घाेडामा रारा घुमाउने ११ वर्षे सइस

घोडाका साथमा सइस गणेश विश्वकर्मा । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

रारा तालको छेउ–छेउको बाटो सेतो रंगको एउटा घोडा एक युवकलाई बोकेर हिँडिरहेकाे थियाे। त्यही घोडाको पछाडि–पछाडि घोडाको जत्रै उचाई भएका एक बालक आफूभन्दा ठूलो झोला बोकेर हिँडिरहेका थिए।

घाेडा सँगसँगै हिँडिरहेका उनलाई हेर्दा जो–कोहीले पनि सजिलै अनुमान लगाउन सक्छ, उनी सइस (घोडाको रेखदेख वा स्याहार गर्ने चिरुवादार) हुन्। उनी हेर्दा मात्र होइन उमेरले पनि राराका अन्य घोडसवार मध्ये सबैभन्दा कलिलो उमेरका छन्। सइस गणेश विश्वकर्मा जम्मा ११ वर्षका भए। उनी चार कक्षामा पढ्छन्।

उनले १० वर्षको उमेरमा घोडा कुदाउन सिके। उनलाई घोडा कुदाउन पोख्त हुन एक महिना लाग्यो। एक महिनापछि उनी घोडाको रफ्तारलाई बुझ्न सक्ने भए। घोडाको ढाडमा बसेर घोडाको खुट्टाको आवाजसँगै आफ्नो शरीरलाई लच्काउन सिके।

मध्यम परिवारमा जन्मिएका गणेशले घोडा कुदाउन थालेपछि उनका बुवाले केही राहतको स्वास फेरे। अब गणेशले बुवालाई पालो दिन सक्ने भइसकेका छन्। उनका बुवा पनि एक घोड सवार नै हुन्। बुवाले घोडा कुदाएको देखेर नै गणेशले घोडा कुदाउन सिकेको बताए।

उनको घर मुगु जिल्लाको ज्यारीमा हाे। रारासम्म दैनिक घोडा लिएर आउन उनलाई करिब तीन घण्टा लाग्छ। स्कूल बिदा भएको समयमा मात्र घोडा लिएर रारा पुग्ने गर्छन्। बिदाको दिनमा बुवाको कामलाई आफूले सघाँउदै आएको उनले बताए।

तस्बिर: बर्षा शाह/देश सञ्चार

उनी पढ्ने स्कुल घरदेखि आधा घण्टाकाे दूरीमा छ। घोडा कुदाउन पोख्त भएता पनि उनी स्कुल भने हिँडेरै जाने गरेको बताउँछन्। पछिल्लो समय उनी दसैँ तिहारको बिदाभरि घोडा लिएर रारा पुग्ने काम गरे। रारा घुम्न पुगेका मानिसहरुलाई आफ्नो घोडामाथि राखेर घुमाए।

उनी दसैँ–तिहार बिदामा मात्र होइन्, अन्य दिन छुट्टि हुने बित्तिकै घोडा कुदाउँदै रारा पुगिहाल्छन्। उनको छुट्टि नभएको दिन भने उनका बुवाले घोडा कुदाउने गर्छन्।

गणेशका बुवाले एक वर्षअघि नयाँ घोडा किने। घोडाको नाम गणेशले लक्की राखे। लक्की उनका लागि साँच्चै नै लक्की साबित भइरहेको छ। रारा घुम्न आएका पर्यटकलाई दैनिक बोक्छ, अनि पैसा कमाउँछ।

घोडाले एक दिनमा दुई हजार रुपैयाँ कमाउँछ। गणेशले घोडाले दिनभरि कमाएको पैसा साँझ घर पुगेर बुवालाई दिने गर्छन्। आफ्नो परिवारको आम्दानीको स्राेत भनेकै घोडा भएको गणेशले बताए।

खेतीपातीका साथसाथै उक्त आम्दानीले उनीहरुको घर खर्च चल्ने गरेको उनले बताए। केही समय आगाडि राराका घोड सवारहरुले आफूले सक्नेजति टिप गर्ने गर्थे। तर पछिल्लो समय भने घोडाको समिति गठन गरेका छन्। जसले गर्दा घोड सवारले आफूले चोहेर वा रोजेर कुनै पनि मानिसलाई बोक्न सक्दैनन्। जसका कारण उनीहरुको आम्दानी कम हुँदै आएको छ।

उनी भन्छन्,‘अइल त सुमिति गर्या छन्, कमै कमाई हुन्च, पैला हामी आफ्ना इच्छाले गर्दथ्यौँ, त्यै बेला अलि बढी रुप्याँ हुन्थ्या।’

घोडा राराबाट मुर्मा टप, राराबाट सल्लेरी, राराबाट ताल्चा एयरपाेर्ट गरी विभिन्न ठाउँका लागि समिति बनाइएको छ। घोडसवारले समितिलाई प्रत्येक दिन एक सय रुपैयाँ बुझाउनु पर्ने नियम बनाइएको छ।

समितिका अनुसार एक ठाउँको समितिले अर्को ठाउँमा घोडा लिन नपाउने नियम छ। उनले भने,‘सुमिति नभए त हामी एक दिनमा १०/१२ टिप गर्दाउँ।’

सानो बालक भन्दै कतिपय मानिसहरुले आफूलाई टिप्स दिने गरेको समेत उनले बताए। बिहानै घरबाट निस्केका उनी बिहानको ७ बजेदेखि साँझ ५ बजेसम्म रारा घुम्न पुगेका मानिसलाई घोडामाथि राखेर घुमाउने गर्छन्।

कार्तिक २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्