राममन्दिर निर्माण, राष्ट निर्माणको पर्याय: मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर निर्माणलाई राष्ट्र निर्माणको पर्याय मान्दै त्यो जिम्मेवारी पूरा गर्न सबै धर्म, पन्थ र सम्प्रदायका भारतीयहरुसँग आग्रह गरेका छन्।

सर्वोच्च अदालतको संवैधानिक इजलाशले अयोध्यामा राम मन्दिरका लागि सात दशकदेखि विवादमा रहिआएको भूमि दिन आदेश जारी गरेको केही घण्टा पछि राष्ट्रका नाममा टेलिभिजन मार्फत दिएको सन्देशमा मोदीले देशबासीसँग त्यस्तो आग्रह गरेका छन्।

‘सर्वोच्च अदालतप्रति आदर, नियम, कायदाप्रति सम्मान र मन्दिर तथा राष्ट्र निर्माणको जिम्मेवारी’ मा अगाडि बढ्न सबैसँग आग्रह गर्दै उनले भने, ‘सौहार्दता, एकता, शान्ति, सद्भाव र आपसी प्रेममा मुलुकको विकास हुनुपर्छ।’ सर्वोच्चको फैसलाले त्यस्तो परिस्थिति सिर्जना गरेको पनि उनले बताए।

मुस्लिमहरुको महान चाड ‘इद’ को पूर्व सन्ध्यामा आएको यो फैसलाले न्यायपालिकाको इतिहासमा एउटा ‘सुनौलो अध्याय’ थपेको उनको दावी थियो।

‘सवोच्च अदालतले सबैलाई धैर्यसँग सुन्यो, र सर्वसम्मत फैसला दियो। त्यो सहज कार्य थिएन। तर सर्वोच्चले प्रबल इच्छा शक्तिसँग त्यो जिम्मेवारी पूरा गर्‍यो। देशका न्यायाधीश, न्यायालय र न्यायिक प्रणाली अविस्मरणीय बनेका छन्’, उनले भने।

३० वर्ष अघि आजकै दिन (नोभेम्बर ९) मा बर्लिन पर्खाल ढलेको, आज भारत र पाकिस्तानको सहयोगमा कर्तारपुर ‘करिडोर’ को निर्माण र उद्घाटन भएको प्रसंगलाई जोड्दै मोदीले सर्वोच्चको यो फैसलाले ‘आजको दिन जोड्ने, जोडिने र मिलेर बाँच्ने’ प्रेरणा दिएको छ।’ फैसलापछि कसैले कुनै तिक्तता नराख्न आग्रह गर्दै उनले भने, ‘नयाँ भारतमा भय, कटुता र नकारात्मकताका लागि कुनै स्थान हुनु हुँदैन।’

सर्वोच्चको फैसला एकदमै कठीन भएता पनि संविधान र कानुनको दायराबाट सबै समस्याको निराकरण भएकोमा उनले खुसी व्यक्त गरे। ‘समय लाग्न सक्छ, तर धैर्यले नतिजा दिन्छ,’ भारतको संविधान, न्याय प्रणाली महान परम्परा र आस्थाको प्रशंसा गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने, ‘सर्वोच्चको फैसला एउटा नयाँ बिहानीसँगै आएको छ, नयाँ भारतको निर्माणमा नयाँ पुस्ता जुट्ने छ।’

यो फैसलाले समग्र देशको इच्छालाई प्रतिनिधित्व गरेको र भारत पूरा विश्वको सबभन्दा ठूलो लोकतन्त्र भएको प्रमाणका रुपमा हेरिनुपर्ने उनको दावी थियो।

हजारौँ वर्षसम्म अनेकतामा एकता, भारतको प्राणतत्व रहेको तथ्यलाई सर्वोच्चको फैसलाले पुष्टि गरेको पनि उनले बताए।

कात्तिक २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्