के तपाईँ आफ्नी श्रीमतीलाई ‘मेरी स्वास्‍नी’ भनेर चिनाउनुहुन्छ ?

हाम्रो समाजमा  प्रयोग गरिरहने कतिपय शब्दहरूको शाब्दिक अर्थ गलत नहुँदानहुँदै पनि यसको प्रभाव कस्तो पर्छ भन्ने महत्त्वपूर्ण छ। विभिन्न शब्दहरूलाई लिएर भाषाविद्हरूबीच बहस पनि हुन थालेको छ। म भाषाविद् होइन, तर समाजमा यसको खुला बहस हुनपर्छ भन्नेमा विश्वास राख्छु।

अहिले मेरो ट्वि‍टर टाइमलाइनमा केही शब्द अर्थसहित देखा परेका छन्। स्वास्नी, विधवा, मधेसी यस्तैयस्तै।शाब्दिक अर्थमा दुबैले नराम्रो अर्थ बोक्दैनन् तर यसको छाप भने हाम्रो समाजमा नकारात्मक छ। यी शब्दहरुको प्रयोग पहिलेदेखि नै सम्बोधित व्यक्तिका लागि सम्मानभन्दा पनि हेयको दृष्टिले हेरेको अवस्थामा प्रयोग हुँदै आएको जगजाहेर नै छ। यहाँ हामीले शब्दको कुरा गरिरहँदा, विषय शब्दमा मात्र सीमित छैन, यी शब्दहरु सम्बोधन बनेका छन्।

विज्ञापन

सामान्य मानवीय मूल्यमान्यतालाई मात्रै भए पनि स्थान दिने जो कोहीले यदि हेयको भाव राखी ती सम्बोधन बोधक शब्दको प्रयोग गर्छ, अनि सम्बोधित व्यक्तिले आपत्ति जनाएको खण्डमा शब्दकोष पल्टाएर शब्दको अर्थ पढाउँछ भने त्यसको नियतमा शंका गर्नुपर्ने प्रशस्त ठाउँ भेटिन्छ।सही अर्थले गलत सन्देश वा समाजमा नकारात्मक प्रभाव पार्ने शब्दलाई अंग्रेजीमा ‘नेगेटिव कनोटेसन’ भनिन्छ।

अमेरिकामा यस्ता थुप्रै शब्दलाई प्रयोग गर्न बन्द गरिएको छ। कानुन नै पारित गरिएको छ। सन २०१० अक्टोबरमा ‘मेन्टल रिटार्डेड’लाई ‘नेगेटिव कनोटेसन’ भनेर ‘इन्टलक्चुअल डिजाविलिटी’मा परिवर्तन गरियो। सन् २०१३ जनवरी २८ मा फेडरलमा पास गरियो यो कानुन।हामीकहाँ भने यो सम्बोधन मन परेन भनेर आवाज उठाउँदा मैले गरेको सम्बोधन मन नपरे ‘कान थुन’ भनेर उल्टो लल्कार्ने गरिन्छ।

जुन सम्बोधनले सम्बोधितको मनमा सकारात्मक तरंग दिँदैन, जुन सम्बोधन सुन्दा उसलाई घृणा पैदा हुन्छ, त्यस्ता सम्बोधनहरु गर्न पाउनुपर्छ भनेर वकालत गरिनु आफैँमा दु:खलाग्दो कुरा हो। अझ ती शब्दहरु लोपोन्मुख हुन लागे भनेर आरक्षण नै दिएजसरी छापा र मिडियामा स्थान दिनु भनेको सम्बोधितको भावनाको कदर नगर्नु हो। बेवास्ता गर्नु हो।निगर शब्दले ल्याटिनमा सामान्य रूपमा कालो भनेर बुझिन्छ।

काला अमेरिकन भन्न रूचाउने समाजले ‘निगर’ शब्दको प्रयोग ‘एन वर्ड’ भनेर गर्छन्। शाब्दिक अर्थ खोज्दा यो सामान्य लाग्छ तर यसको इतिहास हेर्ने हो भने हामी यसको प्रयोगमा हिच्किचाउँछौँ। हालसालै अमेरिकाका एक चर्चित फुटबल खेलाडीले अर्का श्याम वर्णका खेलाडीलाई ‘निगर’ भनेर सम्बोधन गरिएको प्रत्यक्ष प्रसारण भयो, आज सामाजिक सञ्जालमा श्याम वर्णका मानिसहरुको आक्रोश पोखिएको छ।

