के त्यहाँ छैन र परमात्माको सौन्दर्य?

किन दौडिन्छन् विचारहरु दिमागका गिर्खाहरुमा? किन सोच्दछ ऊ पर्दानशीन परमेश्वरलाई? के कारणले असहाय भइ दौडिन्छ उँभोतिर? कुन मार्गमा हुत्तिएर उछिट्टएर हेपिएर दौडिन्छ? किन चाहन्छ मान्छे आदिम सुख? तर हाय हाय मनुवा सुख भन्नु नै दुःख को पर्याय त रैछ नि?

झिल्का झिल्कीहरुले क्षणिक आनन्द दिलाएर फगत दमिक स्मित हाँस्य त पैदा गराउँछन् तर हृदयबाट निस्केर परमेश्वर तर्फ हिँड्ने प्रेमरुपी सङ्किर्ण पथहरुमा कोही अनजान किन कसरी पस्दछ? यो प्रेमिल पथमा किन कोही अटेरी रहन्छ? किन बन्छ यस्तो तरलतामा कठोर? यो कुन विज्ञानको उपज हो? को छ यस्को अनुसन्धाता? हा हा मन त आफै अन्धो छ। जता मन लाग्छ हिँड्छ नहेरीकनै। परिणाम मैले भनिरहनु पर्दैन।

फूल र चन्द्रमाले गराएका भ्रान्तिलाई मैले एउटा मूर्ति देखेर त्यसैमा गजल लेखिदिएँ। श्वास लिइरहेको हाँसिरहेको एउटा मूर्तिमानवलाई मैले चन्द्रमा बनाइदिए। त्यसैमा मख्ख परेँ। जब मूर्ति चलमलाउन थाल्यो, नजर डुलाउन थाल्यो म हिस्स परेँ, म डराउन थाले म रुन थालेँ म खिन्न भएँ अकिञ्चन भएँ। म खिन्नतामा बडो प्रसन्न हुन्छु। म खिन्नतामा दार्शनिक हुन्छु भगवान हुन्छु अनि विचारवान हुन्छु।

अनादिकालिन गहकिला विषयहरुउपर म एक्लै दर्शन छाँट्छु। म एक्लै मुस्कुराउँछु खिन्नतामा। ‘अजिब सख्स हुँ नाराज हो के हँसता हुँ, मै चाहता हुँ कि नाराज हुँ तो नाराज हि लगुँ।’ म बुद्धसँग कुरा गरिरहेको हुन्छु। म अरस्तु र प्लेटोसँग बहसमा चर्काचर्की गर्छु। म महावीरसँग ध्यानस्थ हुन्छु। यो मानसिक दुनियाको म लैलासँग कैस जस्तो दिवाना छु। यो दुनियामा म हरएक कुरा हुन सक्छु। यो मेरो कामधेनु लोक हो। म यहाँ आफूले इच्छाएका इच्छाहरुमा रंगिन सक्छु। मलाई यो लोक किन–किन प्यारो छ।

कति बाँधिएर रहन्छन् आफ्ना पैरपाखुरामा ताकत हुँदा पनि। म पढ्थेँ कथा उँटलाई बाँधेको। हात्तीलाई बन्धनको डर देखाएर राखेका कथाहरु। ओहो कतै जंजीरको तसव्वुरले बाँधिएर आफैलाई रोकिराखेको त छैन भनी क्या आत्मा तर्सेर आउँछ। म त्यही हस्ती पो हुँ कि या त्यही उँट हुँ। म फगत् सोचाइका तन्तुहरुलाई व्यायाम गराउँदै यति पर आइपुग्छु कि म मेरो पुरातन स्थललाई बिर्सिजान्छु। म मलाई बिर्सिजान्छु।

आफैँलाई खोज्दै अझै पर पुग्छु पर पर पर। अनन्त अनन्त दूरी छिचोलेर जब एक्लो हुन्छु जब उजाड हुन्छु तब आफैलाई सोच्न थाल्छु। आखिर यो सोचाइको कुनै अर्थ छैन। र रस यो लोकमा व्यर्थका कामहरुउपर लाग्छ। रित्तिएर जब शान्त हुन्छु अनि आफैँलाई सोच्छु।

