विचार

थारु समुदायको यथार्थ चित्रण समा-चकेवा

नेपाली समाजको संरचना र विकास यहाँ आदिमकालदेखि बसोवास गरिआएका जाति तथा उत्तर र दक्षिणतिरबाट आएका विविध जातिका संगालोबाट समष्टिगत रुपमा भएको इतिहासको पानाहरुमा पस्टैसँग लेखिएका छन्। नेपालको भौगोलिक विविधता र धेरै जातजाति, भाषा, संस्कृति, धर्म र सामाजिक विविधता नै नेपाली समाजको विशेषता हो। वि.सं. २०६८ सालको जनगणना अनुसार नेपालमा १२५ वटा जातजाति तथा १२३ वटा भाषिकहरु प्रचलनमा रहेको पाइन्छ।

सबै जातजातिहरुको आ-आफ्नै किसिमका परम्परा र संस्कृतिहरु छन्। संस्कृति तथा सभ्यताका धनी मानिने आदिवासी थारुहरुको पनि आफ्नो अलगै किसिमको परम्परा र संस्कृतिहरु रहेको छ। जसमा ‘समा चकेवा’ पनि एक हो।

यो पर्व कार्तिक द्वितिया तिथिदेखि प्रारम्भ भएर शुक्ल पक्ष पूर्णिमाको तिथिसम्‍म मनाउने परम्परा रहिआएको छ। यसमा समा र चकेवाको प्रतिकको रुपमा राजकुमार ‘चक्रवाक’ र राजकुमारी ‘समा’ तथा अन्य सदस्यहरु जस्तै मिर्दङगिया, झाइलबाला, नटुवा, तितिर, झाँझी कुकुर, भमरा रञ्जित, सतभैया ईत्यादिलाई माटोले उनीहरुको आकृति बनाई डलामा राखेर घर आँगनमा गीत गाइ गाइ घुमाई खेल्ने गर्छन्। यो खास किसिमको व्रत, उपवास र चाँड पर्व होइन। यसलाई एउटा परम्परा, चलन तथा सखी बहैनपा सहित मनोरञ्जन माध्यमको रुपमा लिने गर्दछन्।

यो परम्परा बिशुद्ध सामाजिक र परिवारिक जमधटको रुपमा रहेको छ।यो परम्परालाई भाई-बहिनी, श्रीमान्-श्रीमती, आमा–वुवा र छोरा–छोरीको विचको आत्मियता सहितको स्नेहपूर्ण पारिवारिक सम्बन्ध मजबुत बनाउने परम्पराको रुपमा पनि लिने गरेको छ। यसले पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने गर्दछ।

गाँउ घरमा जिवित रहेको बुढापाकाहरु र विभिन्न दस्ताबेज अनुसार यस परम्पराको शुरुवात २००० वर्ष पहिले भएको अनुमान गर्न सकिन्छ। त्यस्ताका प्रयाग राज्यको गर्भदेश (हालको इलहावाद)मा सेन वंशीय ‘स्थवीर’ थारुहरुको राज्य थियो। यी सेन वंशीय राजाहरु मध्ये किसनभुषन सेन नामको एउटा महा–प्रतापी र धर्मात्मा राजा रहेको थियो । राजाको श्रीमतीको नाम आदम वती थिइन्। राजाको दुइ वटा सन्तानहरु थिए। राजकुमारी ‘समा’ थिइन् भने राजकुमारको नाम साम्ब थियो। यी दुई भाई-बहिनीबीच स्नेह घनिष्ठ र ममतामय सम्बन्ध थियो।

राजकुमारी समाको विवाह मगध देशको राजा सालिकको जेठो छोरा ‘चक्रवाक’ सँग त्यति बेला सानै उमेरमा भइसकेको थियो। सानै उमेरमा विवाह भए पनि त्यतिबेला थारु संस्कृति अनुसार युवती जवान भएपछि मात्रै माइतीघरबाट आफ्नो घर जाने परम्परा थियो। सोही अनुसार राजकुमारी ‘समा’ सानो हुँदा बुवा-आमाकै घरमा बस्थिन्।राजकुमारी ‘समा’ रुपवती, शिलवति र असल स्वभावकी भएकोले उनीमाथि सबैको एक नजर पर्थ्यो। ‘समा’लाई दरबारमा सबैले माया गर्थे। जोकुकैलाई पनि उसको रुपले मोहित पार्न सक्थ्यो।

