जोहना लुम्लेसहित अन्य दुईलाई पर्यटन वर्षको सद्भावना राजदूत

गायक पन्नाकाजीका छोरा पवित्रमान शाक्य 'तिरिरी मुरली बज्यो वनैमा' गीत गाउँदै। तस्बिर: देशसञ्चार

नेपाल पर्यटन वर्ष (२०२०) सचिवालय र नेपाल सेन्टर (संयुक्त अधिराज्य) ले तीन प्रबुद्ध बेलायती नागरिकलाई विशेष सम्मान गर्नुका साथै उनीहरुलाई ‘सद्भावना राजदूत’ नियुक्त गरेको छ।

विहीबार लण्डनस्थित ‘हाउस अफ लर्ड्स’ मा आयोजित विशेष कार्यक्रममा अभिनेत्री तथा गोर्खा अधिकारका लागि समर्पित जोहना लुम्ले, विश्वका धनाड्यहरुको सूचीमा सामेल जि.पि हिन्दुजा र एसिया मूलकी पहिलो बेलायती मन्त्री बेरोनेस वर्मालाई विशेष सम्मानका साथै भ्रमण वर्ष २०२० का लागि सद्भावना राजदूत घोषणा गरिएको हो।

सम्मानित व्यक्तिहरुसँग पर्यटन मन्त्री योगेश भट्टराई, बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्री, नेपाल च्याप्टरका संस्थापक र अध्यक्ष निर्मल कुमार थापा लगायत ‘हाउस अफ लर्ड्स’ र ‘हाउस अफ कमन्स’ का सदस्यहरु उपस्थित थिए।

अन्य सात जनालाई पनि भ्रमण वर्ष सफलताको लागि गरेको योगदानको कदर स्वरुप प्रशंसा पत्र बुझाइदिएको थियो।

उक्त कार्यक्रममा प्रख्यात गायक पन्नाकाजी शाक्यका छोरा पवित्रमान शाक्यले ‘तिरिरी मुरली बज्यो बनैमा…..’ गाएर उपस्थितलाई मन्त्रमुग्ध पारेका थिए।

कात्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्