म यिनै व्यर्थता उपर जीवनका कालासेता धर्सा मेटाइरहेछु। कति शान्त छ मेरो अव्यस्तता । कति भद्र छ मेरो नाकामी। कति शालीन छ मेरो क्रुरता। ओहो म आफ्नै नाटकीय रुपको प्रसंसक हुँ। म आफ्नै घमण्डको प्रसंसक हुँ। यो आफैँलाई सजाय दिने एउटा काइदा हो। यो श्रीकृष्णले भनेका हुन् अर्जुनलाई मैले होइन। यो संसारलाई बाँच्न कसले सिकायो या जिउन सिकायो कसले मरेर? कसले सिकायो युद्धम् शरणम् गच्छामी? यहाँ फगत् विचारका फोकाहरु उठ्छन् अनि फुट्छन् अनगिन्ती। यहाँ निर्झर झर्दछन् सोचाइका नदीहरु। वासनाका तालहरु अझै फोहोर हुँदै भ्यागुता र सर्प पालेर बस्छन्। क्रुरताका आवहवाहरु शरीरका रौँ रौँ लाई स्पर्श गरेर बग्दछन्। अनुशरणका पाइलामा संसारले आफूलाई भुलेको छ।

म मेरो लोकमा सोचिबस्छु सामाजिकताको सामाजिक व्याख्यानउपर। सामाजिक संजालका जञ्जाललाई आफैले बुनेर कसरी म पिंजडाको पक्षी बन्दो छु भन्ने हेक्का नभएरै म सुनको पिंजडामा आहारा लिई मस्त भैरहेछु। तर म सपना वन वन उडेको देख्छु। तर कल्पना म पहाडमा टाकुरामा बसेर गीत गाएको कल्पिन्छु। यो स्त्रैण विचलनीय मानसिकताको सिकार भएर कटिरहेछ जीवन। दूरदर्शनका भाँडाबाट संसारका अगम्य चित्र विचित्रतालाई चियाएर त्यहाँ पुग्ने उत्कन्ठाले उत्साहित हुँदा असक्षमताको डसाइले दुःखी भएर म मेरो मानसिक लोकमा विचरण गर्छु।

म मेरा अक्षम्य अपराधका माफीहरु मानसिकलोकमा आँफैसँग मागिबस्छु। मैले कसैलाई प्रेम गरेको अक्षम्य अपराधको माफी हिजो बेलुका (यस लोकमा) मागे आफैसँग। मैले त्यसको कारवाही स्वरुप बाँच्नु पर्ने भएको छ केही दिन यहीं हल्लिएर बरालिएर। समयले खनेका बडे बडे खाल्डाहरुमा कति महान् विचार र विचारकहरु हराए होलान्। कति विकराल युद्धहरु यो खाडलले पुर्‍यो होला। प्रकृतिको गोलाइ सृष्टिमा यो कतिपटक घुमेर फिरेर आयो होला? सोचिबस्छु यो एउटैखाले चलचित्र हेर्ने त्यो अज्ञानी पर्दानशीन को होला? को होला त्यो वासी मनपराउने?
यहाँ कसैको र केहीको पुनरोक्ति छैन। यहाँ कोही उस्तै छैन।

यहाँ कसैको भेष मिल्दैन कसैको भाषा, कसैको वेश मिल्दैन कसैको आशा। तर पनि यही आशाउपर अल्झिएर पछारिनुको पीडामा मस्ती छ। यो कुन समाधिस्थ साधुले गर्‍यो होला कुन दिन यसको अनुभव? के ऊ जान्दो हो मस्तीको अर्थ? या त्यसैले कन्दरामा पिडा दिँदो हो आफैँलाई? कुन बौद्धिकताले डोर्‍याएर मान्छे बुद्धिको बाटो हिँड्छ? हिँडाइलाई जीवन ठान्नेहरुले समुद्र र पहाडको उदाहरण किन दिँदा हुन्। चरैवेतिका अनुशरणकर्ताहरु कति बाँधिएर रहेछन् देखिरहेछु। देश र राष्ट्रले कुनै आस्थाउपर कति आत्मविश्वास पैदाउँछ भन्नेकुरा सोचिरहँदा म देशको धर्मउपर विचार गर्छु।

