सप्तरंगको सांगीतिक यात्रा नेपालगञ्‍जमा

भीआइपीलाई समात्‍न प्रहरीलाई भ्याइनभ्याई…

नेपालगञ्ज-‘प्रहरीलाई अहिले भीआइपी समात्दैमा फुर्सद नै छैन, हास्यकलाकार मुन्द्रे (जितु नेपाल) ले हाउभाउ मिलाउदै व्यंग्य गरे, सांसदलाई समात्दै डिल्लीबजार पुर्‍याउनु परेको छ । एउटालाई समात्यो अर्को सांसद तयार भइसकेको हुन्छ।’

नेपालमा जस्तो भीआइपीहरुले जेल भरिने अर्को देश नरहेको मुन्द्रेले व्यंग्य गर्दा नेपालगञ्जको रामलिला मैदान हाँसोले गुञ्जयमान भयो । मुन्द्रेको कटाक्ष थियो, विकसित धेरै देशहरुमा जेल र अस्पताल खाली हुन थालिसके। नेपालमा त सबैभन्दा धेरै भीड हुने भनेकै कारागार र अस्पताल भएको छ ।’ उनले नेपालीले खानपानमा सुधार गर्नुपर्ने सन्देश दिन भ्याए।

स्वास्थ्य बीमाको चर्चा त मुन्द्रेलाई गर्नै थियो। किनकी, उनलाई देशव्यापी दौडाहामा हिडाउनेमध्येमा एउटा सानिमा बिमा थियो । यसो भनिरहदा मुन्द्रेले टीभीएस मोटरसाइकलको बखान गर्न कहाँ चुक्थे र ! टीभीएस पनि कार्यक्रमको पार्टनर थियो । स्टेजमा राखेको मोटरसाइकललाई देखाउदै मुन्द्रेले मोटरसाइकलको गुनगानमात्रै गाएनन्, कसरी, को बस्छ भन्न भ्याए।

ग्रिष्म ब्रोडकास्टिङले शान्ति र सद्भाव, पर्यटन प्रवद्र्धन र समुन्नतिका लागि थालेको सप्तरंग सांगीतिक यात्रा–२ का क्रममा नेपालगञ्ज आइपुगेका कलाकारहरुले गीत र व्यंग्य प्रस्तुती गरेर नेपालगञ्जवासीलाई भरपूर मनोरञ्जन दिए।

हिमाल सागरको गीतमा महानायक राजेश हमाल नाच्दा होस् या प्रकाश सपुत, सुगम पोखरेल, मेलिना राई, रवि ओडले गीत गाउँदा दर्शकले मज्जाले स्वरमा स्वर मिलाए । प्रहरी कलाकारको नाचले पनि दर्शकलाई ततायो ।

महानायक हमालले कलाकारले साझा भाषा बोल्छ र सप्तरंगी अभियान नेपालीपनलाई एउटै डोरीमा बाँध्ने उद्देश्यले थालिएको बताएपछि शुरु भएको सांगीतिक कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक मेयर उमा थापा, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, बागेश्वरी मन्दिरका मूलमहन्त चन्दननाथ योगी, प्रहरी र नेपाली सेनाका उच्च अधिकृतहरुको सहभागिता रहेको थियो।

धम्बोझी चोकबाट प्रहरी ब्याण्डबाजा बजाउदै सांगीतिक यात्रा रामलिला मैदान पुगेको थियो । यात्रामा विद्यार्थीको उल्लेख्य उपस्थिति थियो । सामुदायिक प्रहरीकोसमेत साझेदारी रहेकाले प्रहरीको उपस्थिति पनि बाक्लो थियो।

प्रदेश नम्बर एकबाट शुरु भएको यात्रा २, ३ हुँदै ५ मा आइपुगेको छ। यसअघि कर्णाली प्रदेशमा जाने आयोजकले बताएका छन्।

कात्तिक २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्