मेस्सी र रोनाल्डोलाई हल्लाइरहेका किशोर ‘गाेल मेशिन’

लण्डन– उनी यो सिजन घरेलु लिगका सर्वाधिक गोलकर्ता हुन्। चालु युरोपियन च्याम्पियन्स लिगमा पनि उनले जति गाेल अरुले गर्न सकेका छैनन्।

अनि युरोपियन क्लब फुटबलमा पनि यो सिजन  सर्वाधिक गोलकर्ता रहेका छन्। तर उनी लियोनल मेस्सी होइनन्। न त क्रिस्टियानो रोनाल्डो नै।

पछिल्ला सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की, पेरिस सेन्ट जर्मन (पीएसजी)का केलियन एमबाप्पे र बार्सिलोनाका लुइस स्वारेजमध्ये पनि कोही हाेइनन्। त्यसो भए, उनी को हुन् त ?

विश्व फुटबलले उनिबारे दिनदिनै खोजिरहेको छ। फुटबललाई उनी आफुबारे खोज्न बाध्य बनाइरहेका छन्। पछिल्लो एक दशक मेस्सी र रोनाल्डोको छायाँमा परेको क्लब फुटबलमा यसै सिजन उदाएका १९ वर्षीय एर्लिङ ब्राउत हालेन्ड यतिबेला विश्वकै उत्कृष्ट स्ट्राइकरको बाटाे बनाइरहेका छन्।

अस्ट्रियाको पहिलो डिभिजनको लिगमा यो सिजन हालेन्डले १५ गोल गरेका छन्। युरोपियन च्याम्पियन्स लिगमा ७ गोल गरेका छन्। यो सिजन उनले क्लबका लागि खेलेका १८ खेलमा २६ गोल गरेका छन्। यीमध्ये ५ वटा ह्याट्रिक छन्। उनले आइतबार मात्र घरेलु लिगमा साल्जबर्गले ३-० गोलको जित हात पार्दा तीनवटै गोल गरेका थिए।

हालेन्ड गत जनवरीमा मात्र नर्वेको मोल्डेबाट साल्जबर्गमा आबद्ध भएका हुन्। गत जुलाईमा अस्ट्रियन कपमा साल्जबर्गले इएसभी पार्नडर्फलाई ७-१ गोलले हराउँदा उनले सिजनको पहिलो ह्याट्रिक गरेका थिए।

च्याम्पियन्स लिगको यो सिजन पहिलो ह्याट्रिक गर्ने पनि हालेन्ड नै हु्न्। उनले पहिलो खेलमै ह्याट्रिक गरेका थिए, बेल्जियन क्लब जेङ्कविरुद्ध। दोस्रो मिनेटमा पहिलो गोल गरेका उनले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए।

यति भनेपछि तपाईलाई लाग्न सक्छ, उनी ठूलै देशका खेलाडी हुनुपर्छ। इंग्ल्याण्ड, स्पेन, ब्राजिल, अर्जेन्टिना, नेदरल्यान्ड्स, फ्रान्स वा यस्तै अन्य बलिया देशबाट।

खासमा, हालेन्डको देशले हालसम्म तीनपटक विश्वकप खेलेको छ, अन्तिमपटक सन् १९९८ मा। विश्वकपमा दोस्रो चरणभन्दा अगाडि पुग्न सकेको छैन। युरो कपको कुरा अझ बेग्लै। हालसम्म एकपटक मात्रै यो प्रतियोगिता खेलेको छ, सन् २००० मा। पहिलो चरण पार गर्न सकेको थिएन, त्यतिबेला।

यसै वर्ष मे मा पोल्यान्डमा आयोजित यू-२० विश्वकपमा हालान्ड पनि खेलेका थिए। प्रतियोगितामा उनको टोली पहिलो चरणबाटै बाहिरियो। तर हालेन्ड प्रतियोगिताका सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भए। उनले एकै खेलमा ९ गोल गरेका थिए, जुन यू-२० विश्वकपको कीर्तिमान हो।

यति भनेपछि, हालेन्डको देश युरोपियन फुटबलमा त्यति बलियो नभएको निष्कर्ष निकाल्न अप्ठेरो छैन। विश्व फुटबल महासंघ-फिफाको पछिल्लो वरियताक्रममा ४५ औँ स्थानमा रहेको नर्वेबाट हालेन्डले अन्तर्राष्ट्रिय फुटबल खेल्दैछन्।