नाट र कव्वाली सुनिरहँदा म आयातका एकएक हर्फलाई आत्मसात गर्नसक्छु। म अल्लाहको प्रेममा पर्छु। सकिनाका आँशुहरु मेरा हृदयका गहिराइका पुगेर पोल्छन्। शाब्दिक अन्धतामा भुलेर शब्दलाई देशप्रेम मान्नेहरुमा मेरो खेद छ। तर मेरो देशको भाषाको वैज्ञानिकता बुझ्नेहरुमा मेरो अगाध प्रेम छ। भावनाका लहरलाई नबुझ्ने प्यासीहरुले सुनका घडा सजाएर राख्छन्। प्यासी त हत्केला जोडेर पनि पिउन सक्छ।

म सोचिरहेथेँ बास्नाबारे। कृपया वासना नसोच्नुहोला। जीवनका परमगत यथार्थहरुउपर म व्यङ्ग्य गर्दिन। मेरो स्वभाव होइन हूलका अनुशरणमा बिलाइजाने, ओइलाइजाने। सोचिबस्थेँ- वास्नाहरुले पनि स्मृति बोक्छन्। वास्नाहरु यादगार हुन्छन्। प्रेमिकाले प्रथम मिलनमा लगाएको पर्फ्युमको वास्ना कुनै अपरिचित युवतीका देहवाट आउँदा अनायासै प्रेमिकालाई सम्झिइन्छ। वास्नाहरु स्फूर्तिदायक हुन्छन्। अझ अहिले त वास्नाहरु आडम्बरका पर्याय हुन्छन्। विचारले बलियो मान्छेलाई वास्नाले बलियो भएको हेप्दछ। अरुका घ्राणग्रन्थिलाई नै असर गर्नेगरी वास्ना गर्नेहरु अन्न दिने भगवानको पसिनालाई हेप्दछन्। वास्नाहरु अपूर्व हुन्छन्। वास्नाहरु पुण्यदायक हुन्छन्। म पढिरहेथेँ योगी शिवशक्तिनाथको सूक्ष्म शरीरको यात्रा। पढेँ कसरी कुनै कुनै वास्नाहरु सयौँ वर्षको तपोफल एकैपटक दिन सक्षम हुन्छन्। तर अपसोच वास्नाहरुको पनि आफ्नै तहतह हुन्छन्। जसरी सोचाइको आफ्नै आफ्नै स्तर हुन्छ।

सानासाना व्यर्थताको आभासले खुम्चिनु र फैलिनु चित्त हो। हिजो एउटा सानो कुराले म खुम्चिएर गुम्सिएर बसेको पाएँ। आज एउटा सानो कुराले फैलिएर मात्तिएको पाएँ। लेखक समाजको ऐना हो पर्दा होइन भनेर सम्झिन एउटा बुङ्गो आदर्श बोकेको बुङ्गेलाई जीवन लाग्छ तर पनि सम्झिन सक्दैन। आदर्शहरु फगत् देखावटी हुन् भनेर म मेरो आदर्शको प्रदर्शन गरिरहेछु। भन्छन् आदर्शले मान्छे बाँच्दैन तर मैले देखेको छु देवकोटा र मेरा बालाई। आदर्शको हेपाइ बडो बजनदार हुन्छ तर विपश्यनाको पारखीलाई दुःख बडो आत्मीय लाग्छ।

जिन्दगीका हरेका चालले दौडाएकै हुन्छन्। हरेक प्रहरले घचेटेर तँ घाटतिर जा भन्दै न्याकिरहेकै हुन्छ। पाइला पाइलामा समयले गति छाडिरहेकै हुन्छ। मनले नयाँ नयाँ चाहना गरिरहेकै हुन्छ। देहले भरमग्दुर प्रयास गर्दछ पूरा गर्ने। दौडाइले नेटो काटिरहेको हुन्छ र यस्तो समय आइपुग्छ मनका चाहनाहरु देहले पूरा गर्न सक्दैन र मन चाहन्छ देहबाट निस्कन, नयाँ आपूर्ति साधन खोजिरहेको हुन्छ र म सकिन्छु। म मर्दछु। मैले मरण को हिसाब यसरी बुझेको थिएँ । मैले मरणलाई एउटा मजाको खेल सम्झिई जीवन बिताइदिन्छु मैले मर्नु छ भन्ने नसोचेरै कति आयोजन गरेको हुन्छु यो स्वार्थमय संसारमा शीर उठाएर आडम्बरको पूर्ति गर्दै बाँच्नलाई। नयाँ नयाँ चाहनाको तलबलाई पछ्याउँदै हिँड्छु।

