राफेल प्रकरणमा दायर भएका सबै अपिल भारतीय सर्वोच्च अदालतद्वारा खारेज

भारतको सर्वोच्च अदालतले राफेल लडाकु विमान खरिदसँग सम्बन्धित सबै अपिल खारेज गरेको छ। फ्रान्सबाट ३६ वटा राफायल लडाकु विमान खरिद गर्ने क्रममा भ्रष्टाचार भएको भन्ने घटनालाई लिएर पुनर्विचारका लागि विभिन्न अपिल दायर भएका थिए ।

सर्वोच्च अदालतले यसअघि नै लडाकु विमान खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्ने आरोप खारेज गरेको थियो । राफेल लडाकु विमानसँग सम्बन्धित अर्को एक मुद्दामा सर्वोच्च अदालतले कांग्रेस नेता राहुल गान्धीको माफी स्वीकार गरेको छ ।

राहुल गान्धीले चुनाव प्रचारको क्रममा सर्वोच्च अदालतलाई उद्धृत गर्दै ‘चौकीदार चोर है (चौकिदार नै चोर छन्)’ भन्ने नारा लगाएका थिए । सर्वोच्च अदालतले भारतीय जनता पार्टी (भाजपा) की सांसद मीनाक्षी लेखीले राहुल गान्धी विरुद्ध दायर गरेको मानहानीको मुद्दा पनि बन्द गरेको छ । सर्वोच्चले राहुलको माफी स्वीकार गर्दै भविष्यमा सम्हालिएर बोल्न र अदालतलाई विवादमा नतान्न सचेत गराएको छ ।

राफेल लडाकु विमान खरिद प्रक्रियामा अनुसन्धानको खाँचो नरहेको पनि सर्वोच्चले उल्लेख गरेको छ । राफायल प्रकरणमा भ्रष्टाचार भएको भन्दै दायर भएको मुद्दामा यसअघि अदालतले फैसला गर्दै आर्थिक हिनामिना नभएको बताएको थयो । त्यसविरुद्ध परेका अपिल खारेज गर्दै सर्वोच्चले अनुसन्धानको खाँचो नरहेको उल्लेख गरेको हो ।

यो मुद्दामा सर्वोच्चले १० मे फैसला सुरक्षित गरेको थियो । सर्वोच्चमा पूर्व अर्थ मन्त्री यशवन्त सिन्हा, पूर्व वाणिज्य मन्त्री अरुण शौरी र सर्वोच्चका वरिष्ठ वकिल प्रशान्त भूषण समेतले पनि अपिल दर्ता गरेका थिए ।

प्रधानन्यायाधीश रञ्जन गोगोई अध्यक्षतामा न्यायाधीश एसके कौल र केएम जोसेफ रहेको बेन्चले यी अपिल खारेज गरेको हो ।

कार्तिक २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्