नेपालगञ्‍जमा अब राप्तीको पानी

नेपालगञ्‍ज-केही वर्ष अघिसम्म नेपालगञ्जमा जता खने पनि सजिलै पानी आउथ्यो। पानी चिन्ताको ‘विषय’ नै थिएन। दिन प्रतिदिन पानीको ‘लियर’ घट्दो छ। केही वर्षमा नेपालगञ्जमा पानीकै हाहाकार हुने लक्षणहरु देखिएका छन्।त्यो कुरा बुझेको नेपाल खानेपानी संस्थान, नेपालगञ्जले शहरवासीलाई अभाव हुन नदिन बेलैमा राप्ती नदीबाट पानी ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

संस्थानले नदी किनारमा ‘समवेल’ राखेर पानी संकलन गर्ने र पाइपबाट नेपालगञ्‍जसम्म ल्याउने प्रक्रिया थालेको हो। नदी किनारमा जम्मा गरिएको पानी पाइपमार्फत नहरपूर्वा हुँदै विभिन्न तीन ठाउँबाट नेपालगञ्जमा झारिने संस्थानका नेपालगञ्ज प्रमुख मोहनदत्त भट्टले जानकारी दिए। त्यसका लागि पाइप लाइनको टेण्डर भइसकेको छ।

हिराचन मल्ल जेबीसँग दुई करोड ५७ लाखमा पाइप लाइन बिछ्याउने सम्झौता गरेको छ। समवेलका लागि भट्टराई कन्ट्रक्सनसँग ५७ लख २४ हजारमा सम्झौता भएको छ। पाइप लाइन बिछ्याउदा पिच सडक काट्नु पर्ने भएकाले संस्थान अहिले सम्बद्ध निकायसँग अनुमति लिने दौडधुपमा रहेको छ।

असार १५ गते भएको पाइपलाइन बिछ्याउने सम्झौता एक वर्षको रहेको छ। पाइप तथा फिटिङको जम्मा लागत २४ करोड ९२ लाख रुपैया रहेको संस्थानका प्रमुख भट्टले बताए।

संस्थानले आगामी दुई वर्षमा राप्ती नदीको पानी नेपालगञ्जमा ‘सप्लाई’ गर्ने जनाएको छ। नेपालगञ्जमा अहिले दैनिक १५ लाख लिटर पानी उत्पादन भइरहेको छ। संस्थानको चार वटा ट्यवेलबाट पानी निकालेर वितरण भइरहेको छ। अरु दुई वटा ट्युवेल सञ्चालनको तयारीमा रहेको छ। पानीको माग बढ्दो क्रममा रहेको र त्यसलाई पूर्ति गर्न केही ठाउँमा बोरिङ गाड्नका लागि खन्दा पानी नै नआएपछि संस्थान राप्ती नदीतिर लागेको थियो।

नेपालगञ्जमा अहिले १८ प्रतिशत घरधुरीले मात्रै ट्युवेलको पानी प्रयोग गरिरहेका छन्। २८ हजार घरधुरी रहेकोमा पाँच हजारले मात्रै संस्थानको पानी प्रयोग गर्छन्। साविकको १७ वटा वडा, कारकादो र परसपुरका केहीले मात्रै संस्थानको पानी प्रयोग गर्छन्। नेपालगञ्जमा अहिले २३ वटा वडा भएको छ। सरकारले एक घर, एक धाराको नीति पनि अघि सारेको छ।

संस्थानले नेपालगञ्जमा दैनिक कम्तीमा ३० लाख लिटर पानी चाहिने अनुमान गरेर अघि बढेको छ। राप्ती नदीबाट दैनिक दुई करोड ५० लाख लिटर पानी ल्याउने तयारी भएको छ।

राप्ती नदीको पानी पाइपमार्फत नेपालगञ्ज ल्याउन सक्दा यहाँ पानीको कुनै समस्या नै नहुने भट्टको भनाई छ। त्यसका लागि सजिलो भने छैन। राप्तीमा इनटेक बनाउनुपर्ने, पम्प हाउस, गार्डहाउस, जेनेरेटर, पम्पमोटर, पाइप फिटिङ, ट्रान्सफर्मर, थ्रीफेजलाइनको व्यवस्था गर्नुपर्छ।

२०÷२५ फिट खन्दा नै पानी आउने नेपालगञ्जमा पानीको लियर घट्दै गएर पानीको समस्या हुने दिन आएपछि शहरवासीमा चिन्ता बढेको छ।

कार्तिक २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्