प्रधानमन्त्री ओलीका सबै सल्लाहकार पदमुक्त, मन्त्रिपरिषदमा हेरफेरको सम्भावना

फाइल तस्बिर

काठमाडौँ- सातै प्रदेशका प्रमुखको खोसुवा र नयाँको नियुक्तिको एक साता नबित्दै प्रधानमन्त्री केपी ओलीको आक्रोश आफ्नै सल्लाहकार समूहबिरुद्ध तेर्सिएको छ।

शुक्रबार साँझ प्रधानमन्त्री ओलीको ‘निर्देशन’ अनुसार प्रमुख सल्लाहकार बिष्णु रिमालले सबै सल्लाहकारहरुलाई राजीनामा दिन आग्रहमात्र गरेनन्, आफू पनि पद निवृत्त भएको घोषणा गरे।

विज्ञापन

प्रधानमन्त्रीको निर्देशन उनको सचिवालयको छवि र कार्यदक्षताबारे उठेका टिप्पणी र आफ्ना सहयोगीबारे उनकै मूल्यांकनबाट निर्देशित रहेको उनी निकट एक स्रोतले बतायो।

पदनिवृत्त मध्ये केही निरन्तरता हुनसक्ने संकेत गर्दै स्रोतले भन्यो, ‘यो सम्भवत: मंसिर १४ को निर्वाचनपछि मन्त्रिपरिषदमा हुनसक्ने व्यापक हेरफेरको संकेत पनि हो।’

निवर्तमान प्रमुख सल्लाहकार बिष्णु रिमालको अन्यत्र पदबहाल भएमा उनको ठाउँमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे नियुक्त हुनसक्ने अनुमान भइरहेको छ। यद्यपि उनको पुनर्नियुक्तिको सम्भावना प्रवल रहेको बुझिएको छ।

पदमुक्त हुनेहरुमा मुख्य सल्लाहकार रिमालका अतिरिक्त परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रविधि सल्लाहकार असगर अलि, सञ्चार सल्लाहकार कुन्दन अर्याल र उनको टोली सामेल छन्।

प्रधानमन्त्री ओलीका आफन्त तथा निजी सल्लाहकार राजेश वज्राचार्यले भने आफ्नो वर्तमान हैसियतमै काम गर्ने पनि स्रोतले बतायो।

तत्काल मन्त्रिपरिषदमा परिवर्तन गर्दा उपचुनावमा असर पर्ने हुनाले त्यो काम मतदानपछि र प्रधानमन्त्रीको उपचारका लागि सम्भावित अमेरिकायात्रा पूर्व हुने पनि स्रोतले जानकारी दियो।

कार्तिक २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्