चलचित्र समीक्षा-घामड शेरे

उडेर जोडेको सपना बगाउनेहरुको कथा

भनिन्छ, सबै चिजको औषधिमूलो हुन्छ तर घामडको हुन्न। ‘न भनेको मान्ने न आफै जान्ने’ व्यहोराका मान्छेहरु घामड भनेर चिनिन्छन्। नेपाली शब्दकोषले घामडलाई धेरै शब्दले अर्थ्याएको छ– घमण्डी, अभिमानी, असजिलो, अप्ठेरो, अबुझ।

अहिले सिनेमा हलहरुमा यस्तै घामडको कथा निर्देशक हेमराज बिसीले प्रस्तुत गरेका छन्। उनको आफ्नै लेखन, पटकथा र निर्देशनमा बनेको चलचित्रको नाम हाे, ‘घामड शेरे।’

होस्टल, सम्बोधन, गाजलु, ग्याङस्टार ब्लुज, ब्रेकअप लगायतका चलचित्र निर्देशन गरिसकेका बिसीले ‘घामड शेरे’मा विदेशबाट फर्केको युवाको कथा बुनेका छन्। कथामा मुख्य घामड पात्र हुन्, ‘शेरबहादुर’उर्फ ‘घामड शेरे’। जसमा नायक निश्चल बस्नेत शेरे बनेका छन् भने उनकी वास्तविक जीवन संगिनी स्वस्तिमा खड्का उनकी सालीको भूमिकामा छिन्।

चलचित्रमा सुस्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल लगायतका कलाकार छन्।

कस्तो छ कथा ?


सुर्खेतको छिन्चुको परिवेशमा बनेको गाउँले ठिटोको कथा हो ‘घामड शेरे’। जो विदेशमा पैसा कमाउन जान्छ। केही समय दुःख गरेर आउँछ अनि आफू र आफ्नो परिवारलाई खुसी, सुखी बनाउने सपनासहित फर्कन्छ। अब उसलाई फेरी विदेश जानु छैन। ऊ खेत किन्ने, खेती गर्ने अनि श्रीमतीसँग रमाएर बस्ने सपना देख्छ।

आफ्नो त्यही सपनालाई पछ्याउँदै पहाडको घरबाट शहर झर्छ। खेत किन्छ। छोरालाई बोर्डिङ स्कूल पठाउँछ। उसको सपना खेतमा झुल्न थाल्छ।

उसकी एउटी साली हुन्छे। सालीसँगको हिमचिम शेरेकी बुढीलाई मन पर्दैन। उसकी सालीलाई आफ्नै दिदी मन पर्दैन। दिन सामान्य तरिकाले चलिरहेकै हुन्छन्।

एक रात ठूलो पानी पर्छ र खेतमा झुल्न लागेको शेरेको सपना बगाउँछ। खहरे खोलाको तीरमा लिएको खेत पुरुवा माटोले बनाएको जग्गा गाउँका नेताले उसलाई पुरेको खेत नभनी बेचेका हुन्छन्। तर खेत बगाएपछि शेरे समस्यामा पर्छ।

नेपालको कानुनमा खोलाले बगाएको जग्गाको क्षतिपूर्तिको व्यवस्था छैन। शेरे त्यत्तिकै मान्नेवाला थिएन। उसले आफूलाई फँसाएको भन्दै नेतासँग झगडा गर्छ। प्रहरी निरीक्षक विकास थापाले शेरेलाई सहयोग गर्न खोज्छन् तर कानुनी प्रक्रिया मिलाएर नै जग्गा बिक्री गरिएको हुनाले केही गर्न मिल्दैन। विदेशबाट कमाएर ल्याएको सबै सम्पत्ति खोलाले बगाएपछि शेरे आफ्नो पैसा फिर्ता पाउनको लागि जे गर्न पनि तयार हुन्छ।

