कास्की–२ उपनिर्वाचनः सात मतदानस्थल सुरक्षा दृष्टिले अति संवेदनशील

जिल्ला निर्वाचन कार्यालय, कास्की। फाइल तस्बिर।

पोखरा – कास्की क्षेत्र नम्बर–२ उपनिर्वाचनका ३२ वटा मतदान स्थलहरुमध्ये जिल्ला सुरक्षा समिति कास्कीले सुरक्षा दृष्टिले ७ वटा मतदान स्थललाई अति संवेदनशीलको रुपमा एकीन गरेको छ ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा ११ वटा वडाका विभिन्न ३२ मतदान स्थलको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा समितिले विशेष निगरानी बढाउने भएको छ।

विज्ञापन

जसमध्ये ८ वटा संवेदनशील र बाँकी १७ वटा मतदान स्थल सामान्य रहेको समितिको निश्कर्ष छ। मतदातालाई उक्त दिन ढुक्क रहेर मतदान गर्ने वातावरण तयार गर्न सुरक्षा समितिले हालैबाट योजना बनाई संवेदनशीलताको आधारमा कार्यान्वयन समेत गर्ने तयारी गरिरहेको छ।

भौगोलिक विकटता, राजनीतिक दलको प्रतिस्पर्धा र निर्वाचन बहिष्कार गर्ने समूहहरुका गतिविधिका आधारमा सबै ३२ मतदान स्थलका ८२ केन्द्रहरुको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाई राख्ने जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रमेशकुमार केसीले बताए।

‘अति संवेदनशील हुने कारण विकट भूगोल, राजनीति प्रतिस्पर्धा, विरोधी समूहको व्यापक उपस्थिति हुन सक्ने स्थललाई अति संवेदनशीलको रुपमा लिएका छौँ,’ उनले भने, ‘संवेदनशील र सामान्यमा स्थल पनि तिनै कारणबाट सुरक्षा योजना लागु गरिएको छ।’

निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न कुन निकाय कसरी परिचालन हुने भन्ने योजनाअनुसार अघि बढिएको सिडिओ केसीले बताए। ‘सुरक्षाको अवरोध गर्ने तत्व के कस्ता हुन सक्छन् सबैको पहिचान भएको छ,’ उनले भने, ‘त्यस अन्तर्गत कुनकुन संयन्त्र परिचालन हुने योजना अनुसार नै हुन्छ।’ कार्यालय, कर्मचारी, उम्मेदवार र मतदाताहरुलाई सुरक्षित महशुस गराउन विभिन्न रणनीति अवलम्बन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाइने सिडिओ केसीले बताए।

विगतको आमनिर्वाचन जस्तै यसपटकको उपनिर्वाचनमा पनि सुरक्षा संयन्त्र परिचालन हुने भएको छ। सरकारले नै नेपाली सेनालाई परिचालन गर्न निर्णय मार्फत स्वीकृति दिइसकेको छ। निर्वाचन सुरक्षाको पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र बाहिरी पेरीफेरीमा नेपाली सेना परिचालन हुनेछन्।

कास्की क्षेत्र नम्बर २ मा ११ वडा छन्। तिमध्ये वडा १६, २०, २१, २२ का अधिकांश भू–भाग भौगोलिक रुपले केही विकट मानिन्छन्। भौगोलिक असहजताको फाइदा उठाउँदै निर्वाचन बहिष्कार गरिरहेको नेत्र विक्रम चन्द विप्लव समूहले मतदाताहरुलाई एक किसिमको डर त्रास फैलाउन सक्नेतर्फ सुरक्षा निकाय चनाखो बनेको छ।

तर त्यस्ता निर्वाचन बहिष्कार गर्नेहरु पहिचान गरी यथोचित व्यवस्थापन गर्न समितिले योजना बनाइसकेको सिडिओ केसी बताउँछन्। ‘संविधानप्रदत्त नागरिकको चुनावमा भाग लिने, मतदान गर्ने हक हो। त्यो हकलाई खोस्ने अथवा बिथोल्ने जो कोही शक्तिलाई पनि कानुनी दायरामा ल्याउन प्रतिबद्ध छौँ,’ उनले भने।

निर्वाचन बिथोल्न खोज्ने समूहलाई पूर्वतयारीका साथ व्यवस्थित गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिइसकेको सिडिओ केसीले जानकारी दिए। ‘स्रोत साधन परिचालन गरेर त्यस्ता अवैधानिक गतिविधिलाई नियन्त्रण गर्न परिचालित भइसकेका छौँ,’ उनले भने।

आसन्न उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि कास्की–२ मा मात्रै हुँदैछ । दलीय प्रतिस्पर्धाकाे रुपमा पनि यस क्षेत्रलाई विशेष चासोको रुपमा लिइएको छ। ११ स्वतन्त्रसहित ११ दलीय गरी २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई उम्मेदवार छिन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट खेमराज पौडेल चुनावी मैदानमा छन्। कुल ३२ मतदानस्थलका ८२ केन्द्रहरुमा ७१ हजार ८ सय ७१ मतदाता सहभागि हुनेछन्।

कार्तिक २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्