तर दरबारमा राजा किसन-भुसन सेनले विश्‍वासिलो भारदारको रुपमा दरबारियामा ‘चुरठ’ नाम गरेको व्‍यक्तिलाई राखेका थिए। ‘चुरोठ’को कुदृष्टि राजकुमारी समा माथि पर्न गयो।घडी, पला दिन हुँदै समय बित्दै थियो। चुरठ(कुरौटे)ले एक दिन मौका छोपी राजकुमारी समासँग प्रेमको प्रस्ताव राख्यो। जसलाई राजकुमारीले ठाडै अस्वीकार गरिन्।

राजकुमारी असल स्वभावकी भएकीले र यो कुरा दरबारमा वा अरुलाई बताउँदा बुवाआमा समेतको बदनाम हुने भएकोले कसैलाई भनिनन्। यता, चुरठले आफ्नो प्रस्ताव राजकुमारी समाले अस्वीकार गरेपछि उनीमाथि विभिन्‍न किसिमको षडयन्त्र रच्न थाल्यो। चुरठले राजकुमारी समासँग बदला लिन समाको चरित्र माथि अनेक प्रश्‍न खडा गरी कपोकल्पित लाल्छना, जालझेल, छलछाम, षडयन्त्र र कुरौटे नीति बनाएर राजाको कान फुक्ने काम गर्‍यो।जसको परिणाम राजा रिसाए।त्यतिबेला राजा रिसकै झोकमा सत्य नै नबुझी चुरठको बिश्‍वासमा परी छोरी समालाई सजायको घोषणा गरिदिए।सजाय स्वरुप राजाले छोरीलाई बनवास जाने आदेश दिए।यो खबरले दरबारमा तरंग उत्पन्‍न गर्‍यो। छोरी समा बुवाले तोकेको सजायमा कुनै पनि प्रतिक्रिया नजनाई ‘बनवास’ जान तयार भइन्।

यो खबरले रानी आदम्बती स्तब्ध भइन्, राजासँग रोइकराइ गरिन्।राजा किसन-भुसन सेनलाई छोरी ‘समा’को बनवास रोक्न अनेक प्रयास गरिन्। तर कुनै उपायले काम गरेन। राजाले एकपटक दिइसकेको आदेश त्यतिबेला फिर्ता हुँदैन्थ्यो। किनकी त्यतिबेलाका राजाहरु वचनको पक्का थिए।अहिले पनि थारु समाज वचनको पक्का मानेर काम गर्दै आएका छन्। छोरा-छोरीले गल्ती गरेमा अहिले पनि थारु समाजमा घरमुलीले प्रचलन छ, ‘जाऊ तिमीलाई वनबास भयो।’

त्यतिबेला राजा किसन-भुसन र रानी अदम्बत्तीबिच भएको करुणिक सम्बादको गीत थारु समाजले आफ्नो मौलिक/मातृभाषामा अहिले पनि जोगाएर राखेका छन्।

रानी आदमबती:
केहेन तोहर गौरव हे गरभा राजा,
सगरे भेलौ उपहास
चुगलाके चुगली मे पैरके हे राजा,
बेटीके देला वनवास।
अर्थात
(कस्तो गौरव थियो तिम्रो है गरभा राजा
सबै ठाउँ भयो तिम्रो उपहास
कुरौटेको कुरामा परेर
छोरीलाई दियौ वनबास)

राजा किसन भुसन सेन:
चुरठ के जिन दोष हे रानी, जिन दोष मोर रिस
विधि के लिखल हे रानी, समा के साथ यैसन अनरित। विधि के ॥ss॥
अर्थात
चुरोठ(कुरौटे/चुगला)को जति दोष छ,
मेरो पनि उत्तिकै दोष छ
विधिले यस्तै लेखिदियो आज
की समा छोरीसँग ठूलो
अन्याय भयो

