नवौँ विश्व रेञ्जर सम्मेलन आजदेखि चितवनमा सुरु हुँदै

चितवन – नवौँ विश्व रेञ्जर सम्मेलन मंगलबारदेखि चितवनको सौराहामा सुरु हुँदैछ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले यसअघि नै पूरा भएको जनाइसकेको छ । एसियामा नै पहिलोपटक नेपालमा सम्मेलन हुन लागेको हो ।

सम्मेलन पाँच दिनसम्म चल्नेछ । सन् १९९५ देखि सुरु भएको सम्मेलन हरेक तीन–तीन वर्षमा हुँदै आएको छ । यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो । सरकारले नवौँ सम्मेलन सम्पन्न गर्न वन मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालको संयोजकत्वमा व्यवस्थापन गर्न समिति गठन गरेको छ ।

समितिका संयोजक ढकालका अनुसार नेपालसहित ७२ देशका ५५० जना प्रतिनिधि सम्मेलनमा सहभागी हुने छन् । सम्मेलनमा नेपालले मध्यवर्ती क्षेत्रको व्यवस्थापन, भूपरिधि, मानव वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण, शून्य चोरी शिकार, पर्या–पर्यटनमा स्थानीय समुदायको साझेदारीलगायतका विषयमा भएका उपलब्धिलाई प्रस्तुत गर्ने कार्यक्रम रहेको ढकालले जानकारी दिए ।

पाँच दिनसम्म वृहत छलफल गरी घोषणापत्र जारी गरिने बताइएको छ । इन्टरनेशनल रेञ्जर फेडेरेशनको आयोजनामा हुन लागेको यस सम्मेलनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कात्तिक २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्