यसै वर्ष उनले सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन्। त्यसअघि, गत वर्ष उनलाई नर्वेको सर्वोत्कृष्ट वर्ष खेलाडी चुनिएको थियो, नर्वेका महान् खेलाडी रोआल्ड जेनसेनको नाममा दिइने अवार्डसहित।

६ फिट चार इन्च अग्ला हालेन्ड इङ्ल्यान्डको लिड्समा जन्मिएका हुन्। उनका बुबा आल्फ इन्ज-हालेन्ड विश्व क्लब फुटबलमा नाम चलेका रक्षक थिए।

आल्फ इन्ज हालेन्डले इङ्ल्यान्डको लिड्स युनाइटेड र म्यानचेस्टर सिटीका लागि खेले। उनले नर्वेका लागि पनि ३४ खेले खेलेका थिए। क्लब फुटबलमा आल्फ इन्जले बनाएको छाप पछ्याउँदै जुनियर हालेन्ड पनि फुटबलमै लागे। इंग्ल्याण्डमा जन्मिए पनि उनले फुटबल करियर नर्वेबाट सुरु गरे। नर्वेको सातवटा उमेरस्तरको राष्ट्रिय टोलीबाट खेल्दै सिनियर टोलीमा ढोका खोलेका हुन्।

यो सिजन युरोपका ठूला पाँचवटा घरेलु लिगमा सर्वाधिक गोल गर्ने खेलाडीमा जर्मन लिग क्लब  बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की छन्। उनले १६ गोल गरेका छन्। इटालियन सिरिए मा लाजियोका क्रिस्टियन इम्मोबाइलले १४ गोल गरेका छन्।

इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीका जेमी भार्डीले ११ गोल, स्पेनिस ला लिगामा रियल म्याड्रिडका करिम बेन्जेमाले ९ गोल गरेका छन्। फ्रान्सको लिग वानमा मोनाकोका बेन येदरले ९ गोल गरेका छन्।

युभेन्ट्सका रोनाल्डोले ५ र बार्सिलोनाका मेस्सीले ८ गोल गरेका छन्। युरोपियन च्याम्पियन्स लिगमा यी दुवै खेलाडीको नाममा यो सिजन केवल एक–एक गोल मात्र छ। लेवान्डोस्कीले यो सिजन च्याम्पियन्स लिगमा ६ गोल गरेका छन्। सिजनका सबै प्रतियोगितामा गरि उनले २३ गोल गरेका छन्।

यता, हालेन्डले च्याम्पियन्स लिगका ४ खेलमा ७ गोल र घरेलु लिगका १२ खेलमा १५ गोल गरेका छन्। हालेन्डको दुर्भाग्य के भने, उनले खेल्ने क्लब र देश दुवै अन्तर्राष्ट्रियस्तरमा सशक्त छैनन्। सम्भवत साल्जबर्गले यो सिजन च्याम्पियन्स लिगको पहिलो चरणबाटै विदा हुनु पर्नेछ।

उता, अस्ट्रियाको घरेलु लिगमा पनि १२ टोली मात्र छन् जसले डबल लिग राउन्ड रोबिन आधारमा प्रतिस्पर्धा गर्छन्। अर्थात अस्ट्रियाको पहिलो श्रेणीको लिगमा एउटा टोलीले २४ खेल खेल्दछ। युरोपका ‘बिग फाइभ’ घरेलु लिगमा एउटा क्लबले कम्तीमा ३४ खेल खेल्दछ।

सन् २००३ मा आल्फ इन्ज-हालेन्डले इङ्लिस क्लब फुटबलबाट विदा लिएर नर्वे फर्कँदा एर्लिङ ब्राउत हालेन्ड केवल तीन वर्षका थिए। आल्फले इंग्ल्याण्डमा अन्तिम पटक म्यान सिटीका लागि खेले।

यतिबेला विश्वका ठूला क्लबको नजर एर्लिङ ब्राउत हालेन्डमा परिसकेको छ। तर, एर्लिङ हालेन्डको सपना छ- लिड्स युनाइटेडलाई इङ्लिस प्रिमियर लिग विजेता बनाउने।

यसको मतलब उनी ढिलो चाँडो लिड्स युनाइटेडका लागि खेल्न चाहन्छन्। लिड्स युनाइटेड हाल इंग्ल्याण्डको दोस्रो डिभिजन लिग  खेलिरहेको छ।

 

कार्तिक २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्