बंगलादेशी राष्ट्रपति हमिदद्वारा फेवातालमा नौकाविहार

पोखरा – नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखरा आएका छन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहान साढे ११ बजे आएका उनी अहिले फेवातालमा डुंगा सयर गरिरहेका छन् ।

उनको स्वागतका लागि गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, कार्यवहाक मुख्यमन्त्री किरण गुरुङ लगायत पोखरा विमानस्थल पुगेका थिए । राष्ट्रपति हमिदलाई पन्चकन्याले पुष्पगुच्छा सहित स्वागत गरेका थिए भने पञ्चेबाजा समेत बजाइएको थियो ।

फेवातालमा डुंगा सयरको कार्यक्रम सकिएपछि उनी फेवा किनारमै रहेको फिस्टेल लजमा प्रदेश सरकारले आयोजना गरेको दिवा भोजमा सरिक हुनेछन् ।

त्यसपश्चात्त रुपा गाउँपालिका पुगेर हिमाली दृश्यावलोकन गर्ने उनको कार्यक्रम छ । रुपाकोट रिसोर्टस्थित उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले स्वागत गर्नेछन् ।

रुपा गाउँपालिकाले त्यहाँस्थित सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ । स्वागत र सम्मानमा मारुनी र सोरठी नाच देखाइने जानकारी गाउँपालिका अध्यक्ष नवराज ओझाले दिए ।

रुपाकोटमा हमिदले एक घण्टा बिताउने कार्यक्रम छ । उनी बिहीबारै हेलिकप्टरबाट काठमाडौं फर्कनेछन् । उनलाई आन्तरिक मामिला मन्त्री चुमानले नै बिदाई गर्नेछन् ।

उनको स्वागतमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु बाटोमा दुवै देशको झण्डा, पुष्प गुच्छा र विभिन्न भेषभुषामा उपस्थित भएका छन् ।

कात्तिक २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्