अस्ट्रेलियाको सिड्नीमा भीषण डढेलो फैलिने जोखिम

अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा भयानक डढेलोको खतरा रहेको सरकारी अधिकारीले बताएका छन् । अस्ट्रेलियाका दुई राज्य न्यू साउथ वेल्स र क्वीन्सल्याण्डको जंगल आसपासका झाडी युक्त क्षेत्र तथा घाँसे मैदानमा भीषण आगलागी भएको छ ।

सो आगलागी तीव्र गतिमा फैलिरहेकाले सिड्नी क्षेत्रमा पनि भयानक प्रभाव पार्ने खालको डढेलो फैलिन सक्ने चेतावनी दिइएको हो । अहिलेसम्म अस्ट्रेलियामा यो आगलागीका कारण कम्तिमा तीनजनाको मृत्यु भएको पुष्टि भएको छ । पछिल्लो तीन दिनदेखि जारी डढेलोका कारण हजारौँ मानिस बिस्थापित भएका छन् ।

डढेलोले प्रभावित भएका न्यू साउथ वेल्स र क्वीन्सल्याण्डमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ । दुई राज्यमा कुल १२० भन्दा बढी स्थानबाट डढेलो फैलिरहेको छ । जोखिम बढ्दै गएकाले सिड्नीका उच्च खतरायुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ ।

कात्तिक २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्