मनको काम अनर्गल सोचिरहनु नै हो। यही मनका लाखौं सोचातिक्रमणलाई निस्तेज पार्नुका उद्देश्यले नै ध्यानका करोडौँ नियम बने।

नियमको प्रयोगतालाई मैले व्यर्थ जान दिने काम गरिनँ। मैले सोचिदिएँ संगीतसँग स्मृतिहरु अति नजिक हुन्छन्। नदीसँग कविहरु अति नजिक हुन्छन्। पहाडसँग दार्शनिकहरु अति नजिक हुन्छन्। संगीतसँग चराहरु निकट हुन्छन्। कहिलेकाहिँ त लाग्छ कि यो पाञ्चभौतिक देह संगीतको तारले जोडिएको छ। यसको जोडाइको कुनै उपाय नहुँदा ॐ कारको संगीत बजेको थियो। म सोचाइका गहिराइमा पुग्दा केवल संगीत पाउँछु। म बेसोचाइका गहिराइमा पुग्दा संगीतलाई पाउँछु। म संगीतसँग अति नजिकमा छु। यस्तो लाग्छ कि संगीत मेरो प्राण हो। बस् सोचिदिउँ न यो त मनको काम हो।

भावको सम्बन्ध कुन भित्री झिल्कासँग हुन्छ जसले आनन्द दिलाउँछ? भावको सम्बन्ध कुन त्यस्तो जादूगरी, तिलस्मी सत्तासँग रहन्छ जसले आन्दातिरेकमा आँशु खसाउँछ? भावको सम्बन्ध अगाडिका कुनकुन भावसँग रहन्छ जसले त्यी भावना व्यक्त गर्ने भावुकहरुसँग सामिप्यमा पुर्‍याउँछ?

मेरै मनको अध्ययन गरेर कतिले नाम दाम कमाएका छन्। मेरै देहलाई चिरेर बाँधेर काटेर कतिको गाँस चल्छ। मेरै एक अंशको अध्ययन गरेर कतिको सास चल्छ। मेरो एक श्वासमा प्रकृतिका सारा सृष्टिको ज्ञान गरेरै ऋषिमुनि भए। मलाई नै जानेर कतिले मोक्ष भन्ने कुरा पाए। मलाई नै जानेर कतिले आफूलाई जाने। म मानव त हुँ यो नजानेरै मैलै आफैलाई जानिनँ।

भावको सम्बन्ध कुन भित्री झिल्कासँग हुन्छ जसले आनन्द दिलाउँछ? भावको सम्बन्ध कुन त्यस्तो जादूगरी, तिलस्मी सत्तासँग रहन्छ जसले आन्दातिरेकमा आँशु खसाउँछ? भावको सम्बन्ध अगाडिका कुनकुन भावसँग रहन्छ जसले त्यी भावना व्यक्त गर्ने भावुकहरुसँग सामिप्यमा पुर्‍याउँछ? कुन भावले अपराधी अपराध मनपराउँछ? कुन भावले कोही पुस्तक मनपराउँछ? भावनाहरुको आफ्नै युद्ध क्षेत्र हुँदो हो।

सामयिक कालखण्डको कुनै अवधिमा भावहरुको युद्ध भएको हुँदो हो र हरेक युद्धले एउटा नयाँ भावको शासन छान्दो र अरु भावले मान्दा हुन्। जसरी अठारौँ शताब्दी वैज्ञानिक भावले उथलपुथल भएथ्यो र उन्नाइसौं शताब्दी साहित्यको अहोभावले अनुगृहित थियो। जसरी आइन्स्टाइनको नागासाकीपछिको बेचैनी र देवकोटाको पागल कविताको भावले अझै पनि भावुक बनाइदिन्छन्। भावहरुको आफ्नै छुट्टै अस्तित्व हुँदो हो। भावनामै बाँचेका हुँदा हुन् कति त। रुखलाई गाली गर्दा मरिजाने रुखसँग भावनाको कत्रो रारा हुँदो हो? ओहो म सोचिबस्छु यो भावको भगवान को होला? को होला त्यो भावुक परबरदीगार जो कस्तो भावनाले यो विश्व आर्जिँदो हो?