रानी:
जिन तु समझ बुझ हे रजा
जिन कैल खोज विचार
तोहरो विचार मे लागल मधुवा,
समा बेटी के छुटल सब से हित। चुगलाके  ॥SS॥

अर्थात
नबनुझीकनै अरुको बोली सुन्यौ है राज
तिमीलाई नै भयो उपास
समाको आमा-बुवा छुट्यो
छोरीलाई माइतीसँग टुट्यो आस

राजा:
साँठी देहु आहे रानी झाझी रे कुतुवा,
साँठी देहु भमरा रञ्जित
छानी-छानी पठाव हे
रानी सकले समान
जैसे हेतै समा बेटी आपन हित। जैसे हेतै ॥ss॥

अर्थात
वनवासमा पठाइ दिनू
छोरी समासँगै झाझी कुकुर
पठाइ दिनू भमराको भुनभुन संगीत
छानी-छानी पठाइ दिनू हे रानी
ज-जसले राख्न सक्छ समा छोरीको हित

रानी:
कौने विधि बेटी बसिहे रजा
कौने विधि काटतै समय साल
सब सुविधा जोरी देहु हे रजा
ने त समय विततै बड जञ्जाल। चुगलाके ॥ss॥

अर्थात
कुन तरिकाले बस्छे छोरी ?
कुन उपायले काट्छे त्यो साल ?
सबै सुविधा मिलाइ देऊ है राजा
नत्र छोरीको जीवन बित्छ जञ्जाल

राजा:
अलख जगाबे पठाब हे रानी
एक गिरोह काली नृत्य
हृदयानन्द हेतै हे रानी,
खुस हेतै समा वेटी के चित। हृदयानन्द हेत ॥ss॥

अर्थात
अलख जगाउने पठाउनु हे रानी
एउटा समूह कालीको नृत्य र गीत
हृदयानन्द हुनेछ हे रानी
खुसी हुनेछ छोरीको चित्त

त्यस्तै छोरी समालाई राजाले बनवासको सजाय सुनाएको र समा बनवासको लागि प्रस्थान गरेको कुरा भाइ राजकुमार साम्बले थाहा पाएर समालाई बनवास जानबाट रोक्नको लागि सक्दो प्रयास गर्छ।तर बहिनी ‘समा’ भाइ ‘साम्ब’को कुरा मान्दिनन्। भाइले बिहनीसँग अनेक किसिमको बिलौना र प्राण त्याग गर्ने कुरा गर्दा पनि समाले भाइ ‘सम्ब’लाई सम्झाइ-बुझाइ गरी आफू जसरी पनि वनबास जाने कुरामा दृढसंकल्पित हुन्छिन्। बहिनी समाको आँखाबाट अनवरत रुपमा बगिरहेको आँसुलाई भाइ ‘साम्ब’ले रोक्ने प्रयास गर्दा पनि त्यो व्यर्थ भएर जान्छ। जसलाई अहिले पनि थारु समुदायमा गाउघरका बुढापाकाहरुले गुन्गुनाउने प्रचलित गीतले पुष्टि गरेको छ।

राजकुमारी समा र राजकुमार साम्ब विच थारु भाषामा भएको गीतिक संवाद (नेपालीमा पनि अनुवाद)

भाई राज कुमार साम्ब:

कथिले कानै चिही हे समा बैहिनी,
कथिले टुटलौ लहिरा से आस
घर घुरी चलु हे समा बैहिनी,
बाँटी देबो अधहा राज।

अर्थात
किन रुदैछौ समा बहिनी ?
किन टुट्यो माइतीबाट आस?
जाऔं, घर फर्कौ हे बहिनी
बाडि दिन्छु मेरो आधा राज्य

बहिनी राजकुमारी समा
बाबा के सम्पतिया हे भैया
भतिजवा के आस
हम पर गोतनी हे भैया
मोटरिया के आस

