कन्फेडेरेसन अफ एसियन जर्नालिस्टस युनियनको उपाध्यक्षमा नेपालका अशोक सिलवाल

कोलम्बो-श्रीलंकाको राजधानी कोलोम्बोमा कन्फेडेरेसन अफ एसियन जर्नालिस्टस् युनियन(काजु)को औपचारिक घोषणा गरिएको छ।

कन्फेडेरेसनमा प्राथमिक रुपमा श्रीलंका, भारत, पाकिस्तान र नेपालका पत्रकार युनियन र स्वतन्त्र पत्रकारको प्रतिनिधित्व गर्ने सरोकारवालाको प्रतिनिधित्व छ।
श्रीलंका प्रेस एसोसिएसन (एसएलपिए)ले पत्रकारहरुको क्षेत्रीय युनियनहरुसँग मिलेर केही समयदेखि निष्क्रिय रहेको कन्फेडेरेसन अफ एसियन जर्नालिस्टस् एसोसिएसनलाई ब्युँताएको हो।

विज्ञापन

१९७० को दशकको प्रारम्भतिर भेट्रान श्रीलंकाली पत्रकार स्वर्गीय डिएफ कारियाकारावानाको ब्रेनचाइल्डको रुपमा स्थापना भएको यो संस्थाले यस क्षेत्रका पत्रकारहरुले सामना गरिरहेका साझा मुद्दालाई सम्बोधन गर्ने उद्देश्य बोकेको छ।

श्रीलंकाली राजधानी कोलम्बोमा २५ अक्टोबरमा सम्पन्न श्रीलंका प्रेस एसोसिएसनको ६४औं वार्षिक सम्मेलनका क्रममा (काजु)लाई ब्युँताइएको हो । उक्त सम्मेलनमा श्रीलंका, भारत, पाकिस्तान र नेपालका पत्रकारको सहभागिता थियो।

नवनियुक्त अध्यक्ष मुदिता कारियाकारावानाले यसका सदस्यहरु संस्थालाई दक्षिण एसियाली पत्रकारको साझा मञ्च बनाउन यसलाई पूर्ण रुपमा क्रियाशील बनाउन प्रतिबद्ध रहेको बताए । कारियाकारावाना एसएलपिएका समेत अध्यक्ष हुन्।

उद्घाटन बैठकमा बोल्दै कन्फेडेरेसेसनका नवनियुक्त महासचिव तथा भारतीय पत्रकार परमानन्द पाण्डेले यस क्षेत्रका पत्रकारको चुनौती समान रहेको बताए । पाण्डे इन्डियन फेडरेसन अफ वर्किङ जर्नालिस्ट (आइएफडब्लुजे)का महासचिव हुन्।

नवनियुक्त उपाध्यक्ष नेपालका अशोक सिलवालले दक्षिण एसियाका पत्रकारको समस्या समान रहेकोले समाधानका लागि मिलेर काम गर्नुपर्ने बताए । सिलवाल स्वतन्त्र पत्रकार हुन्।

कार्यक्रममा रोजगारी सुनिश्चितताको अभाव र हचुवा बर्खास्तगीलाई यस क्षेत्रका पत्रकारको साझा समस्याको रुपमा चित्रण गरिएको थियो।सार्क मुलुकका पत्रकारहरुको संगठन यो कन्फेडेरेसन पूर्ण सञ्चालनमा आएपछि हरेक मुलुकमा च्याप्टर खुल्ने बताइएको छ ।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्