त्यसैले संवेदना बोकेका कयौँ शब्दहरूलाई लाई प्रयोगमा ल्याउन अघि त्यसले पार्ने प्रभाव पनि सोच्न जरूरी देखिन्छ।सामान्य बोलिचालीमा हुने प्रयोग होस् या व्यवसायिक लेखनमा होस्, कसैको सांस्कृतिक संवेदनालाई बेवास्ता गर्नु भाषा उत्थानको उद्देश्य हुनु हुँदैन। भर्खरै बहसमा आएको शब्द ‘स्वास्नी।’ स्वास्नीको शाब्दिक अर्थ सुवासिनी हो र यसको प्रयोग अपहेलना जनाउने होइन भन्दै लेख नै आयो र वाहवाही पायो।

थोरै पनि यसको प्रयोगको संस्कृतिमा बहस जरूरी सम्झिएनन् उनीहरुले। यो शब्द कतिलाई प्रिय लाग्ला?’फलानाकि स्वास्नी’ भन्दा हेपेर प्रयोगमा आएको हामीले शब्द सुनेदेखिकै हो। कसैले ‘मेरी स्वास्नी’ भनेर परिचय गराएको कमसेकम मैले देखेको छैन।

श्रीमती, जीवनसाथी, जीवनसंगिनीजस्ता आदरार्थी शब्द हुँदाहुँदै शब्द जीवित राख्नकै खातिर शब्दको प्रयोग तर्कहीन छन्। यस्ता अपहेलना जनाउने शब्द बिलाउँदै जानुपर्छ। त्यस्तै विधवाका शाब्दिक अर्थ जे सुकै होस्, ‘विध्वी’ भनेर अपहेलना जनाउन प्रयोग भएका शब्द हुन्। श्रीमान नभएकी भनेर परिचित गराउने शब्दले  महिलालाई अपमानित गर्छ भने यसको प्रयोग पनि सोचेर नै गर्नुपर्छ।

कुनै पनि शब्दलाई प्रयोग गर्नुअघि यसको प्रयोगको इतिहास र यसले बोकेको मनोवैज्ञानिक असरमा ध्यान दिनु अपरिहार्य हुन्छ।सामान्य बोलिचालीमा हुने प्रयोग होस् या व्यवसायिक लेखनमा होस्, कसैको सांस्कृतिक संवेदनालाई बेवास्ता गर्नु भाषा उत्थानको उद्देश्य हुनु हुँदैन। शब्दहरू हामीबाटै निर्मित हुन् तर यसको प्रयोग र प्रभाव के कस्ता अवस्थामा थिए भन्ने मनन गर्नुपर्छ।

विशेष गरी महिलाको अवस्था र स्थान के थिए? उनीहरूलाई प्रयोग गरिने शब्दहरू सम्मानित थिए? किन आइमाई र स्वास्नीले जस्तो भावना बोक्छ, आमा, छोरी, दिदीबहिनी र बुहारीले बोक्दैनन्? हो, आमा, छोरी, दिदीबहिनीजस्ता शब्दले घृणा होइन, सम्मान बोक्छन्।

बिशेषगरी सामाजिक स्तर न्यून भएकाहरूको हकमा प्रयोग भएका शब्दहरू जुन जनजिब्रोमा होच्याउन प्रयोग भएका छन्, तिनको आदरार्थी प्रयोग असम्भव छ। मधेशी अर्को शब्द हो जसले मधेशबासी भन्ने बुझाउँछ तर यसको प्रयोग शुरूवातमा होच्याउने प्रवृत्तिका भएकाले यसले सकारात्मक प्रभाव पार्नेमा शंका छ।

भाषाविद् र भाषा पुनरुत्थानमा लागेकाहरुले समाजमा हुने यसको प्रभाव बेवास्ता गर्न मिल्दैन। सामाजिक मान्यता, संवेदना र यसले पर्न जाने मानसिक असरबारे अध्ययन हुनैपर्छ।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्