाध्यायले लेखेका हुन्। विनोद विष्टको निर्देशनमा बनेको चलचित्रमा विनोद नै निर्माता छन्।

यस्तै झमकको बाल्यकालको भूमिकामा आस्था थापा छिन् र झमक ठूलो भएपछिको भूमिकामा रोजिता बुद्धाचार्य छिन्। यस्तै झमकको बहिनीको भूमिकामा देखिएकी छन् सारिका घिमिरे। यो चलचित्रमा झमकको बाल्यकाल र ठूलो भएपछिको संघर्षको समयलाई देखाइएको छ। झमक घिमिरेको पुस्तकले मदन पुरस्कार जितको थियो।

यस्तै, निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित चलचित्र ‘घामड शेरे’ पनि आजबाट प्रदर्शनमा आएको छ। सामाजिक विषयवस्तुमा आधारित यो चलचित्रमा आफूले किनेको जग्गा खोलाले बगाएपछि खोलालाई मुद्दा हालेको प्रसंग छ। चलचित्रमा निश्चल र स्वस्तिमा सँगै सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय छ। हेमराज बिसीको लगानीमा बनेको चलचित्रको निर्देशन, पटकथा र कथा हेमराज आफैले गरेका हुन्। चलचित्रमा काली प्रसाद बास्कोटाको संगीत छ।

कात्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्