लुम्बिनीमा त्रिपिटक वाचन हुने, तीन दिनसम्म शान्ति पदयात्रा

बुटवल–बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तरराष्ट्रियस्तरको त्रिपिटक वाचन हुने भएको छ।

त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाई विहारको सहयोगमा दोस्रोपटक बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक वाचन कार्यक्रम हुने आयोजक समितिका संयोजक भिक्षुमैत्री महास्थविरले जानकारी दिए।

विज्ञापन

कात्तिक २८ देखि ३० गतेसम्म मायादेवी मन्दिर परिसरमा हुने कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, म्यान्मा, थाइल्याण्ड, कोरिया, जापानलगायत २५ देशका भिक्षु, गुरुआमा, लामा ,आनी तथा उपासक उपासिकाकोे सहभागिता रहने छ।

तीनदिनसम्म हुने कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधम्म पिटकको वाचन हुनेछ।

पहिलो दिन नेपाली भिक्षुले सुत्रपिटकअन्तर्गतको दीर्घनिकायको बह्रमजालसूत्र वाचन गरेर त्रिपिटक वाचनको शुरुवात गरेपछि दोस्रो दिन म्यान्माका भिक्षुले अभिधम्म पिटक वाचन र तेस्रो दिन थाई भिक्षुुले विनयपिटक वाचन कार्यक्रमको नेतृत्व गर्ने उनले बताए।

त्रिपिटक वाचनले लुम्बिनीको प्रचारप्रसारका साथसाथै बौद्ध शिक्षा र त्रिपिटकको महत्वका बारेमा सचेत गराउने संयोजक महास्थविरले बताए।

लुम्बिनीकै प्रचारप्रसारका लागि त्रिपिटक वाचनभन्दा अघि ३ दिनसम्म शान्ति पदयात्राको कार्यक्रम रहेको छ। सो कार्यक्रम भने कात्तिक २५ गतेदेखि नै शुरु हुने छ।

कात्तिक २५ गते लुम्बिनीबाट रामग्राम, २६ गते लुम्बिनीदेखि तिलौराकोट र २७ गते अन्य बुद्धस्थलमा पदयात्रा गर्ने कार्यक्रम तय भएको छ।

२६ गते पूर्णिमा परेकाले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूर्णिमा उत्सव मनाइनेछ। पदयात्रामा भिक्षु, भिक्षुणी, बौद्ध उपासक, उपासिका तथा सर्वसाधारणसमेत सहभागी हुनसक्ने गरी खुला राखिएको छ।

के हो त्रिपिटक ?
त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो।यो ग्रन्थलाई सबै बौद्ध सम्प्रदायले अनुशरण गर्छन्।यो बौद्ध धर्मको पुरानो ग्रन्थ हो जसमा भगवान् बुद्धको उपदेश सङ्ग्रहित छ।

यो ग्रन्थ पाली भाषामा लेखिएको छ भने विभिन्न भाषामा अनुवाद भएको छ।यस ग्रन्थमा भगवान् बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरिनिर्वाण हुनुअघिसम्म दिएका प्रवचन सङ्ग्रह गरिएको छ।

बोधगयामा बुद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म भगवान् बुद्धले नेपाल, भारत, श्रीलङ्कासहित विश्वका विभिन्न मुलुकमा धर्मोपदेश गरेका थिए।

गौतमबुद्धको महापरिनिर्वाणपछि विभिन्न सङ्घमार्फत बुद्ध वचनलाई एक सूत्रमा सङ्ग्रह गरिएको थियो।यसलाई नै त्रिपिटक भनिन्छ।अभिधम्म पिटक, सुत्त पिटक तथा विनय पिटकको सङ्ग्रह नै ‘त्रिपिटक’ हो।

त्रिपिटकअन्तर्गतका विनयपिटकलाई सुत्तपिटक र अभिधम्म पिटकलाई विभिन्न चरणमा विभाजन गरिएको छ।

विनयपिटक अन्तर्गत सुत्तविभङ्ग, खन्धक, परिवार, पातिमोक्ख छन्।सुत्तपिटकअन्तर्गत दीघनिकाय, मज्झिम निकाय, संयुक्तनिकाय, अङ्गुत्तर निकाय, खुद्दक निकाय र अभिधम्मपिटक अन्तर्गत धम्मसङ्गणी, विभङ्ग, धातुकथा, पुग्गलपञ्ञती कथावत्थु, यमक र पट्ठान छन्।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्