पैसा देखेर भारतीय प्रहरी लाेभिएपछि‍‍…

नेपालगञ्ज– सीमावर्ती भारतीय शहर रुपैडिहामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बुधबार तीन नेपाली युवतीलाई रोकेर केरकार गर्‍यो। उनीहरुले शुरुमा औषधी गर्न दिल्ली जान लागेकाे बताए।

केरकारसँगै झोला खोतल्दा ठूलो मात्रामा इराकी, इरानी, भारतीय र नेपाली रुपैयाँ फेला पर्‍यो। एसएसबीले बेलुका साढे आठ बजे शक्ति समूहकी निर्मला पौडेललाई फोन गरेर तीन जना नेपाली युवतीलाई सेल्टरमा लैजान आग्रह गरे। शक्ति समूहका दुई जना कर्मचारी गएर उनीहरुलाई राती दुई बजे नेपालगञ्ज ल्याए।

एसएसबीले भोलिपल्ट (बिहीबार) दश बजे बिहान सोधपुछका लागि तीनै जना नेपाली युवतीलाई ल्याइ दिन आग्रह गर्‍यो। शक्ति समूहका कर्मचारीले ती युवतीहरुलाई खाना खुवाएर लिएर गए।

रुपैडिहामा पुगेपछि एसएसबीले उनीहरुलाई भारतीय प्रहरीको जिम्मा लगायो। भोजपुरकी कल्पना राई (तामाङ) सँग इराकी र इरानी एक/एक लाख रुपैयाँ देखेपछि प्रहरीले त्यसलाई जफत गर्न मुद्दा चलाउने निर्णय गर्‍यो ।

शक्ति समूहकी निर्मलाले नेपाली युवती भएकाले ‘हामीलाई जिम्मा लगाउनुस्, हामी नै कारबाही प्रक्रिया अघि बढाउँछौँ’ भनेर आग्रह गरिन्। भारतीय प्रहरीले कल्पनालाई मानव तस्कर मुद्दा चलाउने बतायो। अरु दुई जनालाई साक्षी राख्नका लागि केही दिन आफूहरुसँग राखेर पठाइदिने आश्वासन दियो।

भारतीय बाटाे भएर खाडी मुलुक जान खाेज्ने  नेपालीलाई एसएसबी वा भारतीय प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरी, माइती नेपाल वा शक्ति समूहलाई हस्तान्तरण गर्ने गर्दथ्यो। अहिलेसम्म खाडी मुलुक जान लागेका नेपाली युवतीलाई भारतीय प्रहरीले मानव तस्कर मुद्दा चलाएको थिएन। यसपाली भने पैसा जफत गर्न लागि प्रहरीले मुद्दा चलाउने बतायो।

भारतीय प्रहरीले नेपाली युवतीबाट पैसा बरामद भएको जाहेरी (एफआइआर) मा देखाएको छैन। न त शक्ति समूहमा एक रात राखेको कुरा नै उल्लेख गरेको छ।

भोजपुरकी कल्पना इराक बसेर छुट्टीमा फर्किएकी हुन्। छुट्टी सकिएर फेरि जान थाल्दा इराकमा रहेका उनका साथीहरुले आफ्ना बहिनीहरुलाई ल्याइदिन भनेपछि अरु दुई जनालाई साथ लिएर जाँदै थिइन्।

कल्पनालाई श्रम तथा रोजगार मन्त्रालयले मोरङ प्रहरीलाई पत्र लेखेर नियन्त्रणमा लिइदिन निर्देशन दिएको पत्र फेला परेको छ। कल्पनाविरुद्ध वैदेशिक रोजगारीमा ठगीको मुद्दा रहेको छ।

यसैबीच भारतीय प्रहरीले फेरि शुक्रबार राती फोन गरेर युवतीहरुका बारेमा छलफल गर्न बोलाएको शक्ति समूहकी निर्मलाले जानकारी दिइन्।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्