सबरीमाला मन्दिरमा महिलाको प्रवेशविरुद्ध अपिलः बृहत बेन्चमा सुनुवाई हुने

केरलाको सबरीमाला मन्दिरमा महिलाहरुलाई प्रवेश गर्न दिने फैसला विरुद्ध परेका अपिलको सुनुवाई बृहत बेन्च मार्फत हुने भएको छ ।

भारतीय सर्वोच्च अदालतका पाँच न्यायाधीशको बेन्चले सबरीमाला मन्दिरमा महिलालाई पनि प्रवेश गर्न दिइएको विरुद्ध परेको अपिलको सुनुवाई बृहत बेन्चबाट हुनु पर्ने बताएको हो ।

पाँच मध्ये तीन न्यायाधीशले सबरीमाला मन्दिर सम्बन्धी मुद्दा बृहत बेन्चमा पठाउनु पर्ने पक्षमा मत राखेपछि सो मुद्दा बृहत बेन्चमा गएको हो ।

सर्वोच्चले यसअघिको फैसलामा स्टे अडर जारी गरेको छैन । यसको अर्थ पुरानो फैसला कायम छ अर्थात सबरीमाला मन्दिरमा महिला पनि प्रवेश गर्न पाउँछन् ।

प्रधानन्यायाधीश रञ्जन गोगोईको अध्यक्ष न्यायाधीश आरएफ नरीमन, एएन खनविलकर, डीवाई चन्द्रचूड र इन्दू मल्होत्राको बेन्चले यो मुद्दालाई बृहत बेन्चमा पठाउने निर्णय गरेको हो ।

सर्वोच्चले सबरीमाला मन्दिरमा महिलालाई पनि प्रवेश दिनु पर्ने पक्षमा फैसला गरेको थियो । त्यस विरुद्ध परेको अपिलमा सुनुवाई गर्दै सर्वोच्च अदालतले गएको फेब्रुअरीमा आफ्नो निर्णय सुरक्षित गरेको थियो ।

सबरीमाला मन्दिरमा महिलालाई प्रवेश दिन सर्वोच्चले आदेश दिएको विरुद्धमा परेको अपिलको विरोध गर्दै केरला सरकारले महिलालाई मन्दिर प्रवेशमा रोक लगाउनु पर्छ भन्ने हिन्दू धर्मले अनिवार्य नगरेको बताएको थियो ।

सर्वोच्चको फैसलापछि दुई महिलाले सबरीमाला मन्दिर प्रवेश गरेका थिए । तर त्यसको व्यापक विरोध भएको थियो । ती महिलामाथि आक्रमण भएको थियो । सर्वोच्च अदालतको फैसलाको भाजपाले विरोध गरेको थियो ।

कार्तिक २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्