यस वर्षको विद्यापति पुरस्कार घोषणा

जनकपुरधाम – यस वर्षको विद्यापति पुरस्कार घोषणा भएको छ । यो पुरस्कार हरेक वर्ष विवादित हुँदै आएको छ । यो वर्ष योगदानको आधारमा नभई आवेदनको आधारमा विभिन्न विधामा पाँचजनालाई पुरस्कार दिने घोषणा भएसँगै यस वर्ष पनि विवाद भएको छ ।

यो वर्ष विद्यापति पुरस्कारका लागि १५ जनाले मात्र आवेदन दिएपछि त्यस मध्ये पाँचजनालाई वर्षको पिुरस्कारका लागि छनौट गरिएको हो ।
मैथिलीका महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा घोषणा भएको पुरस्कारमा नेपाल विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार यसपटक धनुषाको रघुनाथपुर निवासी चन्द्रशेखर उपाध्यायलाई दिने निर्णय गरिएको छ ।

त्यस्तै नेपाल विद्यापति मैथिली कला–संस्कृति पुरस्कार धनुषाको धनौजी निवासी लक्ष्मण मण्डल, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार सुनसरीका शिव नारायण पण्डित, नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सप्तरीका दिनेश यादव र नेपाल विद्यापति मैथिली पाण्डुलिपी पुरस्कार धनुषाका उपेन्द्र नागवंशीलाई दिने निर्णय भएको विद्यापति पुरस्कार कोषले जनाएको छ ।

चयन समितिमा प्रा.डा.आशा सिन्हा, हिमांशु चौधरी, अनितारानी मण्डल र नविन कुमार मिश्र थिए । पाँचवटै पुरस्कार मध्ये नेपाल विद्यापति मैथिली भाषा–साहित्य पुरस्कारको राशी दुई लाख रहेको छ भने बाँकीको एक–एक लाख पुरस्कार राशी रहेको छ । विद्यापति पुरस्कार २०६८ सालदेखि वितरण हुँदै आएको छ ।

कात्तिक २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्