उप–निर्वाचन

ओली बिनाकाे चुनावी प्रचार-प्रसार खल्लो, प्रचण्ड एक्लै देश दौडाहमा

काठमाडौँ – प्रतिनिधिसभा र स्थानीय तहमा रिक्त सदस्यको पदपूर्तिका लागि उप—निर्वाचन आउन १८ दिन मात्र बाँकी रहँदा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चुनावी प्रचार–प्रसारमा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित छन्।

आम निर्वाचनको झण्डै दुई वर्षपछि हुन लागेको यो उपनिर्वाचनमा ओलीले त्यसबेला अडान लिएका राष्ट्रियता र नेपालमा रेल तथा पानीजहाज यात्राको सुनिश्चितता जस्ता दाबी यसपल्टको प्रचारमा नसुनिने मात्रै हैन, प्रतिस्पर्धीहरुप्रतिकाे व्यंगले समेत त्यो रुपमा ठाउँ पाउने छैन।

गत आम निर्वाचनमा माओवादीसँग गठबन्धन निर्माण गरी चुनावी प्रचार–प्रसारमा देश दाैडाहमा उत्रिएका ओली अहिले देशकै ठूलो पार्टीको अध्यक्ष तथा प्रधानमन्त्रीको हैसियतमा छन्।

तर उनलाई स्वास्थ्यले साथ नदिँदा चुनावी प्रचार–प्रसारमा उत्रिन सकेका छैनन्। उनको विकल्पका रुपमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी कमाण्ड सम्हाले पनि उनको भाषणमा ओलीको व्यंगको अभाव अनि आत्मरति बढी देखिँदा जनतालाई तुलनात्मक रुपमा त्यसले कम आकर्षित गर्ने गरेका ‘रिपोर्ट’हरु उनले चुनावी भाषण गरिसकेका कास्की र दाङबाट आएका छन्।

बरु त्यही मौकामा दाहालले ओलीलाई रिझाउने पर्याप्त मौका समेत पाएका छन्।

गत कार्तिक १४ गते धापासीस्थित ‘ग्रान्डी इन्टरनेशनल’ अस्पतालमा १२ वर्षअघि प्रत्यारोपण गरिएकाे मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि दुई पटक ‘डायलासिस’ गरेर बालुवाटार छिरेका प्रधानमन्त्री ओलीले त्यसको पर्सिपल्ट महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेर एक्सरे गरेका थिए।

त्यसपछि बालुवाटारमा आयोजित पार्टी सचिवालय बैठक, मन्त्रीपरिषद् बैठक र एउटा सर्वदलीय बैठकमा बाहेक अन्य सार्वजनिक कार्यक्रमहरुमा अनुपस्थित छन्।

भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीबारे छलफल गर्न सोमबार डाकिएको संसदीय समितिको महत्वपूर्ण बैठक मात्रै होइन आफ्नै पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले राखेको त्यस सम्बन्धी पहिलो बहस कार्यक्रममा पनि सहभागि भएनन् ओली।

यता मंगलबार ‘प्रोटोकल’ विपरित बंगलादेशका राष्ट्रपति मोहम्मत अब्दुल हमिदलाई स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी पुगेको विमानस्थलमा नपुगेर आफ्नो स्वास्थ्य स्थिति नाजुक रहेको सन्देश फैलाउन मद्दत पुर्‍याएका छन् ओलीले।

यता गत वर्ष फागुन १५ गते हेलिकप्टर दुर्घटनामा दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्थानमा चुनावमा होमिएकी उनकी पत्नी विद्या भट्टराईलाई जिताउन मनोनयन दर्ताकै दिन प्रचण्ड पोखरा पुगेका थिए।

प्रतिनिधिसभाका लागि एक मात्र उपनिर्वाचन हुन लागेको कास्की–२ बाट ‘रवीन्द्र अधिकारीको सपना पूरा गर्न विद्यालाई चुनावमा जिताउनु पर्ने र उनलाई विजयी गराउन नेकपा एक ढिक्का हुनुपर्ने’ आग्रह गरे उनले।

त्यसअघि चुनावी प्रचारप्रसारकै क्रममा दाङ पुगेका प्रचण्डले जिल्लाको क्षेत्र ३ (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार विमला कुमारी खत्री वलीलाई जिताउन आग्रह त गरे तर आफ्ना अभिन्न मित्र तथा सहयोगी पूर्वसभामुख कृष्णबहादुर महराको आलोचना गर्न पनि पछि परेनन् उनी सार्वजनिक रुपमा।

राजनीतिमा चतुर र बोली फेर्न माहिर प्रचण्ड ओलीलाई खुशी पार्न चाहन्थे। र, त्यसको प्रयास गरेका छन् देखिनन् गरी उनले।

सरकारले संसदमा पेश गरेको नेपालको पूर्वाधार विकास परियोजना कार्यान्वयनका लागि ५१ अर्वको अमेरिकी सरकारको मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी विधेयक पारित गर्न पूर्व सभामुख महराले असहयोग गरेको भन्दै ओली उनीसँग रुष्ट बनेका थिए।

त्यसको केही समयपछि अर्थात असोज १४ गते बलात्कार प्रयासको अभियोग लाग्यो महरामाथि र भोलीपल्ट १५ गते सभामुख पदबाट राजीनामा दिएका थिए उनले।

दाङको यात्रापूर्व नेपालगञ्जमा प्रचण्डले आफू अहिले फुर्सदिलो भएको, त्यसैले कार्यकर्ता र जनताको गुनासो सुन्ने मौका पाएको र त्यसले पार्टीलाई अझ शसक्त बनाएर अघि बढ्ने अभिव्यक्ति दिएका थिए। अर्थात अप्रत्यक्ष रुपले पार्टीमा थप भूमिकाको चाहना उनले स्पष्ट राखे।

त्यसअघि महोत्तरीको पिपरा गाउँपालिकामा शुभकामना आदानप्रदान कार्यक्रमको नाममा प्रचण्ड, महासचिव विष्णु पौडेल, प्रदेश दुईका पार्टी अध्यक्ष प्रभु शाह र सरकारका मन्त्रीहरु चुनावी प्रसार–प्रसारमा अग्रसर भए।

तर ओलीको ‘पञ्च’ र ‘व्याङ्ग्य ’को अभावमा उनीहरुको भाषण फिक्का थियो।  पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपप्रधानमन्त्री सदस्य ईश्वर पोखरेल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि जिल्ला प्रशिक्षण, चुनावी कार्यक्रम लगायतकाे दौडमा छन्।

उम्मेदवारहरुको चाहना अनुसार नेताहरु खटाउने गरेको छ पार्टीले, तर ओलीलाई सबैले चाहेपनि उनी उपलब्ध हुन सकेका छैनन्।

अध्यक्ष ओलीको अनुपस्थितिले चुनावी प्रचार–प्रसार खल्लो भएको नेकपा नेताहरुले अनुभूति नगरेका हैनन्। तर ओलीसँग अब सहजै निस्कने परिस्थिति छैन।

‘कम्तीमा महत्वपूर्ण स्थानमा प्रधानमन्त्री एवं पार्टीका दुवै अध्यक्ष सहभागि हुनुले अर्थ राख्छ तर प्रधानमन्त्रीको स्वास्थ्यले रोक्यो’, पार्टी सचिवालयका एक सदस्यले देशसञ्चारसँग भने।

कार्तिक २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्