बग्नुको आफ्नै आनन्द छ। आँशुसँग सोधिहेर बगाइ के हो ? नदीसँग सोधिहेर न मिलन के हो ? समुद्रसँग सोध न पर्खाइ के हो ? मसँग सोध न बिछोड के हो ? लाओत्सु भन्छ बगेर अन्तमा पुग । ठोस हृदय लिएर बस्नेहरु कसरी यो अन्तमा पिँध मा पुग्न सक्लान् भन्ने पीर ले म आँशु बगाइदिन्छु । यो सुन्दर सृजनामा किन कतैकतै असुन्दरताको नियम बाँधेर सुन्दरताको व्याख्यान कविहरु गर्दछन् भनि एक्लै पिरोलिएर म बगिदिन्छु । हो बगिहेर बग्नुको आफ्नै आनन्द छ ।

थिग्रिएर जमेर रहेकाहरुले परिवर्तन गरेको मैले देखेको छैन । सामान्यताको या भनौँं ठिकठाक को मानिएका हरुले नयाँ गरेको मैले देखेको छैन । बुद्धिवानहरुले केही नापेको मैले देखेको छैन । बुद्धिभन्दा केही बाहिर गएकाहरुले बनाएको दुनिया हो यो । तिमीले भन्ने गरेको पागलले सजाएको संसार हो यो । जो सीमाभन्दा बाहिर जाने आँट राख्दछन् उनीहरुनै हुन् यी चम्किने नक्षत्रहरु जो तिम्रा मस्तिष्कले भेट्न नसकेर रन्थनिएर हिनताबोधले अँठिएर तिमी पागलको संज्ञा दिन्छौ ।

तर्कको क्षेत्र संकुचित छ । संकीर्ण छ र छ शसंकित । हरहमेशा शंका तर्कको स्वभाव हो । लहडीपन तर्कको स्वभाव हो । ऊदू जवान तार्कीक हो न्यायिक हो । भाषाले व्यक्तिको स्वभावमा ठूलो प्रभाव पार्छ । अंग्रेजी बोल्नेहरु धूर्त हुन्छन्, ऊर्दू बोल्नेहरु लहडी हुन्छन् संस्कृत बोल्नेहरु तार्कीक हुन्छन् । नेपाली बोल्नेहरु शिशु हुन्छन् तर बहादूर हुन्छन् । सरलता मेरो भाषाको स्वभाव हो । मेरो भाषाको स्वभावले कहिलेकाहीँ मलाई निकै असजिलो बनाइदिन्छ खासगरी ती व्यक्तिहरुको समिप जो हरेक वाक्यमा तीर समान वाणी प्रहार गर्दछन् । तर्क विज्ञानको सुरुवात विन्दु हो या भनौं विज्ञान तर्क को अन्तिम विन्दु हो । विज्ञानको अन्तिम विन्दु ज्ञान हो । जब विज्ञान सकिन्छ तब ज्ञान को उदय हुन्छ तर यो पनि हो कि ज्ञान ले नै विज्ञान पनि हुन्छ ।

नियमको प्रयोगतालाई मैले व्यर्थ जान दिने काम गरिनँ। मैले सोचिदिएँ संगीतसँग स्मृतिहरु अति नजिक हुन्छन्। नदीसँग कविहरु अति नजिक हुन्छन्। पहाडसँग दार्शनिकहरु अति नजिक हुन्छन्। संगीतसँग चराहरु निकट हुन्छन्। कहिलेकाहिँ त लाग्छ कि यो पाञ्चभौतिक देह संगीतको तारले जोडिएको छ। यसको जोडाइको कुनै उपाय नहुँदा ॐ कारको संगीत बजेको थियो।

ओहो म त अन्यत्र भौँतारिएछु । यो त मेरो प्रवृत्ति नै भैसक्यो । भौँतारिनु नै भ्रमण हो । कुनै स्थानविशेष को लक्ष्य राखेर हिँड्नु लाई कमसेकम म चाहिँ भ्रमण भन्न सक्दिन। भाैँतारिनु नै जीवनको लक्ष्य भएपछि जमेर बस्ने मन नहुने रहेछ मुसाफिरलाई। ल हेर्नु न म त फेरि पनि विषय भन्दा अन्यत्र नै लागेछु।

