चालक दीपक गुरुङ। तस्बिर: बर्षा शाह/ देश सञ्चार।
बाटोका सारथी

कर्णाली राजमार्गका साहसी ‘ड्राइभर’

पहाड खाेपेर बनाइएकाे सानो बाटो। साँघुरा मोड। खाल्डै खाल्डा अनि बाटोमै गुल्टिरहेका ढुङ्गाहरु। गाडीका आधा टायर डुब्ने हिलो। ‘ओभरटेक’ गरेको गाडीले उडाएको धुलोले बाटो नदेखिएपछि चलाइरहेको गाडी एकछिन रोक्नुपर्ने अवस्था।

गुडिरहेको गाडीको एक साइडका टायरकाे आधाभाग बाटो बाहिर। कतै–कतै मात्र देखिने कालोपत्रे– याे सबै दृश्य हाे सुर्खेतबाट मुगुसम्मकाे सडककाे।

त्यही साँघुरो सडकमा बेस्सरी ‘स्टेयरिङ्ग’ घुमाउँदै थिए उनी। ‘स्टेयरिङ्ग’ घरी दायाँ घुमाउँथे घरी बायाँ घुमाउँथे। मोड काट्न नसक्दा गाडी ब्याक गरेर साना मोडहरु पार गरिरहेका थिए।

उनको मुहारमा यात्रुलाई सुरक्षित साथ गन्तव्यमा पुर्‍याउनुपर्छ भन्ने भाव झल्किरहेको थियो। कहिले गाडी दायाँ ढल्किन्थ्यो त कहिले बायाँ ढल्किन्थ्याे। जता ढल्के पनि गाडी आफ्नै रफ्तारमा गुडिरहेको थियो।

पहाड खाेपेर बनाइएकाे जुम्ला–मुगु सडकखण्ड। तस्बिर: बर्षा शाह/देश सञ्चार।

जब गाडीको रफ्तार बढ्थ्यो, पछाडि सिटमा बसिरहेका यात्रुहरु कराउँथे, ‘गुरु गाडी सुस्त चलाउनुस्, हामीलाई हतार छैन।’

चालक दीपक गुरुङ भने यात्रुहरुको त्यो आवाजलाई बेवास्ता गरिरहेका थिए। ३६ वर्षका गुरुङले सुर्खेत–मुगुमा गाडी चलाउन थालेको ८ वर्ष भयो। यो बाटोको एक–एक कुराको उनलाई राम्रो ज्ञान छ। कहाँको बाटो कस्तो छ, कहाँ कति नम्बरको ‘गियर’ लगाउनु पर्छ, उनलाई सबै थाहा छ।

एकपछि अर्को जिल्ला छिचोल्दै सुर्खेतबाट गुडेको गाडीलाई दैलेख, कालिकोट, जुम्ला हुँदै मुगुसम्म पुग्न दुई दिन लाग्छ।

यो बाटोमा हिँड्न नडराउने शायदै होलान्। गुडिरहेको गाडीको झ्यालबाट टाउको निकालेर बाहिरतिर हेर्ने हो भने धेरै ठाउँमा मुटुले ठाउँ छोड्छ।

गाडीकाे झ्यालबाट देखिने चट्टान, खोंच, नदी देख्दा शरीरमा काडा उम्रिन्छन्, मन सिरिङ्ग हुन्छ। नयाँ यात्रा गरिरहेका धेरैलाई बेक्कारमा गाडीको यात्रा गरिएछ भन्ने कुरा घरीघरी मनमा आइरहन्छ। यस्तो बाटोमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउनु सजिलाे छैन।

सडकमा फसेकाे गाडी धकेल्दै यात्रुहरु। तस्बिर: बर्षा शाह/देश सञ्चार।

याे यात्रामा कर्णाली प्रदेश–०२–००१ ख ००२६ नम्बरको गाडीमा यात्रा गरिरहेका करिब ४०/४५ जना यात्रुहरुका ‘हिरो’ थिए चालक दीपक गुरुङ।