अर्थात
बुवोको यो सम्पत्ति है दाजु
पछि भतिजको हुनेछ आस
म त पराई घरकी चेली हुँ दाजै
मलाई पोका-पन्तुराको मात्रै छ आस

भाई साम्ब:
घर लौटी चल हे समा बैहिनी
बाबा के देबै हम ज्ञान
तुहु जिन घुरव हे समा बैहिनी
मोही तेजव आपन प्राण।

अर्थात,
घर फर्कि जाऔन है बहिनी
बुवालाई दिन्छ म ज्ञान
तिमी यदि घर गएनौ भने
म पनि यही त्यागी दिन्छु प्राण

बिहनी समा:
जिन यैसन करहु हे साम्ब भैया
बाबा के हेतै बहौत बदनाम
करम के खोट हे भैया
विधि मोरा भेलै बाम

अर्थात,
किन यस्तो गर्छौ है साम्ब दाजै
बुवाको हुन्छ त्यहाँ बद्‌नाम
कर्म मेरै खोटो रहेछ
विधिले यस्तै लेखिदियो मेरो नाम

भाई साम्ब:
कैसन के हम जिबै हे समा बैहिनी,
कैसन के फेरव हम सास
जिन तुहु घुरव हे समा बैहिनी
जगत मे भाई के हेतै बहौत उपहास ।।

अर्थात,
कसरी म बाँच्नु अब समा बहिनी ?
कसरी फेर्नु म यो सास ?
जब तिमी पर्किएनौ भने
जगतमा दाजु-भाईको
हुनेछ धेरै उपहास्

बिहनी समा:
जनि कानु जनि खिजु
जनि हेवु निराश
दोसर जन्मुवा मे हम सब
फेरो एके कोखी लेबै अवतार

अर्थात,
चाहे रुनुस् या चाहे हास्नुस्
चाहे जति नै हुनुस् निराश
बरु अर्को जन्ममा
हामी दुवैको एउटै
कोखमा हुनेछ बास !

यसरी गीत मार्फत बहिनी राजकुमारी समाले भाइ राजकुमार साम्बलाई सम्झाउँछिन् धेरैसम्‍म।उता, राजकुमार अर्थात समाको श्रीमान् ‘चक्रवाक’ले पनि यो कुराको जानकारी पाइसकेपछि आफ्नो श्रीमती समालाई वनवास नजानको लागि आग्रह गर्छ।उनले जस्तोसुकै कदम र त्याग गर्न तयार भए पनि राजकुमारी समाले श्रीमान्‌लाई समेत सम्झाइ-बुझाइ गरी अर्को जन्ममा सँगै बस्ने वचन दिइ बुवाको आदेश पालन गर्न ‘वनवास’ आफ्नो पाइला चाल्छिन्।

यस्तो करुणिक दृश्यलाई राजकुमारीले असहज रुपमा नलिइ भाइ साम्बलाई अर्को जन्ममा फेरि सँगै भाइ-बहिनी र र श्रीमान्‌ चक्रबातलाई पुन: श्रीमान्-श्रीमतीको (चखेवाको जोडी)रुपमा जन्म लिने वाचा गर्छिन्। यसका साथै समाले आफू कार्तिक शुक्ल् पक्ष ‘इजौरिया’ अर्थात पूर्णिमासम्‍म थारु गाउँघरमै चकेवा-चकेवीको रूपमा युगौ युगसम्म आइरहने वचन दिन्छिन्।त्यहीबेलादेखि सोही वचनलाई थारु समुदायले थारु समाजमा भाइ-बहिनीको प्रेमको प्रतीकको रुपमा समाचकेवा प्रत्येक वर्ष कार्तिक शुल्क द्वितियाको दिनदेखि पूर्णिमासम्‍म समाचकेवाको गीत, कीर्तन गाउँदै र पूज्‍दै आएका छन्।

