महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानको सार्वजनिक सुनुवाई

ट्रम्पमाथि गम्भीर संकटको सम्भावना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक रुपमा सुनुवाई सुरु भएको छ ।

राजधानी वासिङ्गटन डिसीमा ट्रम्पविरुद्ध महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा पहिलोपटक घटनाका बारेमा जानकारी रहेको ठानिएका उच्च अधिकारीहरुसँग सार्वजनिक रुपमा सुनुवाई सुरु गरिएको हो ।

यसअघि अनुसन्धान गरिरहेका संसदीय समितिले ती अधिकारीसँग सुनुवाई गरिसकेको थियो, तर त्यो सार्वजनिक थिएन । तर बुधबारदेखि सार्वजनिक रुपमा सुनुवाई सुरु भएको हो ।

सार्वजनिक रुपमा भएको सुनुवाईको क्रममा एक उच्च अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति ट्रम्पले सीधै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग पूर्व उपराष्ट्रपति जो बाइडेनका सम्बन्धमा अनुसन्धान गर्न भनेको बताएका छन् ।

ट्रम्पले आफ्नो सम्भावित प्रतिस्पर्धीको राजनीतिक छवी धुमिल बनाउनका लागि विदेशी शक्तिको सहयोग मागेको आरोप छ । जो बाइडेन आउँदो वर्ष अमेरिकामा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने होडमा सबैभन्दा अघि छन्।

सार्वजनिक सुनुवाईको क्रममा युक्रेनका लागि कार्यवाहक अमेरिकी राजदूत बिल टेलरले राष्ट्रपति ट्रम्पले निकै जोडका साथ पूर्व उपराष्ट्रपति बाइडेनका सम्बन्धमा भ्रष्टाचार आरोपमा छानबिन गर्न आग्रह गरेको बताएका हुन् । राजदूत टेलरले आफ्ना सहकर्मीले दिएको जानकारी उद्धृत गर्दै सुनुवाईको क्रममा यस्तो बताएका हुन् ।

राजदूत टेलरले महाभियोग लगाउने सम्बन्धी अनुसन्धानको क्रममा पहिलोपटक सार्वजनिक रुपमा भएको सुनुवाईमा बोलेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारसँग प्रतिक्रिया दिँदै आफूले त्यस्तो टिप्पणी या आग्रह गरेको स्मरण नरहेको बताएका छन् ।

ट्रम्पमाथि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न दबाब दिएको आरोप छ । ट्रम्पले आफूले कुनै अवैध काम नगरेको र भइरहेको महाभियोग लगाउने सम्बन्धी अनुसन्धान ‘विचहन्ट’ रहेको बताउँदै आएका छन् ।


सार्वजनिक रुपमा भएको सुनुवाईको सुरुवातमा राजदूत टेलरले आफ्नो कार्यालयका एक सहकर्मीले ट्रम्पले गरेको टेलिफोन वार्ता सुनेको र त्यसमा ट्रम्पले बाइडेनमाथि गर्ने भनिएको अनुसन्धानका बारेमा के भइरहेको छ ? भनेर जानकारी लिएको बताए ।

सो टेलिफोन ट्रम्पले युरोपियन युनियनका लागि अमेरिकी राष्ट्रपति गोर्डन सनड्ल्याण्डलाई गरेका थिए । जवाफमा गोर्डनले युक्रेन त्यस सम्बन्धमा प्रक्रिया अघि बढाउन तयार रहेको बताएको दाबी गरिएको छ ।

ट्रम्पले गोर्डनसँगको टेलिफोन संवाद सकेपछि आफ्ना सहकर्मीले त्यसबारे बुझेको टेलरले बताएका छन् । गोर्डनले टेलिफोन राखेपछि आफ्ना सहकर्मीले राष्ट्रपति ट्रम्प युक्रेनका बारेमा के सोच्नु हुँदो रहेछ ? भनेर सोधेरको र त्यसको जवाफमा गोर्डनले ‘राष्ट्रपतिलाई जो बाइडेनका सम्बन्धमा गर्न भनेको अनुसन्धानमा बढी चासो छ’ भनेको टेलरले सुनुवाईको क्रममा बताएका छन् ।

सनड्ल्याण्डका बारेमा नोभेम्बरको सुरुमा सोधिँदा ट्रम्पले आफूले उनलाई खासै नचिन्ने बताएका थिए ।

सुनुवाईपछि पत्रकारले ट्रम्पसँग प्रक्रिया लिएका थिए । ट्रम्पले यसबारे आफूलाई केही जानकारी नरहेको र आफूले पनि पहिलोपटक सुनेको बताएका छन् ।

ट्रम्पले गएको जुलाई २५ मा युक्रेनका राष्ट्रपतिलाई गरेको टेलिफोन वार्तालाई मुख्य आधार बनाएर सुरु भएको अनुसन्धानमा गोर्डनसँगको टेलिफोन वार्ता नयाँ प्रमाणमा रुपमा आउने देखिएको छ ।

कात्तिक २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्