‘एन्फाका पदाधिकारीलाई गिज्याइरहेको छ नेपालगञ्ज रंगशाला’

नेपालगञ्ज रंगशाला।

नेपालगञ्ज– नेपाल र कुवेतबीचको विश्वकप छनौट फुटबल खेल नेपालगञ्ज रंगशालामा नगराएकोमा आक्रोश व्यक्त गरिएकाे छ।

काठमाडौंको दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मापदण्ड नपुगेर नेपालको घरेलु खेल भुटानमा गर्नुपर्ने प्रस्ताव गरिएपछि मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भीम वलीले २५ करोडको लगानीमा निर्माण गरिएकाे १० हजार दर्शक क्षमताको अत्याधुनिक नेपालगञ्ज रंगशालालाई बेवास्ता गरिएको भन्दै आक्रोश पोखे।

विज्ञापन

‘दशरथ रंगशालाको विकल्प नेपालगञ्ज रंगशाला छ। घरेलु खेल नेपालले नेपालगञ्जमा खेलाउनु पर्छ’, वलीले भने, ‘राजधानीबाहेक अन्यत्र ठाउँ नै नदेख्ने केन्द्रीय मानसिकताले गर्दा अन्तर्राष्ट्रिय मापदण्ड पुगेको नेपालगञ्ज रंगशालालाई ओझेलमा पार्ने काम भएको छ।’

आठौँ राष्ट्रिय खेलकुद सम्पन्न भएको नेपालगञ्ज रंगशालामा अलिकति खर्च गर्दा नै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गराउन सकिने जानकारहरु बताउँछन्।

एन्फाले बाँके जिल्ला फुटबल संघका पदाधिकारीलाई नेपालगञ्ज रंगशाला र होटलहको अवस्था बुझ्न लगाएको थियो। एन्फा बाँकेका अध्यक्ष भोजराज शाहीले रंगशालादेखि यहाँको होटलको अवस्थाबारे अवगत गराएका थिए। एन्फाले त्यसलाई बेवास्ता गर्‍यो।

एन्फा बाँकेका अध्यक्ष शाहीका अनुसार, स्कोर बोर्ड, चेन्जिङ रुम, थप शौचालय बनाउँदा नेपालगञ्ज रंगशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गराउन सकिन्छ।

निवर्तमान क्षेत्रीय अध्यक्ष वलीले राजधानी बाहिर केही नदेख्ने खेल पदाधिकारीका कारण नेपालमा हुन थालेको खेल अन्यत्र गर्नुपर्ने अवस्था आएको बताए।

वलीले थपे, ‘नेपालमा हुन थालेको अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल अन्यत्र जाँदा नेपालगञ्ज र‌ंगशालाले खेल पदाधिकारीलाई गिज्याएको मात्रै छैन खेलप्रेमीलाई ठूलो चोट पनि पुर्‍याएको छ।’

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्