सर्वदलीय बैठक

नेपाल–भारत सीमा विवादबारे भारतीय प्रधानमन्त्री मोदीसँग संवाद गर्न ओलीलाई आग्रह

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताकाे विषयमा अभूतपूर्व एकता कायम भएकाे बताएका छन्।

भारतले आफ्नाे नक्सामा नेपाली भूभाग समेटेकाे विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएकाे सर्वदलिय बैठकमा सहभागी नेताहरुकाे सुझाव सुनिसकेपछि प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन्।

विज्ञापन

प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै प्रधानमन्त्रीका सल्लाहकार कुन्दन अर्यालले ट्वीटरमा लेखेका छन्,’लिपुलेक र लिम्पियाधुरासहित कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा अभूतपूर्व राष्ट्रिय एकता कायम भएको छ। सरकारले यही राष्ट्रिय भावनालाई शीरोधार्य गर्दै दृढता र स्पष्टताका साथ कुटनीतिक रुपमा सीमा समस्याको समाधान गर्नेछ।’

नेपाल, भारत र चीनकाे त्रिदेशीय सीमा जोड्ने दार्चुलाको नेपाली भूभाग कालापानी भारतले आफ्नो आधिकारिक राजनीतिक नक्सामा राखी प्रकाशित गरेपछि नेपालमा उर्लँदो विरोधलाई ध्यानमा राख्दै प्रधामन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय शीर्ष बैठकमा विवादलाई आवश्यक परेमा अन्तर्राष्ट्रियकरण गर्नुपर्ने माग उठेको छ।

शनिबार बालुवाटारमा आयोजित बैठकमा पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले पहिले भारतीय समकक्षी नरेन्द्र मोदीसँग वार्ता गर्नुपर्ने सुझाव दिए।

डा. भट्टराईले सीमा अतिक्रमणका विषयको राजनीतिक समाधान आवश्यक भएकाले ओलीले मोदीसँग छलफल गर्नुपर्ने सुझाव दिएका हुन्। उनले आफ्नोतर्फबाट सीमा विवाद कूटनीतिक तवरले नै सुल्झाउनुपर्ने भएकाले मोदीसँगको संवाद महत्वपूर्ण रहेको सुझाव पेश गरेको जानकारी दिए।

यस्तै राष्ट्रिय प्रजातान्त्रिक पार्टीका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले समस्याको दुई पक्षीय समाधान नआएमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा त्यो विषय उठाउन ढिला गर्न नहुने सुझाव दिएको बताए।

डा. लोहनीले विवादित क्षेत्रलाई भारतले नक्सामा सामेल गरेकोबारे भारतीय राजदूतसँग स्पष्टीकरण लिनुपर्ने र आवश्यक परेमा अन्तर्राष्ट्रियस्तरमा जानु पर्ने बताएका थिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सीमाको अतिक्रमण स्वीकार्य नहुने र कालापानीसँगै लिपुलेक र लिम्पियाधुरा अतिक्रमणको विषय पनि स्थायी समाधानका लागि सरकारले पहल गर्नुपर्ने बताए।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवाले राखेको धारणालाई उद्धृत गर्दै ट्वीटसमेत गरेका छन्।

उनले ट्वीटरमा लेखेका छन्,‘ भारतीय सुरक्षा बल रहेको कालापानी लगायत भुमि नेपालको हो। कालापानी पश्चिमको नदी महाकाली नदी हो। सो पूर्वका हाम्रा सबै भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्छ। यसका लागि हाम्रो पुर्ण साथ रहनेछ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कालापानीबाट भारतीय सेना फिर्ता पठाउन सरकारले तत्कालै पहल गर्नुपर्ने बताएको जानकारी दिए।

बैठकमा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले सीमा विवाद समाधान गर्न सरकारले कुटनीतिक तहबाट पहल गर्न र स्थायी समाधानका लागि राजनीतिक र प्राविधिक समिति या आयोग गठन गर्न पनि सुझाव दिएका थिए।

कार्तिक २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्