उपनिर्वाचन

पिपरा गाउँपालिकामा अध्यक्षको लागि राजपा र नेकपाबीच भिडन्त

जनकपुरधाम-उपनिर्वाचन नजिकिदै गर्दा महोत्तरीको पिपरा गाउँपालिकामा खाली रहेको अध्यक्ष पदको लागि सबै पार्टीहरुले आ-आफ्नो उमेदवार छान्‍न व्‍यस्त देखिएका छन्।  पिपरा गाउँपालिकामा राजपा नेपालबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको मृत्यु भएपछि यहाँ उपनिर्वाचन हुँदैछ।

उपनिर्वाचनको लागि सबै पार्टी आ-आफ्नो उम्मेदवार छान्नमा व्यस्त भएको देखिएको छ । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टी नेकपाले विक्रम चौधरी आकांक्षी उम्मेदवार बनाउने लगभग पक्का भएको छ।

त्यस्तै नेपाली कांग्रेस महोत्तरीले विजयकुमार यादव, राजपा नेपाल-समाजवादी पार्टीले पूर्वअध्यक्ष विनोद चौधरीको धर्मपत्नी रविता चौधरीलाई उम्मेदवारको रुपमा अघि सार्ने पक्का-पक्की भइसकेपछि नेकपाले आन्तरिक पार्टी वैठक बसी टुंगो लगाईसकेका पिपरा गाउपालिकाका अध्यक्षका लागि विक्रम चौधरीलाई नै उम्मेदवार बनाउने भएको छ।

गत स्थानिय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट पिपरा गाउँपालिकाको लागि अध्यक्षमा उठेपनि केहि मतको अन्तरले विक्रम चौधरी पराजित भएका थिए । नेकपा महोत्तरीले वैठकको आन्तरिक निर्णय सार्वजनिक नगरेपनि आकांक्षी उम्मेदवारको रुपमा विक्रम चौधरीनै देखिएका हुन्।

नेकपाबाट पिपरा गाउँपालिकाको लागि आकांक्षी उम्मेदवार रहेको विक्रम चौधरीका अनुसार नेकपा महोत्तरीको तर्फबाट आफु नै उम्मेदवार हुने दावा गर्छन्। उनले भने, ‘विगतमा म यहाँबाट लडेको थिए र झिनो मतले मात्रै आफु हारेको थिए।

त्यस समय मधेश आन्दोलनको सेन्टिमेन्ट थियो।तर अहिले तिनीहरुको कामबाट जनता खुश नरहेकोले यस पटक मेरो जित पक्का हुन्छ।’गत निर्वाचनमा तत्कालिन एमाले र माओवादी छुट्टा छुट्टै लडेपनि आफू निर्वाचनमा दोस्रो स्थानमा रहेको र यस पटक दुवै पार्टी एकीकृत पार्टीमा परिणत भएपछि यस उपनिर्वाचनमा जित सुनिश्चित रहेको उनले ठोकुवा समेत गरे।

संघमा पनि नेकपाको सरकार रहेकोले यस उपनिर्वाचनमा नेकपाको जित भयो भने यसको धेरै फाईदा यहाँका स्थानियहरुलाई हुने उनको दावा छ।
२ वर्षपहिले भएको स्थानीय तहको निर्वाचनमा राजपा नेपालको तर्फबाट उम्मेदवार रहेका विनोद कुमार चौधरीले २७७५ मत ल्याएका थिए भने तत्कालिन संघिय समाजवादी फोरमको तर्फबाट वृजेन्द्र मिश्रले ६९३ मत ल्याएका थिए।

त्यस्तै तत्कालिन एमालेको तर्फबाट उम्मेदवार रहेका विक्रम चौधरीले १८७३ र माओवादीको तर्फबाट राम जानकी यादवले १५७८ मत ल्याएका थिए । भने काँग्रेसको तर्फबाट उम्मेदवार रहेका राधा रमण मिश्रले १४६८ मत ल्याएका थिए।

अब यस उपनिर्वाचनमा राजपा र समाजवादी पार्टी संयुक्त रुपमा निर्वाचन लडने देखिएको छ भने एमाले र माओवादी एक भएको अवस्थामा पछिल्लो मत परिणाम अनुसार यस निर्वाचनमा दुई वटा पार्टी मात्र राम्रो अवस्थामा रहेको छ।

त्यसमा पनि नेकपाको केन्द्रीय अध्यक्ष एव पूर्व प्रधानमन्त्री पुष्पदाहाल प्रचण्ड स्वयं पिपरामा आएर प्रचार प्रसार गरेकोले यहाँ नेकपा झन मजबुत अवस्थामा रहेको नेकपाको दावा छ । नेकपा महोत्तरीले पार्टीको वैठकबाट उम्मेदवारको टुंगो लगाएर उम्मेदवारको नाम सार्वजनिक छिट्टै नै गर्ने जनाएको छ।

त्यस्तै उम्मेदवारको नाम छनौट गर्न बसेको कांग्रेसको संसदीय बोर्डको बैठकबाट विजयकुमार यादवको नाम बहुमतले सिफारिस गरिएको हो। भने पिपरा गाउँपालिकामा राजपाले सो सीट जित्न मृतक चौधरीकी श्रीमती रबिता कुमारी चौधरीलाई नै पहिलो प्राथमिकता दिइनेछ। पिपरामा गाउँपालिकाको अध्यक्षको उपनिर्वाचनको लागि कार्तिक २७ गते मनोनयन दर्ता हुँदैछ।

कात्तिक २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्