निजगढ विमानस्थलको काम अघि नबढाउन पूर्वराष्ट्रपति यादवको आग्रह

जनकपुरधाम– पूर्वराष्ट्रपति रामवरण यादवले बाराको निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्न आग्रह गरेका छन्।

जनकपुरधाममा जारी नेपाल साहित्य महोत्सवको दोस्रो दिन शनिबार भएको ‘चुरेको चिन्ता’ शिर्षकको ‘सेशन’मा पूर्वराष्ट्रपति यादवले विमानस्थल निर्माणका क्रममा कम रुख फडानी हुनेगरी मात्र काम अगाडि बढाउनु पर्ने बताएका हुन्।

विज्ञापन

पूर्वराष्ट्रपति यादवले चुरे विनाश भइरहेका कारण प्राकृतिक विपत्तिका साथै मरुभूमिकरण बढिरहेकोमा चिन्ता व्यक्त गरे। उनले सरकारीस्तरबाट यसको संरक्षणमा ध्यान पुर्याउन नसकिएकाे कारण चुरेको विनाश बढिरहेको बताए।

उनले चुरेको विनाश हुनेगरी चुरीया क्षेत्रमा भइरहेको मदन भण्डारी राज्यमार्गका साथै रेल्वे लाइनको विस्तार पनि अध्ययनबिना नगर्न आग्रह गरे।

उनले चुरेबाट निस्किने नदीनाला र चुरे वन क्षेत्रको व्यवस्थापन गर्नु अति आवश्यक रहेको बताए। यसको संरक्षणका लागि संसदमै छलफल गरेर कानून निर्माण गर्नु आवश्यक रहेको भएपनि प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि यसलाई उठाउन नसकेको बताए।

साेही ‘सेशन’मा सहभागी भएका पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले चुरेसँग मधेशको भाग्य र सिंगो मुलुकको भविश्य जोडिएकोले यसको संरक्षणका लागि राज्यस्तरबाटै पहल हुनु आवश्यक रहेको बताए।

निजगढमा विमानस्थल मात्रै निर्माण हुनुपर्नेमा विमानस्थलसँगै सहर निर्माण गर्ने काम गलत भएकाे नेपालकाे भनाई थियाे। चुरे संरक्षणप्रति राज्य अहिलेसम्म गम्भीर हुन नसकेको उनले बताए।

कार्तिक २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्