‘पहिला कालापानीबाट भारतीय फौज हटाउनुपर्छ, बल्ल भारतसँग वार्ता’

काठमाडौं- सीमाविद हिरण्यलाल श्रेष्ठले भारतले कब्जा गरेको नेपाली भूभाग कालापानीबाट भारतीय फौज फर्काएर मात्रै भारतसँग वार्ता गर्नु पर्ने बताएका छन्।

श्रेष्ठले सञ्‍चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘भारतले कब्जा जमाएर बसेको फौजलाई पहिला २० किलोमिटर पर फर्काउने र नेपाल भारतका उच्च स्तरीय समितिबाट कालापानीको विवाद टुंगो लगाउनु पर्छ। यसमा सबै राजनीतक दल अहिले एकजुट हुनु अति जरुरी छ।’

विज्ञापन

उनले नेपालको कालापनी महाकाली नदीको मुहान लिम्पियाधुरा रहेको जिकिर गर्दै भने, ‘नेपालको आधिकारिक कालापानी लिम्पियाधुरामा रहेको छ जहाँ महाकाली नदीले सीमाना छुट्‍याएको छ। तर भारतले त नक्कली काली नदी बनाएर नेपाललाई झुक्‍याउन खोजेर नेपाली भूभाग कब्जा गर्ने मनस्थितिमा बसेको छ।’

उनले भारतले नेपालसँग कालापानीमा बस्‍न तत्कालीन राजा महेन्द्र शाहसँग अनुमति मागेको बताउँदै उनले भने, ‘भारतले कालापानीमा बस्‍न राजा महेन्द्रसँग अनुमति पत्र लेखेको थियो। यदि कालापानी नेपालको नभए अनुमति पत्र किन माग्थ्यो ? त्‍यसकारण कालापनी नेपालको हो।’

उनले भारतले त्यतिबेला राजा महेन्द्र सरकारलाई लेखेको पत्र सार्वजनिक गर्न नेपाल सरकारसँग माग गरे। उनले भने, ‘अहिले गणतन्त्र आइसक्‍यो। तर पनि राजा महेन्द्रलाई भातरले लेखेको पत्र लुकाएर बस्‍ने ? कालापानीमा बस्‍न अनुमति मागेको पत्र सरकारले सार्वजनकि गर्नुपर्छ।’

उनले भारतसँग सीमा जोडिएका पाकिस्तान मात्रै नभएर चीन लगायत पाँच/सात देशसँगै सीमा विवाद हुनुमा भारतको अहमता प्रकट र हिटलरको शासन जस्तो गर्न खोजेको बताए।

उनले भने, ‘ लिपुलेकमा चीनसँग व्‍यापार गर्ने कुरा आइरहँदा नेपालले विरोध जनायौँ। उता, पाकिस्तानसँग पनि त्यस्तै छ। यो उनको सामन्ती सोचको कारण अन्‍य देशसँगको सीमामा पनि विवाद भइरहेको छ।’

भारतीय फौज कालापानीबाट नहटाएर अब नेपाली गोर्खा लगाएर भएपनि हटाउनु पर्ने अभियानमा नेपाल सरकार अगाडि बढ्नु पर्ने रणनीतिका साथ कदम चाल्‍नु आवश्यकता आइसकेको उनको भनाइ छ।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्