‘बाल्यकालमा आफूले खेलेको ठाँउको कुरुप अवस्था देख्दा विरक्त लाग्छ’

गायक याेगेश्वर अमात्य।

काठमाडौँ– नेपाली कांग्रेसका सांसद भिनसेनदास प्रधानले पञ्चायतकालदेखि सुरु भएको जग्गा अतिक्रमण गर्ने प्रवृति वर्तमान अवस्थासम्म चलिरहेको बताएका छन्।

शनिबारदेखि सुरु भएको ‘अकुपाइ टुँडिखेल अभियान’मा सहभागि भएका उनले परापूर्वककालदेखि अतिक्रमण गर्ने चलनले अहिले विकराल रुप लिएको र सार्वजनिक जग्गालाई भूमाफियाले कमाइ खाने भाँडो बताएका हुन्।

विज्ञापन

उनले खुल्ला मञ्च मात्र नभएर अहिले बनिरहेको धरहरा पनि व्यापारिक प्रयोजनका लागि निर्माण भइरहेको बताए।

उनले भने, ‘जुन शैलीमा भिमसेन थापाले धरहरा बनाएका थिए, राज्यले पनि त्यसरी नै बनाउनु पर्ने हो। तर सरकारले पुरातात्विक महत्वको धरहरालाईसमेत व्यापारिक केन्द्र बनाउँदैछ। जहाँ लिफ्ट राख्ने कुरा छ। त्यो पुरातात्विक भएन।’

यस्तै तीन महिनासम्म चल्ने उक्त अभियानमा सहभागि भएका समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सेना, न्यायलय, संसद, मन्त्रीपरिषद् सबै सरकारका अंग भएको र सरकारले निर्णय गरेर टुँडिखेलमा निमार्ण गरिएका सेनाका भौतिक संरचनाको व्यवस्थापन गरिनु पर्ने बताए।

उनले भने, ‘सबैभन्दा ठूलो कुरा नागरिकको अधिकारको हो। राज्यले त्यसको सहजिकरण गर्नुपर्छ। त्यसमा बाधा पुर्‍याउने काम गर्नु हुँदैन।’

काठमाडौँ महानगरपालिकाकी उममेयर हरिप्रभा खड्गीले सम्पदा तथा सीमा मिचिएका बेला जनता जागेनन् भने देशको अवस्था अन्यौलमा हुने बताइन्।

उनले भनिन्, ‘ मैले संस्थागत रुपमा सम्पदा बचाउन आवाज उठाइरहेकी छु। यो आवाज बुलन्द रुपमा नसुनिए एकल रुपमा कुरा उठाउने छु।’ टुँडिखेल क्षेत्रलाई कब्जा गरेर बनाइएका भौतिक संरचना हटाउन महानगरले पहल गर्ने उनले बताइन्।

‘अकुपाइ टुँडिखेल’ अभियानमा सहभागि हुन पुगेका गायक योगेश्वर अमात्यले बाल्यकालमा आफूले खेलेको ठाँउको यस्तो कुरुप अवस्था देख्दा विरक्त लागेको बताए।

‘पहिला हाम्रो एनआरटी फुटबल क्लब थियो। हामी फुटबल खेल्थ्यौँ। त्यो क्लबको लालमोहर टुँडिखेलको सहिदगेटतिरको कुनामा अहिले पनि छ’, अमात्यले अगाडि थपे, ‘खुल्लामञ्चमा भाषण गर्नेहरु मन्त्रीदेखि प्रधानमन्त्रीसम्म भए। तर उनीहरुले खोला तरेर लौरो बिर्सिए’

तस्बिरहरु: बर्षा शाह

कार्तिक २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्