उता रानीले राजाको आज्ञा अनुसार छोरीलाई वृन्दावनमा कुनै पनि किसिमको दु:ख, कष्ट नहोस् नहोस् भनेर सबै व्यवस्था मिलाइ एक समूह नृत्य टोली ढोलकिया, नटुवा, सुरक्षा टोली कुकुर, तितिर, नदी वा तलाउ तर्न नाह खेबैया, मधुर संगीत दिन भुनभनु भमरा लगायत राजकुमारीलाई मनपर्ने सम्पूर्ण चिजबिजहरु साथ लगाएर विदाइ गर्छिन्।

राजकुमारी समा वनमा गएर तपस्या गर्न थाल्छिन्। समय बित्दै जान्छ।वनमा भीषण आगलागी हुन्छ जसलाई भाइ साम्बले आफ्नो तपस्या र सैनिक बलसहित आगो निभाउन सफल हुन्छ। राजकुमारी तपस्याबाट सिद्धि प्राप्त गरी अर्को जन्ममा चकेवाको रुपमा जन्मिन्छन्। उक्त चकेवाले दुई वटा अण्डा पार्छन्। ती दुई अण्डाबाट भाले चकेवा र पोथी चकेवीको जन्म हुन्छ।ती भाले र पोथी ठूला भई जवानभए पछि राजकुमारी समा र राजकुमार चक्रवाकको प्रतीक श्रीमान्–श्रीमती भइ जीवन विताउँछन्।

यसरी ती भाले र पोथी भाई साम्ब र बहिनी समाको प्रतीक एक-अर्कालाई अगाध माया र स्नेह बाड्छिन्। उनी जता जाँदा पनि सँगै जोडी भएर जान्छन्। त्यसैले थारु गाउँसमाजमा अझै पनि विवाह हुनु पहिले थाकवंश (गोत्र) हेरेर मात्रै विवाह गर्ने परम्परा कायमै छ भने नेपाली समाजमा पनि यही उखान चलिआएको पाइन्छ, ‘कस्तो चखेवाको जोडी जस्तै?’ उक्त समा-चखेवाको जोडी चरा अहिले पनि नेपालको तराइका नदीहरुमा सँगै उडेको, घुमेर आहारा खोजिरहेको भेट्न सकिन्छ। थारु समुदायमा अहिले पनि चखेवाको जोडीलाई शुभ मानिन्छ।

कार्तिक शुक्लपक्ष द्वितीया तिथिदेखि पूर्णिमाको राति र त्यसको भोलि पल्ट दिउँसोसम्म समा–चकेवाको सम्झना स्वरुप माटोले बनाएको बिभिन्न स्वरुपलाई रंग रोगनसहित तयार गरेर डालीमा राखेर प्रत्येक साँझ टोलको मुखिया, माइन्जन, जेवारलगायतको घर आँगन र दरबजा (आगन बाहिरको खाली ठाउँ)मा जम्मा भइ आ-आफ्नो डालामा बत्ती/टुकी बाली गीतसहित एक घरबाट अर्को घरमा समाखेल्न जान्छन्। त्यहाँ गएर सबैजना बसेर दाजुभाइको लागि आशिर्वाद र बहिनीको लागि स्नेह र माया माग्ने गरिन्छ। त्यसपछि आ-आफ्नो समालाई ढेक (जोतेको खेतको माटोको डल्ला) खुवाउँछन् र थारु भसामा भन्छन्

सामचे सामचके (आबिहे हो)-२
जोतला खेतमे (बैठिए हो)-२
सब रङ पटिया (ओछाइहियै हो)२
तै पटियामे (के-के सुते)
छोटे बरहे (लादहैन सुते)

अर्थात
समाचकेवा सधैं (आउनु है)२
जोतेको खेतमा (बस्‍नु है)२
सबै रङको गुन्द्री (ओछ्याउनु है)२
त्यो गुन्द्रीमा (को को सुत्‍ने?)-२
सानोदेखि ठूलो (सबै भाई सुत्‍ने)

