आर्मी हाम्रो पूर्वाञ्चल गोल्डकप फुटबलको उपाधि नजिक

तस्वीरः सिक्किमका खेलाडी (कालो जर्सीमा) र आर्मीका खेलाडी बलका लागि दौडिँदै। तस्बिर-देश सञ्‍चार

झापा -त्रिभुवन आर्मी क्लब झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

भारतको सिक्किम आक्रमण एफसीमाथि टाइब्रेकरबाट कठिन जीत निकाल्दै आर्मीले फाइनल यात्रा गरेको हो। सिक्किमसँगको रोमाञ्चक भिडन्तपछि भएको टाइब्रेकरमा आर्मीले फाइनलको यात्रा तय गरेको हो।

आर्मीले टाइब्रेकरमा ४–३ गोलले सिक्किमको चुनौती समाप्त पार्यो। उत्कृष्ट प्रदर्शन गरेको सिक्किमले सेमिफाइनलबाटै बाहिरिएपछि समर्थक निराश बनेका थिए।

टाइब्रेकरमा सिक्किम आक्रमणका विरेन प्रधान, मनोज काच्वा र करण राईले मात्र गोल गरेका थिए भने एन्थोनी क्षेत्रीको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाए। विकास क्षेत्रीको प्रहार भने बारमा लागेर फर्किएको थियो।

आर्मीका लागि दिपक गुरुङ, विकास तामाङ, राजीव गुरुङ र विवेक बस्नेतले गोल गरे भने कप्तान टेकबहादुर बुढाथोकीको प्रहार सिक्किमका गोलरक्षक मनोज प्रधानले बचाएका थिए।

झापाली दर्शकको समर्थन पाएको सिक्किमका खेलाडीले थुप्रै अवसर खेर फालेका थिए। त्यस्तै, आर्मीका खेलाडीको आक्रमणलाई सिक्किमका गोलरक्षक मनोज प्रधानले विफल तुल्याइदिएका थिए।

आर्मीको तुलनामा सिक्किमका खेलाडी अधिकांश समय बल पोजिसन लिए पनि फ्रन्ट लाइनबाट फिनिसिङ कमजोर हुँदा स्कोर हुन सकेन। दोस्रो हाफपछि सिक्किमका खेलाडी आक्रमक बन्दा आर्मीका खेलाडी आत्तिका जस्ता देखिन्थे।

खेलको म्यान अफ दी म्याच आर्मीका गोलरक्षक विवश चौधरी घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

१० वटा टिम सहभागी गोल्डकपमा शनिबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेबीच अन्तिम सेमिफाइनल खेल हुनेछ। गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ।

कात्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्