यहीबीचमा शेरे एउटा जालमा फँस्छ। खोलालाई मुद्दा हाल्न उसलाई उकासिन्छ। केही स्वार्थी समूहको सम्पर्कमा आइपुगेको शेरेलाई घरी यता घरी उता पुर्‍याइन्छ। प्रहरी चौकीमा न्यायको लागि आश बोकेर गएको शेरेलाई त्यहाँबाट पाखा लगाउन वकिलको सम्पर्कमा पुर्‍याइन्छ।

उसले वकिलसँग जे गरे पनि मुद्दा जिताइदिन आग्रह गर्छ। खोलालाई विपक्षी बनाइन्छ र नाटकीय हिसाबले मुद्दा टुङ्ग्याइन्छ।

यसैबीचमा शेरेकी श्रीमती बैंकमा भएको बाँकी पैसा आफ्नो नाममा सारेर पोइल हिड्छे। शेरे र उसको छोराको बिजोग हुन्छ। बिचल्लीमा परेको शेरे रक्सिको साहारामा हिड्छ तर पनि उसले आश मारेको हुँदैन।

यो बीचमा शेरेले कस्तो कस्तो दु:ख भोग्छ र कथा कसरी टुङ्गिन्छ त्यो थाहा पाउन चलचित्र हेर्नुपर्ने हुन्छ।

… 

‘घामड शेरे’ले केही वास्तविकतालाई उदाङ्गो पारिदिएको छ। जस्तै, नेपालमा केही गर्न चाहने युवाहरुलाई नेपालमा स्थापित हुन कति मुस्किल छ? विदेशमा बस्ने युवाहरुको र उसको श्रीमतीको ‘विवाहेत्तर सम्बन्ध’ र त्यसको प्रभाव बालबालिकामा कसरी पर्छ? नेपालमा केही समयदेखि बढेको जग्गा विक्री वितरण र त्यसमा फस्ने जमातलाई यहाँ देख्न सकिन्छ।

यस्तै व्यवस्थालाई कसरी शक्ति समूहले प्रभावित पार्छन्? यसलाई चलचित्रले राम्ररी प्रस्तुत गरेको छ। पुलिस थानाबाट पाखा लगाउने इन्सपेक्टर, खोलालाई मुद्दा हाल्न सिकाउने वकिल, विपक्षीलाई तर्साउन न्यायीक समितिमा छलफल गर्ने उपमेयर अनि कानुन बुझेर सोझोलाई फसाउने नेताहरु हाम्रा समाजका प्रतिनिधि पात्र हुन्।

कथाले बाढीपीडितको समस्यालाई उठान गरेको छ, जसले क्षतिपूर्ति पाएका छैनन्। अनि खोलालाई आफ्नो व्यापारको अखडा बनाउने समुदाय पनि चलचित्रमा छन्।

अब पात्रका कुरा गरौँ, ज्याद्रो बनाउने सुरमा निश्चललाई भिन्न–भिन्न काममा ‘घामड’ बनाइएको छ। जस्तै बसको भाडा किचकिच गरेर सामानसहित बीच बाटोमा नै झर्ने, रक्सिको तालमा चुरोटको पैसा नतिर्ने, जुन असामान्य लाग्छ। तर निश्चलले अभिनयलाई न्याय गरेका छन्। उनको ‘घामडपन’ चलचित्रमा प्रस्तुत भएको छ।

स्वस्तिमा ‘सर्पोर्टिङ क्यारेक्टर’ मा छिन्। भिनाजूलाई पहिलादेखि नै रुचाउने उनी दिदी पोइल हिँडेपछि बिग्रिएको भिनाजुको घर सम्हाल्न पुग्छिन्।

निर्देशकले केन्द्रीय पात्रलाई धेरै प्राथमिकतामा राख्दा सहायक पात्र छायामा परेका छन्। जस्तो शेरेको छोरा, अनि बा–आमा। केही अप्रत्याशित घटनाले चलचित्रलाई विषयवस्तु भन्दा पर मोडिदिन्छ।

चलचित्रको पहिलो हाफ केही लामो छ, दोस्रो हाफमा बेला–बेलामा मुटु चिसो हुन्छ।

कात्तिक २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्