चार वित्ता जग्गाको लोभमा सडक विस्तारमा अवरोध नगर्नुस्: मुख्यमन्त्री पाेखरेल

बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको सडक विस्तारमा अवरोध नगर्न घरधनी/व्यापारीहरूलाई आग्रह गरेका छन्। क्षणिक स्वार्थका लागि महत्वपूर्ण आयोजनालाई नगुमाउन उनले नगरबासीहरूलाई सचेतसमेत गराए।

रूपन्देही व्यापार संघ बुटवलको १८ औँ साधारणसभा तथा दशौं अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘राजमार्ग चौराहादेखि गोलपार्कको सडक विस्तार रोक्न माग गर्दै अदालतमा मुद्दा हाल्नेले फिर्ता लिनुस्। आफ्नै खुट्टामा आफै बन्चरो हान्ने काम नर्गनुहोस्। दुई चार वित्ता जग्गाको लोभमा अदालत नधाउनुहोस्।’

बुटवलको बजार क्षेत्रको व्यापार विस्तारका लागि पनि यो सडकलाई फराकिलो बनाउनुपर्ने मुख्यमन्त्री पोखरेलको जोड थियो। ‘जति अवरोध गर्‍यो उति बुटवलबासीलाई नै घाटा हुन्छ। यो सडकलाई विस्तार गर्न व्यापारीहरूले पनि सघाउनुपर्छ’, पोखरेलले भने।

चौराहादेखि गोलपार्कसम्म झण्डै साढे तीन किलोमिटर सडक यहाँ व्यापारीहरुले अदालतमा मुद्दा हाल्दा विस्तार कार्य अगाडि बढ्न सकेको छैन। यहाँ ३ सय ११ घरधुरी भत्काउनुपर्ने अवस्थामा छन्। तर स्थानीयको अवरोधका कारण तीन वर्षदेखि काम रोकिएको छ।

व्यापार संघको अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्नेछ। अध्यक्षमा यमलाल लोहनी निर्विरोध निर्वाचित भएका छन् भने अरू केही पदमा निर्वाचन हुनेछ।

कार्तिक २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू