गुल्मीको रुरु र अर्घाखाँचीको मालारानीमा ३–३ जनाको उम्मेदवारी

सांकेतिक तस्बिर

बुटवल– मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता भएको छ। स्थानीय तहका लागि गुल्मीको रुरु र अर्घाखाँचीको मालारानीमा ३–३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

गुल्मीको रुरु क्षेत्र गाउँपालिका–६ मा रिक्त रहेको अध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दिएका छन्।

रुरु क्षेत्र गाउँपालिकाको बलेटक्सारमा रहेको निर्वाचन कार्यालयमा बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट गिरिप्रसाद सिन्जाली र नेपाली कांग्रेसबाट बेदप्रसाद दर्लामीले उम्मेदवारी दर्ता गराएका छन्। मनबहादुर दर्लामीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराए।

सिन्जालीको मनोनयन दर्ताका लागि नेकपाबाट प्रदेश ५ का सांसद कमराज श्रेष्ठ, दिनेश पन्थी, नेकपा गुल्मी अध्यक्ष मधुकृष्ण पन्तसहितका नेता लगायत स्थानीय कार्यकर्ताहरु निर्वाचन कार्यालय पुगेका थिए।

कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, गुल्मी जिल्ला सचिव खिलध्वज पन्थीसहितका नेता तथा अगुवा कार्यकताहरु बेदप्रसाद दर्लामीको उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थिए।

उपनिर्वाचन हुन लागेको यस वडामा २ हजार ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।

यसअघि २०७४ सालमा भएको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट पूर्णबहादुर रेग्मी विजयी भएका थिए। उनको निधन भएपछि यो वडामा उपनिर्वाचन हुन लागेको हो।

मालारानीमा ३ जनाको उम्मेदवारी


अर्घाखाँचीको मालारानी गाउँपालिका वाड नं. ३ मा तीन जनाको उम्मेदवारी दर्ता भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट यमलाल खनाल, कांग्रेसबाट शोभाखर खनाल र राप्रपाबाट रणबहादुर खनालले मनोनयन दर्ता गरेका छन्।

मनोनयन दर्ता गर्न उम्मेदवारहरु कार्यकर्तासहित झण्डा र चुनाव चिह्नसहित जुलुस गर्दै मुख्य निर्वाचनको कार्यालय खनदहमा पुगेका थिए।

कांग्रेस र नेकपाको जुलुसमा ठुलो संख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति थियो। नेकपाको तर्फबाट स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, जिल्ला इन्चार्ज नजिर मिया, जिल्ला अध्यक्ष एवं प्रदेश सांसद चेतनारायण आचार्य, प्रदेश सांसद रामजीप्रसाद घिमिरे लगायतका नेता उपस्थित थिए।

कांग्रेसबाट प्रतिनिधिसभा सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, कांग्रेस संसदीय दल सचेतक एवं पुष्पा भुसाल, जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान) लगायतका नेता सहभागी भए।

कांग्रेसले चुनाव जित्न मालारानी गाउँपालिकामा भएको भ्रष्टाचारको मुख्य नारा बनाएको छ भने नेकपाले विकासको गरेको नारा अघि सारेको छ। स्थानीय तहको चुनावमा निर्वाचित वडाध्यक्ष जीवन चौहानको दुर्घटनामा परि निधन भएपछि अध्यक्ष पद खाली थियो।

कात्तिक २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्