२०६७ सालमा उनी पहिलाे पटक उक्त सडक खण्डमा गाडी लिएर पुगेका थिए। त्यतिबेलाकाे बाटो अहिलेकाे भन्दा पनि खराब अवस्थामा रहेको गुरुङले बताए। ‘कुनै पनि ठाउँमा कालोपत्रेको नाम निसानसम्म देख्न पाइँदैनथ्यो।’, गुरुङले सुनाए।

उसो त अहिले पनि उनलाई आफूले गाडी गुडाइरहेको बाटो देखेर असाध्यै डरलाग्ने गर्छ। उनले मुस्क्क हाँस्दै भने,‘त्यो बेला जुम्ला पहिलो पटक पुगेको थिएँ। गाडी त पुर्‍याएँ, आएको बाटो सम्झेर भोलि कसरी फर्किने होला भन्ने सोचले रातभर निन्द्रा परेन।’

उनले २०५३ सालमा टेस्ट पास गरे। एसएलसीमा उर्तिण हुन नसकेपछि भने पढाइ छोडे। घरमा ठूलो बुवाका दुई वटा गाडी थिए, तिनै गाडीमा उनले कन्डक्टर काम गर्न थाले। त्यही काम गर्दागर्दै उनले गाडी चलाउन सिके। पछि आफैले गाडी चलाउन थाले।

उनी आफूले गाडी चलाइरहेको रुटमा दिउँसो भन्दा पनि राति सजिलो हुने बताउँछन्। उनले भने,‘यो बाटो साँघुरो छ। दिउँसोमा गाडी मोड्ने बेला तीब्र गतिका माेटरसाइकल बचाउन गाह्रो हुन्छ। तर रातिमा सवारी साधनका लाइट बल्ने भएका कारण टाढैबाट थाहा हुन्छ र सजक भइन्छ।’

जसले गर्दा दुर्घटनाको सम्भावना कम हुने उनको बुझाइ छ। नेपालमा सबैभन्दा धेरै सडक दुर्घटना हुने बाटोहरु मध्ये यो बाटो पनि एक हो। जसले गर्दा सरकारले यो रुटमा रात्रीकालीन बस सेवा बन्द गरेको छ।

सुर्खेतबाट जुम्ला जाँदै गरेकाे बस कर्णाली राजमार्गकाे कालीकाेट सडकखण्डमा। तस्बिर: बर्षा शाह/ देश सञ्चार।

उनका अनुसार यो बाटोमा दुर्घटना हुनुको मख्य कारण चालकहरुले मदिरा सेवन गरेर चलाउनु हो। साँघुराे बाटाेमा अर्को सवारीसाधनलाई साइड दिनुपर्दा गाडी व्याक गर्नुपर्ने उनले बताए। उनी भन्छन्,‘जसको मुटु सानो हुन्छ नि त्यो मान्छेले रक्सी खाएर गाडी चलाउँछ।’

तर आफू भने कहिल्यै मदिरा सेवन नगर्ने बताए। उनले भने,‘मैले गुट्खा, चुरोट, जाँड, रक्सी केही पनि खान्न।’

उनले रक्सी कहिल्यै नखाएका भने होइनन्। कहिलेकाहीँ साथीभाइसँगको भेटघाटमा सेवन गर्ने गरेता पनि ‘एडिक्ट’ भने उनी थिएनन्। आफूलाई यस्तो कुराहरुप्रति धेरै चासो नभएको उनले बताए। उनी भन्छन्,‘त्यही पनि मैले खान छोडेको अहिले ६ वर्ष भयो।’

उनले त्यही बाटोमा आफूभन्दा अगाडि गुडिरहेको गाडी दुर्घटना भएको धेरै पटक देखेका छन्। यस्तो देख्दा अझै सजक भएर गाडी चलाउनु पर्छ भन्ने कुराले मनमा डेरा जमाउने उनले बताए।

उनलाई सबैभन्दा खतरानाक कालिकोटको बाटो लाग्ने गरेको बताए। उनले कालिकाेटकाे बाटाेलाई मोबाइलमा खेलिने एउटा ‘गेम’सँग तुलना गर्दै भने,‘त्यहाँको बाटो अन्य ठाउँहरुको तुलनामा डर लाग्दो छ, टेम्पल रन खेल्दा देखाउँछ नि सानो बाटोको छेउमा खोला बगिरहेको ठ्याक्कै त्यस्तै छ।’