त्यसपछि फर्केर आँगनमा आइ चुरठ अर्थात ‘चुगला’ (कुरौटे)लाई गलत काम गरे बापतको गलत आशिष दिइन्छ। उसको कामको परिणाम स्वरुप गाली गर्दै तीन चोटी ‘चुगला’को जुँगा डढाउँछन् र गाली गर्दै भन्छन्

‘अगरके काठी डगर के गुँह,
घोइर-घोइर देबौ चुगलाके मुँह

अर्थात,
अगरठको काठ, गोरेटोको दिसा
घोली-घोली पिलाउँछु
यही हो तिम्रो हिसा (अंश)
त्यसपछि सप्रिनेछ तिम्रो मुख
अनि मात्र पाउँनेछौ तिमीले सुख

त्यसपछि उपस्थित सबैजना खित्का छोडेर हाँस्छन्। त्यसपछि जंगलको प्रतीको रुपमा बनाइएको बनाइएको हुन्छ। जतिबेला समा जंगलमा तपस्या गर्दा आगो लागेपछि भाईसम्बा गएर निभाएका थिए। त्यसैको सम्झनामा वृन्दावनी पनि तीन पटक डढाउने र निभाउने गर्छन् अनि भाइहरुको लागि आशिष माग्दै भन्छन्।

वृन्दावनी वृन्दावनीमे आइग लागलै
के-के बुताबे, के के बुताबे ?
सात भाइ, भाइको नाम ‘सेहा बुताबे’।

अर्थात,
वृन्दावनमा आगो लाग्यो क-कस्ले निभाउने?
सात भाइ फलानो (आ-आफ्नो भाइको नाम लिँदै)
उसैले निभाउने-उसैले निभाउने

यसपछि सबैजना आ-आफ्नो घर जान्छन्। यस किसिमले प्रत्येक साँझ महिला दिदबहिनीहरु समाचकेवाको यो खेल खेल्ने गर्छन् र कार्तिक शुक्ल पक्ष पूर्णिमाको रात भने डगर अर्थात पूरा गाँउ डुल्ने गर्छन् र दाजुभाइको लागि आशिर्वाद माग्ने गर्छन्। त्यसको भोलोपल्ट विहान समा-चकेवा साथमा लिएर गीत गाउँदै टोलभरि घर-घरमा गइ विदाइको लागि माग्ने गर्छन्।

अन्त्यमा,
त्यसपछि नजिकको पोखरी, नदी, तलाउ इत्यादिमा पूजा अर्चना गरी तेल, सिन्दुरसहित दही-च्युरा, शखर अन्य समालाई कोसेलीहरु साथै दिइ पानीमा सेलाउने गरिन्छ। त्यसअघि मिल्‍ने छोरीहरु बैहैनपा( मितनी), छोराहरुले बगैरिया/भाइजी/गोदिया (मित) लगाउने थारु समाजमा अहिले पनि चलन छ।यसले थारु समुदायमा समाचकेवाको जस्तै मीतिनी वा मीतको मर्यादा कायम हरन्छ भन्‍ने किंवदन्ती छ।

यसपछि पानीमाथि तैरि रहनको लागि पालकी ‘डोली’ बास वा सन्ठी (गाउँघरमा पाइने जुट)बाट तयार गरिएको मन्दिर बनाएर त्यसमा आ-आफ्नो समा-चकेवालाई राखेर मध्‍य भागको पानीमा छाड्ने गरिन्छ। यसका साथै त्यहाँ उपस्थित सबैलाई प्रसाद स्वरुप दही-च्युरा बाँड्छन्। सबैजना आ-आफ्नो घर फर्किन्छ। यसरी एक वर्षको लागि समा–चकेवा खेल्ने चलनको अन्त हुन्छ ।

यस किसिमले समा–चकेवा महिलाहरुले खेलेर मनोरञ्जन गरिने एक किसिमको परम्परागत संस्कृति हो। यो संस्कृतिसँग थारुहरुको पुर्खौली सम्बन्ध रहेको छ। अहिले पनि थारुहरुको थाक(गोत्र)वंश, कुलदेवता इत्यादि पुर्खाहरुकै नामबाट रही आएकोले यसबाट यो संस्कृतिसँग थारुहरुको वंशाणुगत सम्बन्ध रहेको प्रतिक हुन्छ।

पर्वले सन्देश के दिन्छ ?


