बंगलादेशका राष्ट्रपति हमिदले फेवातालमा ४० मिनेट डुंगा सयर गर्ने

पोखरा – नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखरा आउने भएका छन्। पोखरा फेवातालमा डुंगा सयरदेखि नजिकै रहेको रुपा गाउँपालिका पुगेर हिमाली दृश्यावलोकन गर्ने उनको कार्यक्रम छ।

बिहान झन्डै १२ बजे पोखरा विमानस्थल आइपुग्ने हमिद लगत्तै फेवाताल पुग्नेछन्। विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका कार्यवहाक मुख्यमन्त्री किरण गुरुङले स्वागत गर्नेछन्।

उनको स्वागतका लागि पोखरा विमानस्थल अगाडि स्वागतद्वार निर्माण गरिएको छ। विमानस्थलदेखि लेकसाइड जाने सडकको सरसफाइ गरिएको छ। सडक किनारमा दायाँबायाँ नेपाल र बंगलादेशको झण्डा फहराइएको छ।

बंगलादेशी राष्ट्रपति हमिदको स्वागतमा कुनैपनि किसिमको कमी हुन नदिने गरी तयारी गरिएको गण्डकी प्रदेश सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए। उनको सुरक्षाको लागि प्रदेश र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिइसकिएको मन्त्री बस्नेतले सुनाए।

सांस्कृतिक कला प्रदर्शनीका लागि पोखरा महानगर र रुपा गाउँपालिकालाई जिम्मेवारी दिइएको छ। पोखरा एयरपोर्टबाट सिधै हमिद फेवाताल पुग्ने छन्। उनको समयतालिका अनुसार ४० मिनेट फेवातालमा डुंगा सयर गर्ने कार्यक्रम छ। त्यसलगत्तै फेवाकिनारको फिस्टेल लजमा उनको आतिथ्यमा प्रदेश सरकारले दिवाभोजको व्यवस्थापन गरेको छ।

त्यसपश्चात्त हेलिकप्टरमा उनी रुपाकोट रिसोर्ट जाने कार्यक्रम छ। रुपाकोटमा हमिदलाई प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले स्वागत गर्नेछन्। रुपा गाउँपालिकाले त्यहाँस्थित सांस्कृतिक झाँकी सहित स्वागत गर्नेछ। स्वागत र सम्मानमा मारुनी र सोरठी नाच देखाइने जानकारी गाउँपालिका अध्यक्ष नवराज ओझाले दिए।

रुपाकोटमा हमिदले एक घण्टा बिताउने कार्यक्रम छ। उनी बिहीबारै हेलिकोप्टरबाट काठमाडौं फर्कनेछन्।

प्रदेश सरकारले बंगलादेशी राष्ट्रपति हमिद पोखरामा रहँदासम्मको सम्पूर्ण व्यवस्थापन गर्ने बुधबारको बैठकबाट निर्णय गरिसकेको छ। बंगलादेशी राष्ट्रपति अब्दुल हमिद कात्तिक २९ सम्म नेपाल भ्रमणमा रहनेछन्।

कार्तिक २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्