भ्रमण वर्ष २०२०लाई सफल बनाउन ‘द नेक्स्ट डेस्टिनेसन’ कार्यक्रम

काठमाडौँ-सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्य सहित ‘पल्सर द नेक्स्ट डेस्टिनेसन’ नाम पाक्षिक टेलिभिजन ट्राभल शो प्रसारण गर्ने भएको छ।

नेपाल भ्रमण वर्ष २०२० सचिवालयले बिहीबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी निजी क्षेत्रसँगको सहकार्यमा सो ‘ट्राभल शो’ निर्माण गरी प्रसारणको तयारी गरेको हो।

उक्त ‘ट्राभल शो’ नेपाल टेलिभिजनमा भोलि ९:३० देखि प्रसारण गरिने आयोजकले जनाएको छ। कार्यक्रम नेपाल टेलिभिजन तथा हिमालयन टेलिभिजनमार्फत् प्रसारण हुने छ। उक्त शोमा नेपालका विभिन्न २६ वटा पर्यटकीय गन्तव्यलाई समेटिने आयोजकले जानकारी दिएको छ।

उक्त शोलाई नेपाली भाषासहित हिन्दी, अंग्रेजी र चिनियाँ भाषामा ‘सब-टाइटल’ गरी सामाजिक सञ्जाल तथा अन्य विभिन्न माध्यमबाट देश तथा विदेशमा प्रचार–प्रसार गरिने छ।

पर्यटकको उच्च सम्भावना रहेको तर प्रभावकारी रुपमा प्रचार-प्रसार नभएकाले ओझेलमा परेका गन्तव्यस्थललाई उजागर गर्ने कार्यक्रमको लक्ष्य रहेको छ।
उक्त शोमा गन्तव्यको ऐतिहासिक, भाषिक, सांस्कृतिक, धार्मिक स्थलसँगै त्यस क्षेत्रको जीवनशैली, खानपान र कथाहरुलाई समेत समेटिएको आयोजकले जनाएको छ।

यस्तै कार्यक्रममा बोल्दै सचिवालयका संयोजक सुरज वैद्यले नेपाल भ्रमण वर्षको प्रचारप्रसारमा सचिवालय लागिपरेको बताए।उनले निजि क्षेत्र तथा सबैले आ–आफ्नो ठाँउबाट प्रचारप्रसार गर्नु पर्ने पनि बताए।

द होराईजन मल्टिमिडिया तथा ‘नेपाल भ्रमण वर्ष’ सचिवालयलको सहकार्यमा उक्त कार्यक्रम निर्माण गरिएको द होराईजन मल्टिमिडियाका अध्यक्ष राधाकृष्ण धितालले जानकारी दिए।

कात्तिक २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्