पूर्वस्थित विश्वास या विरोधको नजरले विश्वभ्रमण गरेपनि मनुष्यले सत्यको अनुहार देख्न सक्दैन। अनन्तको राज्यमा अनन्त दृष्टिकोण छन् (देवकोटा बाजे भन्छन्)। म पनि सोचिरहेछु कि म पूर्वस्थित विश्वासका आधारमा किन हरेक कुराहरुको विचार र विमर्श गरिहेछु। किन दार्शनिक भैटोपल्नु परेको छ मलाई? किन गहन व्याख्या गरेर रौंचिरा दर्शन छाँटिरहनु छ ? किन दुखाउनु छ कपाल ? मगजमा शास्त्रिय बोझ राखेर बोझिल मनस्थिति लिई गह्रुँगो जीवन किन बिताउनु छ दुःख गरेर ? किन उत्रिनु स्वभाव बन्न सक्दैन ?

अनि फेरि सोच्छु म आफ्नै विचारहरुको विरोध किन गरुँ ? किन म आफैसँग लडुँ ? आफ्नै चित्तमा विचारको कुरुक्षेत्रबनाएर मनलाई अर्जुन बनाएर आँफु श्रीकृष्णको छद्मभेषमा उभिएर शकुनी चाल चलेर आँफैलाई अन्धकारमा या भ्रम मा किन राखिरहुँ ? किन नजलाउँ म एउटा दियो । किन नमानुँ म बुद्धको अप्पदिपो भव लाई ? बुद्धत्वको अनुशरण मात्रै पनि काफी होइन जिवनमा तर पनि मेरो आस्तिक विचारले बुद्धत्वलाई नजरअन्दाज गर्न सक्दैन र शिर नुहाएर विनित हुन सिकाउँछ , नमस्कृत हुन सिकाउँछ । मलाई जीउने कलाहरु दिने मेरो संस्कार हो जसलाई मेरा पूर्वज ऋषिमुनि योगी र बुद्धहरुले मजबुत जगका साथ निर्माण गरेका छन् र दिएका छन् मलाई शीर ठाडो पारेर सगरमाथको शीरमा नाच्न पाउने अधिकार । विश्वलाई अनन्त जुग सम्म पुग्ने खुराक मेरो संस्कृतिले दिएको छ ।

यो कुनै पाण्डित्य दर्शनको ठ्यासफु होइन । नितान्त अ–विचारगत गन्थन मन्थनलाई कोरिदिएको हुँ । विचार सडकमा हिँड्ने लहडी ठिटो जस्तो हो । जो कतै ढुङ्गा हान्छ कतै मस्त भएर गाउँदै हिँड्छ ।

(म भन्छु ए मन तँ रङ्गिइजा, रुपौला लहर झल्काई सिलिङ् मिलिङ् गरेर सलसली नालाहरु वनमा नागवेली पर्दै पहाडका सजिला फेद कुना खोज्दै समुद्रतिर चलमलाउँछन् । सोझै सागर पुग्ने काम तँलाई छैन, तँ त खेल्न आएको पो । जीवन भनेको नै लहराउनु तरङ्गिनु , चलमलाउनु, गुनगुनाउनु, यो बाटो जा भन्ने नियन्त्रण दिने तँलाई कोही छैन, तँ जा तरङ्गिई, लहडको लहरीमा , आफूखुशीको आनन्द विश्वमा तैँलाई छ । तँलाई न पुराण भन्नु छ न गर्नुछ शास्त्रार्थ, कोही किनारडुलुवाको कानमा गुनगुन गर्दै अल्सी क्षणलाई बहलाइदे, केही जीवनको गुनगुने रहस्यझल्का झल्काइदे । एकान्तलाई मिठो पार् र अगाडी बढ्, कतै निर्झरको हाम्फाल्नुले कतै पातलिएको कलकलले । अहा के लहडतरङ्गले जीवनको सच्चा मुटु छुँदैन र ? – देवकोटा)

जीवनघरमा सुख दुःख का वाछिटाले भिजेको भविष्य पिढीँमा वर्तमानका पैतालाले चिसो स्पर्श गरी स्वको अनुभव गर्नुमा परमात्माको सौन्दर्य छैन र?

कार्तिक २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्