सीआईबी र मेट्रो प्रहरी प्रमुख परिवर्तनको तयारी, निर्वाचन आयोगलाई पत्राचार

काठमाडौँ- गृह मन्त्रालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबी र महानगरीय प्रहरी कार्यालय ‘मेट्रो’ प्रमुख परिवर्तनको तयारी गरेको छ। यी दुई वटा प्रहरी युनिटलाई ध्यानमा राख्दै प्रहरीले प्रहरी नायब महानिरिक्षक-डीआईजी सरुवाको तयारी गरेको हो।

सीआईबी र मेट्रो दुवैको प्रमुख डीआईजी हुन्छन्। यसैगरी प्रदेश प्रमुखको जिम्मेवारी पनि डीआईजीले सम्हाल्छन्। ६ महिनाअघि डीआईजीको सरुवा हुँदा प्रदेश प्रमुखहरु परिवर्तन भएका थिए। तर मेट्रो र सीआईबोको नेतृत्व एक वर्षयता परिवर्तन भएको छैन। हाल सीआईबी प्रमुख निरज शाही र मेट्रो प्रमुख शैलेस थापा रहेका छन्।

विज्ञापन

‘करियर प्लानिङ’का हिसाबले यी दुबै युनिट महत्वपुर्ण मानिन्छन्। प्रदेश र संघीय संसदको उपनिर्वाचनका लागि आचारसंहिता लागु भइसकेकाले प्रहरी अधिकारीको सरुवाका लागि गृह मन्त्रालयले अनुमतीका लागि निर्वाचन आयोगलाई पत्राचार गरेको छ।

स्रोतका अनुसार आयोगले पत्रको जवाफ दिएको छैन। आयोगले स्विकृती दिए आगामी साता डीआईजीको सरुवा हुन सक्ने गृह मन्त्रालय स्रोतले जनाएको छ। डीआईजीको सरुवा गृह मन्त्रालयले गर्दछ।

गृह मन्त्रालयले थापा र शाहीसँगै गत वर्ष सरुवा भएका डीआईजीलाई ६ महिना अघि हेरफेर गरेको थियो। हाल डीआईजी रहेका अधिकांश वर्तमान आईजिपी सर्वेन्द्र खनालका ब्याजी छन्। उनिहरुल‍े आगामी माघमा खनालसँगै सेवाबाट अवकाश पाउने छन्। अन्य चार जना डीआईजीले आगामी असारबाट सेवाबाट अवकाश पाउनेछन्। त्यसपछिका पाँच जना डिआईजी छन्।

२०४९ साल बैशाखमा प्रहरी निरिक्षकबाट सेवा सुरु गरेकामध्ये शैलेश थापा, प्रधुम्न कार्की, हरि पाल र निरज शाही मात्र अहिले डीआईजी छन्। पाल विषेश ब्युरोका प्रमुख छन् भने कार्कीले ६ महिनाअघि प्रदेश-२ प्रमुखको जिम्मेवारी सुरु गरेका थिए।

२०४९ चैतमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका विश्वराज पोखरेल पनि अहिले डीआईजी छन्। प्रहरीको लागु औषध नियन्त्रण ब्युरोमा रहेका बेला डीआईजीमा बढुवा पाएका पोखरेल अहिले प्रहरी प्रधान कार्यालयको प्रवक्ता छन्।

लागु औषध नियन्त्रण ब्युरोमा सरुवा हुनुअघि काठमाडौँ प्रहरी प्रमुख रहेका पोखरेल अब हुने डीआईजी सरुवामा मेट्रो र सीआईबी जाने आकांक्षी रहेको बताइन्छ।  ‘आईजिपी ब्याजका केही डीआईजीको पनि दोडधुप देखिन्छ’, गृह मन्त्रालय स्रोतले भन्यो।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्