स्टेफानोस सेमिफाइनलमा, राफायल नाडालको सम्भावना कायम

स्टेफानोसा सिट्सिपास एटिपी फाइन्लस टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । २१ वर्षका स्टेफानोसले पहिलो पटक यो वर्ष एटिपी फाइन्लस खेलेका छन् ।
उनले साबिक विजेता एलेक्जान्डर स्भेरेभलाई पराजित गरेका छन् । राउण्ड रोबिन चरणको पहिलो खेलमा राफाल नाडाललाई पराजित गरेका स्भेरेभ दोस्रो खेलमा भने स्टेफानोससँग ६–३ र ६–२ को सेटमा पराजित भए । जितसँगै स्टेफानोसले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।
यसअघि भएको खेलमा राफायल नाडाल विजयी भएका थिए । बुधबार राति नै भएको खेलमा विश्व नम्बर एक नाडालले चौथो बरियताका डानिएल मेदवेदेवलाई पराजित गरेका हुन् ।
पहिलो सेटमा पछि परेको अवस्थाबाट नाडालले खेल आफ्नो पक्षमा ल्याउन सफल भएका हुन् । मेदवेदेवलाई ६–७ (३–७), ६–३ र ७–६ (७–४) को सेटमा पराजित गरेका नाडालको सेमिफाइनल पुग्ने सम्भावना छ ।