गुरुनानक देवको ५५० औँ जयन्ती अर्थात प्रकाश पर्व मनाईँदै

सिख धर्मका संस्थापक तथा सिखहरुका पहिलो गुरु गुरुनानक देवको ५५० औँ जयन्ती मंगलबार विशेष रुपमा मनाईँदैछ । विशेष गरी भारत तथा पाकिस्तानमा सिखहरुको बढी बसोबास छ । यस्तै नेपालमा पनि सिख समुदाय रहेका छन् ।

क्यानडामा सिखहरुको ठूलो बसोबास छ । विश्वभर रहेका सिखहरुले आफ्ना पहिलो गुरु गुरुनानक देवको जन्मजयन्ती भव्य रुपमा मनाउँदै छन् । गुरुनानक देवलाई मुस्लिम समुदायले फकिरका रुपमा मान्ने गर्छन् ।

गुरुनानक देवलाई मान्नेहरुले उनलाई एक गुरुका रुपमा लिने गर्छन्, जसका कारण उनका अनुयायी या भक्तहरु कुनै एक धर्मका नभएर सबै धर्मका छन् । गुरुनानक देवको जन्मदिनलाई सिखहरुले प्रकाश पर्वका रुपमा मनाउने गर्छन् । यो वर्षको प्रकाश पर्व केही विशेष भएको छ ।

भारत र पाकिस्तानबिचको करतारपुर करिडोर औपचारिक रुपमा गएको शनिबार खुल्ला गरिएको छ । करतारपुरमा गुरुनानक देवले आफ्नो जीवनको अन्तिम १८ वर्ष बिताएका थिए ।

गुरुनानक देवको जन्मस्थान पाकिस्तानको ननकानासहिब, वयश्यक समय बिताएको भारतको सुल्तानपुर लोधी तथा जीवनको अन्तिम समय बिताएको करतारपुर खास महत्वका स्थान हुन् । सिखहरु यी स्थानलाई पवित्र धार्मिक स्थलका रुपमा लिन्छन् ।

कात्तिक २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्