मेस्सीले गरे ह्याट्रिक, बार्सिलोना पुग्यो शीर्ष स्थानमा

कप्तान लियोनल मेस्सीको शानदार प्रदर्शनको सहयोगमा बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा डी भिगोलाई ४–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन मेस्सीले ह्याट्रिक गरे भने सर्जियो बुस्केट्सले एक गोल गरे । सेल्टा डी भिगोका लागि ओलाजाले एक गोल फर्काए ।

२३ औँ मिनेटमा पाएको पेनाल्टीबाट गोलको सुरुवात गरेका मेस्सीले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । यस्तै ४८ औँ मिनेटमा गोल गर्दै मेस्सीले ह्याट्रिक गरे ।

उनले ह्याट्रिक गोल गर्नु अघि ४२ औँ मिनेटमा ओलाजाले सेल्टाका लागि एक गोल फर्काएका थिए । ८५ औँ मिनेटमा बुस्केट्सले गोल गरेपछि बार्सिलोना ४–१ ले विजयी भयो ।

जितपछि शीर्ष स्थानमा पुगेको बार्सिलोनाको १२ खेलबाट २५ अंक छ । समान २५ अंक नै भए पनि गोल अन्तरका आधारमा रियल मड्रिड दोस्रो स्थानमा छ ।

लिग अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा भ्यालेन्सियाले शीर्ष स्थानको होडमा रहेको ग्रानाडालाई २–० तथा एलाभेसले रियल भालाडोलिडलाई ३–० ले पराजित गरेको छ ।

कात्तिक २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्