भारतले अचानक नाका बन्द गरेपछि हजाराैँ नेपाली सीमामा अलपत्र

नेपालगञ्ज – अयोध्याको राम मन्दिर र बाबरी मस्जिदको जग्गा विवादको फैसलालाई मध्यनजर गर्दै भारतीय पक्षले नेपालगञ्ज नाका सील गर्दा हजारौँ मानिस अलपत्र परेका छन्।

शनिबार बिहानैदेखि पश्चिमको प्रमुख नाका मानिने नेपालगञ्ज नाका बन्द गरिएपछि भारत जान लागेका मानिसहरु अलपत्र परेका हुन्। नेपाली पक्षलाई बिना सूचना एक्कासी नाका बन्द गरिएपछि केहीबेर जिल्लामा खैलाबैला मच्चिएको थियो। पछि भारतीय प्रहरीहरु आएर नाकामा रहेको नेपाली प्रहरीलाई अयोध्याको विवादास्पद जग्गाको फैसला हुने भएकाेले नाका सील गरिएको जानकारी दिएका थिए।

नेपालगञ्ज नाका सील हुँदा रोजगारीका लागि भारत जान थालेका कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिसहरु मर्कामा परेका छन्। दशैँ, तिहार मनाएर पुनः कामका लागि भारत जाँदै गरेका पहाडी जिल्लाका मानिसहरु दिनभरी नाकामा बसेर नेपालगञ्ज फर्किएका छन्।

भारतले कहिले नाकामा खोल्छ भन्ने नेपाली अधिकारीलाई समेत जानकारी नदिइएकाले कामका लागि भारत जान थालेका मानिसहरु ‘कति दिन बस्नु पर्ने हो?’ भन्ने चिन्तामा परेका छन्।

दैलेखका यामबहादुर विक लगायतको टोली दिनभरी नाकामा बसेर फर्किएको छ। साँझसम्म नाका खुल्ला नभएपछि उनीहरु बास बस्न नेपालगञ्ज फर्किएका छन्।

यतिबेला कामका लागि भारत जानेको चाप रहेको छ। दशैँ र तिहार मनाउन फर्किएकाहरु पुनः काममा जाने तरखरमा रहेका छन्। पहाडी जिल्ला दैलेख, जाजरकोट, कालिकोट, सुर्खेत, रुकुम, रोल्पा, सल्यानका मानिसहरु मौसमी कामका लागि भारतको सिमला, चण्डीगढ, कालापहाड, प्रयागलगायतका ठाउँमा काम गर्न जाने गर्छन्।

आफ्नै उत्पादनले खान नपुग्ने पहाडी जिल्लाका मानिसहरु एक्लै या सपरिवार भारतीय शहरमा मजदुरी गर्न पुग्छन्। उनीहरु बन्द नाका खुल्छ कि भनेर नाकामा रहेको जमुनाहामा दिनभरी बसेपनि साँझसम्म नखुलेपछि निराश भएर नेपालगञ्ज फर्किएका हुन्।

एक्कासी नाका बन्द हुँदा किनमेलका लागि भारत जानेहरु पनि प्रभावित भएका छन्। भारतबाट समेत कुनै सवारी साधन नभएकाले राजश्वमा असर परेको छ।

भारतीय सुरक्षा अधिकारीले शनिबार दिनभरी नेपालतर्फबाट एम्बुलेन्समात्रै जान दिएको थियो। नेपालगञ्जलगायत यस क्षेत्रबाट गम्भीर प्रकारका विरामीको उपचार गर्ने थलो भारतको लखनऊ भएकाले भारतीय अधिकारीले एम्बुलेन्ससम्म जान दिएको थियो।

भारतबाट नेपालतर्फ आउनेलाई आउन दिइएको थियाे। ‘एकछिनमा नाका खुलिहाल्छ कि’ भन्ने आशामा धेरै नेपालीहरु नाकामा रोकिएका थिए। जसको कारणले गर्दा नाकामा भीड लागेको थियो।

४० दिनको सुनुवाईपछि अयोध्याको विवादास्पद जग्गामा राम मन्दिर बनाउन दिने भारतीय सर्वोच्च अदालतले फैसला गरेको छ। सर्वोच्चले मस्जिद बनाउनका लागि अर्को ठाउँमा जग्गा दिन सरकारलाई आदेश दिएकाे छ।

फैसला हुँदा आन्दोलन हुन सक्नेतर्फ सचेत रहँदै भारतीय प्रहरीले नेपालगञ्ज नाका बन्द गरेको हाे।

कार्तिक २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू