अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टर अस्पताल भर्ना

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टर अस्पताल भर्ना भएका छन् । ९५ वर्षका कार्टरको मस्तिष्कमा दबाब परेकाले त्यसको उपचारका लागि एट्लान्टामा रहेको अस्पतालमा भर्ना गरिएको वक्तव्य जारी गरेर जानकारी दिइएको छ ।

कार्टर सेन्टरले जारी गरेको वक्तव्यमा केही समयअघि भएको दुर्घटनाका कारण जिमी कार्टरको मस्तिष्कमा दबाब सिर्जना भएको उल्लेख गरिएको छ । पूर्व राष्ट्रपति कार्टर केही समयअघि लडेका थिए ।

उनको मस्तिष्कमा सिर्जना भएको दबाब व्यवस्थित गर्नका लागि स्थानीय समय अनुसार मंगलबार बिहान एमोरी युनिभर्सिटी हस्पिटलमा उपचार प्रक्रिया हुने जनाइएको छ । हाल कार्टरले सहज रुपमा आराम गरिरहेको र श्रीमती रोसालिन साथमा रहेको जनाइएको छ ।

अमेरिकाका ३९ औँ राष्ट्रपति कार्टरले सन् १९७७ देखि १९८१ सम्म जिम्मेवारी सम्हालेका थिए । उनी दोस्रो कार्यकालका लागि भएको चुनावमा रोनाल्ड रेगनसँग पराजित भएका थिए ।

ह्वाइट हाउसबाट बाहिरिएपछि पनि कार्टर सक्रिय नै रहेका छन् । उनले कार्टर सेन्टर मार्फत मानवीय सहायताका काम गर्दै आएका छन् । सन् २००२ मा उनले नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए ।

जर्जिया राज्यमा रहेको उनको घरमै लडेपछि उनको हिपको हड्डी भाँच्चिएको थियो । त्यसका लागि गएको मे मा शल्यक्रिया गरिएको थियो । उनी गएको अक्टोबरमा सहयोग जुटाउनका लागि गरिएको सार्वजनिक कार्यक्रमको क्रममा पनि लडेका थिए ।

कात्तिक २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्