यो पर्वबाट हरबर अर्थात हतारमा गरेको निर्णयले जहिले पनि पछताउनु बाहेक केही दिँदैन, बाँकी रहदैन पनि भन्‍ने ज्ञान दिन्छ भने बुवा आमाको आदेश जस्तो भए पनि त्यसलाई शिरोधार्य गर्नु छोरा-छोरीको कर्तव्य हो भन्‍ने बोध समेत गराउँछ। यसका साथै बुवा आमाले पनि छोरा-छोरीमाथि जथाभावी सोधिखोजी नगरीकनै निर्णय लिँदा परिवारमा अप्ठ्यारो पर्न सक्छ भनेर हतारमा निर्णय सुनाउन नहुने सन्देश दिन्छ।

समाजमा चुरठ/चुगला अर्थात कुरा लगाउने कुरौटे जस्तो कुपात्र पनि हुन्छन्। यस्ता पात्रहरुबाट सधैं सतर्क रहन समाचकेवाले सजग गराउछ भने बहिनीको लागि भाइ आजीवन रक्षको रुपमा उभिएको हुन्छ। उसलाई आइपर्ने कुनै पनि समस्याबाट जोगाउन भाइ हरपल/हरदम तयार रहन्छ भने सन्देश पनि प्रवाह गर्छ।

सस्कृतिमाथि सद्‌भाव कायम


नेपालको इतिहास हेर्दा तराइमा बसोवास गर्ने थुप्रै जात-जातिहरुले विभिन्‍न काल खण्डमा आइ आ-आफ्नो अस्तित्वलाई स्थापित गरे पनि एकले अर्कालाई विस्थापित गर्ने र अर्काको धर्म संस्कृति परम्परालाई नकारात्मक व्यवहार गरेको पाइँदैन। फलस्वरुप अहिले पनि तराईमा थारु समुदाय मात्रै नभइ थारु समुदायसँग विभिन्‍न समयमा आएका अन्य जाति समुदायहरुले पनि यस परम्परालाई स्वीकार गरी धुमधामको साथ समाचकेवा मनाउने गर्छन्।

हाल यो संस्कृति संघीय राजधानी काठमाडौं उपत्यका लगायत देशका विभिन्‍न स्थानमा महोत्सवको रुपमा समेत मनाइरहेका छन् थारु लगायत अन्‍य समुदायहरु पनि हर्षोल्लासका साथ। काठमाडौं उपत्यकामा भने यो पर्व थारु महिला समाजले पहिलो पटक वि.सं.२०६१ सालदेखि मनाउन थाले पनि हाल थारु बाहुल्‍य क्षेत्र टीकाथली, कुपण्डोल, बल्खु लगायत अन्‍य टोलहरुमा प्रत्येक वर्ष विभिन्‍न समूह बनाइ यो पर्व मनाउने गरेको पाइन्छ।

त्यसकारण, यो थारुहरुको पुर्खौली परम्परा भए पनि सम्पूर्ण हाल आएर तराईबासीहरुको साझा संस्कृतिको रुपमा सद्‌भावको पर्व बन्दै गएको छ। यो पर्वले सम्पूर्ण नेपालीहरुको राष्ट्रियतालाई बोकेको छ भने विस्तारै अन्य समुदायमा पनि रुपान्तरण र हस्तान्तरण भइरहेको छ। यसलाई कतिपय समुदायले हिन्दु र मैथिली संस्कृतिको रुपमा चित्रण गर्ने प्रयास गरे पनि यथार्थमा यो पर्वको इतिहास र परम्परा थारु समुदायबाट भएको हो। पछि यसलाई हिन्दु धर्मालम्बीहरु र मैथिली समाजले पनि ग्रहण गरेको पाइन्छ।

(लेखक थारु भसा साहित्य केन्द्र नेपालका केन्द्रीय उपाध्यक्ष हुन।)

कात्तिक २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्