त्यही बाटोमा पटक–पटक यात्रुहरु कराइरहेका थिए। कोही भन्दै थिए, ‘यो ड्राइभर यो बाटोमा पहिलो पटक आएको हो की क्या हो’ अरु भन्दै थिए,‘गुरु जी गाडी सुस्त चलाउनुस्’ पछाडितिर बसिरहेका कोही भन्दै थिए,‘आज त मरिन्छ की क्या हो।’

यसरी यात्रुहरु कराइरहँदा कहिलेकही आफूलाई रिस उठ्ने गरेको उनले बताए। उनले भने,‘हामी एउटा मेन्टालिटीमा हिडिरहेका हुन्छौँ, यात्रु कराइरहँदा कुनै बेला रिस उठ्छ, कहिलेकाहीँ त्यही रिसले गर्दा दुर्घटना हुने सम्भावना पनि हुन्छ।’

रिस उठिरहेका बेला चालकहरुले गाडी तीब्र गतिमा कुदाउनुका साथै मोडमा जथाभावी चलाउँदा दुर्घटना निम्तिने गरेको उनले बताए। उनले भने,‘चालक पनि त मान्छे हो। हामीलाई पनि त रिस उठ्छ नी! मर्ने मन त हामीलाई पनि हुँदैन क्यारे!’

पहाड खाेपेर बनाइएकाे जुम्ला–मुगु सडकखण्ड। तस्बिर: बर्षा शाह/देश सञ्चार।

चालकसँग यात्रुहरुले कुनै पनि कुरामा ‘डिस्कस’ गर्न नहुने उनले बताए। उनका अनुसार चालक सधैँ एउटै ‘मुड’मा हुँदैनन्।

‘धेरै खाल्डाखुल्डी भएका कारण एक नम्बर ‘गेर’मा चलायाे भने गाडीकाे गति धेरै कम हुने हुँदा दुई नम्बर ‘गेर’मा चलाउनु पर्छ। जसका कारण भएका कारण गाडी धेरै उफ्रिन्छ’, उनले भने,‘बाटो नै त्यस्तै छ। मैले जानी–जानी प्यासेन्जरलाई दुःख दिन्छु भनेर गाडी उफार्ने गरेको होइन।’

बाटाेमा गाडी फसेका बेला अन्य गाडीका यात्रुहरु, स्थानीयहरुले गाडीलाई पछाडिबाट धकलेर निकाल्न मद्दत गर्दा उनलाई सबैभन्दा रमाइलो लाग्ने गर्छ। उनी मुसुक्क मुस्कुराउँदै भन्छन्,‘ओहो ! गाडी धकेल्न ३/४ सय जना लागेका हुन्छन्, त्यतिबेला त रमितै हुन्छ नि।’

उनले चलाइरहेकाे गाडी दुई दिनमा दुई/तीन ठाउँमा बिग्रियो। बाटोमै उनीहरुले बनाए। बाटोमा गाडी रोक्दै सहचालकले गाडीमुनि पसेर गाडीलाई ड्याङ्–ड्याङ्, डुङ्–डुङ् गरिइरहेका थिए। ‘बाटो खराब भएका कारण गाडी कुन बेला बिग्रिन्छ भन्ने पत्तै हुँदैन, त्यसैले बेलाबेला चेक गरिरहनु पर्छ’, उनले भने,‘नत्र बीच बाटोमै बिग्रियो भने गाडी बाटोमै थन्काएर बस्नुपर्छ।’

जे जसरी भए पनि उनी यात्रुलाई सकुशल आ–आफ्नो गन्तव्यसम्म पुर्‍याउन सफल भए। बसका धेरै यात्रुहरु नयाँ थिए।  दीपक सबैका लागि ‘हिरो’ साबित भए।

गन्तव्यमा पुग्दा उनलाई गाली गर्नेहरु पनि फुरुङ्ग थिए। अँध्यारोमा सेता दाँत देखाउँदै दीपक झ्यालबाट टाउको निकालेर भन्दै थिए,‘ल राम्रोसँग जानुस् है !’

कार्तिक २३, २०७६ मा प्रकाशित

यो पनि पढ्नुहोस्