रुपज्योतिले अदालतमा सोधे- ‘मलाई के गल्तीमा समातिएको हो श्रीमान्?’

रुपज्योती

काठमाडौँ- फौज्दारी मुद्दाका अभियुक्तजसरी सिंगापुरबाट फर्कँदा फर्कँदै विमानस्थलमै काठमाडौँ प्रहरीको नियन्त्रणमा परेका पूर्व सहायकमन्त्री, व्यवसायी तथा विपश्यना आचार्य रुपज्योतिले शुक्रबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश सूर्यप्रकाश अधिकारीलाई प्रश्न गरे, ‘मलाई के गल्तीमा थुनिँदै छ श्रीमान्?’

तर न्यायाधीश अधिकारीले कुनै जवाफ दिएनन्। उनले भने, तपाईँलाई तीन दिन थुन्न म्याद दिएको छु। हिजो, आज र भोलि । अब आइतबार तपाईँलाई अदालतमा पेश गरिनेछ।’

विज्ञापन

आफ्नो समूहको स्वामित्वमा रहे पनि आफूले व्यवस्थापन नहेरेको सिई कन्स्ट्रक्सनको अपार्टमेन्टसम्बन्धी विवादमा सर्वोच्च अदालतको आदेशबाट प्रहरीले बिहीबार उनलाई विमानस्थलबाटै पक्राउ गरेको थियो। उनलाई पक्रन गृह मन्त्रालयको दबाब रहेको स्रोतले दाबी गरेको छ। पछिल्लो समयमा भने उक्त विवाद दुई पक्षबीच इगोको विषय बन्दै आएको थियो।

पक्राउपछि प्रहरीले उनलाई बिरामीको बहानामा अस्पताल बस्नसक्ने उपाय सुझाए पनि उनले विपश्यना आचार्य तथा अभ्यासकर्ताका रुपमा आफूले झुठो बोल्न नमिल्ने भएकाले आफू अस्पताल नबस्ने जानकारी प्रहरीलाई गराएका थिए। ‘म अस्पताल बस्दिनँ, जे झमेला आउँछ, यहीँ बसेर सुल्झाउँछु,’ उनले प्रहरीसँग बिहीबार भने।

गृहमन्त्रालय र सरकारका एक उच्च कार्यालयका पदाधिकारीहरुका छोराहरुले उनलाई पक्रन र उनीबिरुद्ध ठगी मुद्दा हालेकाहरुसँग साँठगाँठ गरेको आरोपसमेत विश्वस्त स्रोतले लगाएको छ।

शुक्रबार प्रहरीले म्याद लिनका लागि रुपज्योतिलाई काठमाडौँ जिल्ला अदालत पुर्‍याएको थियो। त्यस क्रममा उनले न्यायाधीश अधिकारीसमक्ष भनेका थिए, ‘मेरो गल्तीबारे थाहा पाउँ श्रीमान्। म त जेल बसुँला, विपश्यनाको अभ्यासकर्ता हुँ, जेलमै पनि ध्यान बसुँला, मेरो छोरीलाई भने छोडिदिनुस्।’ यही विषयमा प्रहरीले उनकी छोरी सुरुचि ज्योतिलाई पनि पक्राउ गरेको छ।

यद्यपि न्यायाधीश अधिकारीले उनलको प्रश्नको जवाफ दिएनन्। बरु आफूले उनलाई थुन्न प्रहरीलाई तीन दिन म्याद दिएको जानकारी न्यायाधीश अधिकारीले गराए।

व्यवसायी रुपज्योतिले विपश्यना ध्यान केन्द्रहरुको सञ्चालन गर्नुका साथै ध्यान केन्द्रहरु बनाउन सयौँ रोपनी जग्गा दान दिएका छन्।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्