पर्यटन उकास्न पोखरा–भरतपुरबीच सम्झौता

पोखरामा बन्‍नेछ ‘भरतपुर मार्ग’

दुई महानगरबीच पर्यटन प्रवर्द्धन सम्बन्धी १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर पछि पोखराका मेयर जिसी र भरतपुरकी मेयर दाहाल लगायत। तस्बिरः ईश्वर देवकोटा/देश सञ्चार

पोखरा-राजधानी बाहिरका दुई ठूला महानगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि सम्झौता सहितको साइनो गाँसेका छन्। पर्यटनमार्फत आपसी भातृत्व प्रदान गर्दै सहयोग आदानप्रदानको प्रतिबद्धता गरे।

पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा पोखरा महानगरका मेयर मानबहादुर जिसी र भरतपुर महानगरकी मेयर रेनु दाहालबीच पर्यटन प्रबद्र्धनका लागि १२ बुँदे द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो।

विज्ञापन

सम्झौताको महत्वपूर्ण सर्तमध्ये पोखरा र भरतपुर महानगरपालिका जोड्ने पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकलाई विशेष सौन्दर्यीकरण गर्न संयुक्त पहल गर्ने उल्लेख छ।

पोखरा महानगरभित्रको एक सडकलाई भरतपुर मार्ग र भरतपुर महानगरभित्रको एक सडकलाई पोखरा मार्ग नामकरण गरिने दुई मेयरबीच हस्ताक्षरित सम्झौतामा उल्लेख गरिएको छ।

कार्यक्रममा बोल्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले भरतपुर महानगरसँगको सम्झौताले आपसी सम्बन्ध थप सुदृढ र सहयोग आदानप्रदानको कडी भएको बताए। ‘पर्यटन प्रबद्र्धन सम्बन्धी सम्झौता भएको त छ तर पूर्ण भने छैन,’ उनले भने, ‘पोखराबाट कति भरतपुर जान्छन् र भरतपुरबाट पोखरा कति पर्यटक आउँछन त्यसले सम्झौताको अर्थ राख्छ।’

निर्वाहमुखी पर्यटन व्यवसायले अर्थतन्त्र नथेग्ने बताउँदै मेयर जिसीले पर्याप्त पूर्वाधार विकासमा ध्यान पुर्‍याउनुपर्ने सुनाए। आन्तरिक पर्यटकले पनि पर्यटन व्यवसायलाई उकास्न सक्ने हुँदा बाहिरी पर्यटक भनेर मात्रै मुख नताक्न उनले आग्रह गरे।

‘पर्यटक आऊ भन्दा पनि आउँछु भन्ने बनाउनु पर्‍यो,’ उनले भने। प्रदान गरिने सेवा र त्यसको गुणस्तरीयता कस्तो छ अब पर्यटन व्यवसायलाई प्राथमिकता दिन सबै दत्तचित हुनुपर्ने उनको भनाई थियो।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले दुई सहर पर्यटकीय हिसाबले सुगम गन्तव्य रहेकाले पनि पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन एकअर्काको सहयोग आवश्यक पर्ने बताइन्। ‘यसअघि पनि दुई सहरबीच सिस्टर सिटीको सम्बन्ध स्थापित थियो। आगामी राष्ट्रिय भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै सम्झौता स्थापित गर्ने चरणमा आएका हौं,’ उनले भनिन्।

भरतपुर महानगरले पर्यटन क्षेत्रलाई उत्तिकै प्राथमिकतामा राखी वार्षिक कार्यक्रम मार्फत योजना बनाई अघि बढेको मेयर दाहालले बताइन्। ‘२७ वटा ठाउँलाई भरतपुरले आफ्नै पर्यटकीय गन्तव्यको पहिचान गरेको छ। जुन आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बनिरहेका छन्।’ दुवै महानगरपालिकाबीच विकासका आफ्ना सफल र असफल अभ्यासहरुबाट प्राप्त सिकाइ आदानप्रदानको अभ्यास गर्नका लागि पनि समझदारीले सहयोग पुग्ने उनको भनाई छ।

पर्यटन गुरुयोजना, आवधिक योजना, विषयगत योजना, वार्षिक बजेट तथा कार्यक्रमहरु, नीति, निर्देशिका, कार्यविधि एवं अन्य प्रकाशनहरुको आदानप्रदानले कार्यसम्पादनमा सहज हुने विश्वास लिइएको छ। सञ्चालन भइरहेका हवाई सेवा तथा सडक सेवालाई अझ विस्तार र सुदृढ गराइने सम्झौतामा जनाइएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रबद्र्धन र भ्रमणका कार्यक्रमहरुलाई संयुक्तरुपमा अगाडि बढाइने, एकअर्काको वेवपेजमा लिन्केज गर्ने, विशेष कार्यक्रमहरुमा आन्त्रण गर्ने, प्राकृतिक सम्पदाहरुको संरक्षणमा सहकार्य गर्ने, पर्यटनअनूकुल वातावरण बनाउन प्लास्टिक झोला, सूर्तिजन्य पदार्थ, बोत्तल आदिबाट मुक्त क्षेत्र घोषणा गर्दै जाने नीति अवलम्बन गर्ने हस्ताक्षरित सम्झौतामा उल्लेख छ।

दुवै सहर पर्यटकीय गन्तव्यका लागि उत्कृष्ट रहेको औल्याउँदै महानगरबीच आगामी ५ वर्षका लागि द्विपक्षीय समझदारी भएको हो। समझदारी पत्रमा साक्षीको रुपमा नेपाल पर्यटन बोर्डका सदस्य विप्लव पौडेलले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा महानगरको परिचय झल्किने भिडियो सामग्री समेत प्रस्तुत गरिएको थियो।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्