दाङ – गएको वर्ष राप्ती नदीको गिट्टी, बालुवा अत्याधिक उत्खनन् भयो । जसले गर्दा राप्ती नदीको सतह गहिरिन पुग्यो । नदीको उत्तर किनारबाट बग्दै आएको पानी दक्षिण किनारमा ढल्किन पुग्यो ।

यसले गर्दा ६ हजार हेक्टर जमिन सिंचाइ हुने प्रगन्ना कुलो सिँचाइ आयोजना नै संकटमा पर्न थालेको छ । ‘नदीको सतह गहिरो भयो । हाम्रो कुलोको मुहान माथि भयो ।’

प्रगन्ना कुलो सिँचाइ जल उपभोक्ता समन्वय समितिका अध्यक्ष टंकनाथ चौधरीले भने, ‘उत्खननले तीनवटा इन्टेकमा पानी भएन । बराखुट्टी, कालापानी र मझमेरिया इन्टेकलाई समस्या पारेको छ ।’

प्रगन्ना कुलो सिँचाइ आयोजनाबाट सिञ्चित हुने ठाउँका किसानले धान भित्र्याइसकेका छन् । अहिले गहुँ, मकै छर्ने तयारीमा छन् । तर, कुलोमा पानी छैन । गत वर्ष गहुँ र मकै छरेका किसान यसपटक भने सिँचाइ अभावमा समस्यामा परेका छन् । राप्ती नदीको पानी लाग्ने खेत बारी सुख्खा हुने अवस्थामा पुगेको किसान धुब्र चौधरीले बताए ।

‘किसानलाई के समस्या पर्छ, के समस्या छ भनेर कसैले चिन्ता गर्दैन । नदीको गिट्टी, बालुवा धमाधम उत्खनन गरे । अहिले नदीको पानी पत्ताएको छ ।’ उनले भने, ‘स्थानीय सरकारले राजश्व बढी उठाउने नाममा उत्खनन् गरेर नदी थिलो थिलो पारे । अहिले सिँचाइ गर्ने बेलामा पानी नभएर छट्पटी भयो ।’

अत्याधिक उत्खननले नदीको पानी दक्षिण ढकेलिएपछि आयोजनमा समस्या परेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराइएको छ । केही दिन अघि राप्ती नदीको जलाधार गुरुयोजना बारेमा घोराहीम भएको छलफलमा प्रगन्ना कुलो सिँचाइ जल उपभोक्ता समन्वय समितिका सदस्य तिलक न्यौपानले नदी जन्य बस्तु उत्खननले ६ हजार हेक्टर जमिन सुख्खा हुने अवस्था आएको भन्दै समस्या समाधान गर्न ध्यानाकर्षण गराए ।

यता प्रगन्ना तथा वड्कापथ सिँचाइ व्यवस्थापन कार्यालले पनि राप्ती नदीमा गरिएको उत्खननले सिँचाइमा समस्या पारेको बताएको छ । प्रगन्ना तथा वड्कापथ सिँचाइ व्यवस्थापन कार्यालय प्रमुख ईश्वरनाथ पाक्वाले नदी जन्य बस्तु उत्खनन् गर्दा नहरमा पानी चढ्न नसकेको बताए ।

कात्तिक २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्