आर्मी बन्यो हाम्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन

झापा-विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडमाथि सहज जीत निकाल्दै आर्मी च्याम्पियन बनेको हो। चर्च ब्वाइजविरुद्ध २–० गोलको नतिजामा आर्मीलाई च्याम्पियन बनाउन कप्तान टेकबहादुर बुढाथोकी नायक सावित भए।

आर्मीका लागि पहिलो र दोस्रो हाफमा समान १–१ गोल भएको थियो। खेलको अन्त्यतिर दुवै टोली आक्रामक बन्दा कार्डको वर्षा भएको थियो। ८० मिनेटको निर्धारित खेलमा ७ वटा पहेँलो कार्ड देखाइएको थियो।

५८ र ८३ मा दोहोरो पहेँलो कार्ड पाउँदै चर्च ब्वाइजका राजेन्द्र रावल मैदान छाड्न बाध्य भए। आर्मीका ३ जना खेलाडीले पहेँलो कार्ड पाएका थिए।
खेलको ३२औँ मिनेट आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले गोल गर्दै अग्रता दिलाएका थिए। देब्रे साइडबाट टंक बस्नेतले मिलाइदिएको पासमा पेनाल्टी एरियामा अनमार्क रहेका उनले ग्रास सुट गर्दै गोल गरेका थिए।

त्यस्तै, टेकबहादुर बुढाथोकीकै एक्लो प्रयासमा खेलको ८०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठसँग वान भर्सेज वानमा बललाई दोस्रो बारतर्फ चिप गर्दै उनले गोलपोस्टको दिशा दिएका हुन्।

यसअघि खेलको २५औँ मिनेटमा चर्च ब्वाइजका सुनिल खड्काले गोल गर्ने अवसर गुमाएका थिए। आर्मीका गोलरक्षक विवश चौधरीसँग वान भर्सेज वानमा सुनिलले प्रहार गरेको बल खेर गएको थियो।

खेलको उत्कृष्ट गोलरक्षक आर्मीका गोलरक्षक विवश चौधरी घोषितहुँदा चर्च ब्वाइजका सुनिल खड्का उत्कृष्ट मिडफिल्डर घोषित भए। त्यस्तै, आर्मीका दिपक गुरुङ उत्कृष्ट रक्षक घोषित हुँदा आर्मीकै टंक बस्नेत गोल्डकपकै उत्कृष्ट फरवार्ड घोषित भए।

फाइनल खेलको म्यान अफ दी म्याच चर्च ब्वाइजका अशोक खवास घोषितहुँदै पुरस्कृत भए। गोल्डकपकै उत्कृष्ट खेलाडी आर्मीका कप्तान टेकबहादुर बुढाथोकी घोषित भए। उनलाई झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले पुरस्कार प्रदान गरे। उत्कृष्ट प्रशिक्षकमा आर्मीकै नविन न्यौपाने घोषित भए।

विजेता आर्मीले नगद १२ लाख ५० हजार तथा उपविजेता चर्च ब्वाइजले नगद ६ लाख २५ हजार पुरस्कार पाए। विजेता तथा उपविजेता टिमलाई १ नम्बर प्रदेशका मुख्यमन्त्री माननीय शेरधन राईले नगद तथा ट्रफी प्रदान गरे।

भारतका दुई टिमसहित १० वटा टिम सहभागी गोल्डकप बिर्तामोडको जायोन स्पोर्टस् क्लबले आयोजना गरेको हो।

कात्तिक २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्