खाना राखेर लगिन्छ हिरासतमा ब्राउनसुगर !

नेपालगञ्‍ज-इस्लामुद्दिन शेष बाँके प्रहरीको हिरासतमा छन्। जयसपुरका शेष लागु औषधी ब्राउनसुगरसहित पक्राउ परेपछि प्रहरी हिरासतमा पुगेका हुन्।
हिरासतमा रहेका शेषलाई हडकेसमा खाना (रोटी) पुग्थ्यो। केही दिनअघि राजाबाबु अन्सारीले हडकेसमा रोटी लिएर गएका थिए। रोटीभित्र उनले सुपरपावर सुर्ती, गाजा र मेघाश्री राखेर लगेका थिए।

प्रहरीले जाँच गर्दा त्यो फेला पर्‍यो। खानामा लुकाएर सूर्तीजन्य र लागु औषधी लैजाने अन्सारीलाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको बाँके प्रहरीका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जानकारी दिए।

शेष लागु औषधीका कारोबारी हुन्। लागु औषधी मुद्दामै पाँच वर्ष कारागार बसेर छुटेका शेष फेरी लागु औषधीसहित पक्राउ परेका छन्। ५० ग्राम लागु औषधीसहित पक्राउ परेका उपेन्द्र चौधरी आठ हप्ता जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा बसे।

चौधरीको खानामा लागु औषधी पुग्छ भन्ने ‘सुराक’ लागु औषध नियन्त्रण ब्यूरोको टोलीले पायो। ब्यूरोको टोलीले जिप्रकामा यस विषयमा जानकारी गराएपछि चौधरीलाई लगिएको दुई÷चार दिनको खाना सुक्ष्म जाँच भयो।

केही फेला परेन। तर, ब्यूरोले आफ्नो सुराकलाई पक्का मानेपछि चौधरीलाई बाहिरबाट खाना ल्याउन नै बन्द गरियो। अहिले चौधरी नेपालगञ्ज कारागारमा पुगेका छन्।

प्रहरीको हिरासतमात्रै होइन, कारागारमा पनि यो समस्या रहेको ब्यूरोको आकलन रहेको छ। ब्यूरोका इन्चार्ज प्रहरी निरीक्षक बीरबहादुर थापाले कैदी÷बन्दीलाई बाहिरबाट जाने खाना, फलफूलमा विशेष निगरानी गरिरहेको बताए।

ब्यूरोको टोलीले कारागारमा बेलाबेलामा छड्के जाँच गर्ने गरेको छ।नेपालगञ्ज कारागार प्रशासनले केही महिनादेखि बाहिरबाट खाना लैजान प्रतिबन्ध लगाएको छ। आफन्तीहरु भेट्न जादा फलफूल लिएर जाने गर्दछन्। यो छुट रहेको छ।

कारागारका निमित्त जेलर दिपेन्द्र पौडेलले खानामा नचाहिने चिजहरु राखेर पठाउने गरेको पाइएपछि बाहिरबाट खाना ल्याउन नै बन्द गरेको बताए। ‘अहिले फलफूल ल्याउँछन्। विशेष चाडबाडमा खाना आउँछ। हामीले विशेष निगरानी गर्छौ, निमित्त जेलर पौडेलले भने, शंकास्पदको बढी जाँच हुन्छ।’

नेपालगञ्ज कारागारमा ७ सय ८६ जना कैदी÷बन्दी छन्। त्यसमा २ सय ९१ जना लागु औषधका छन्। विशेष गरेर लागु औषधीका कैदी÷बन्दीको खानामा लागु औषधी भित्रिन सक्ने भएकाले बाहिरबाट खाना ल्याउन नै प्रतिबन्ध लगाइएको हो।

नेपालगञ्ज कारागारमा ‘आफन्ती’लाई भेट्न जानेहरुले लागु औषधी बोकेर नगएका पनि होइनन्। बाहिरी गेटको प्रहरीले जाँच गर्दा लागु औषधी बरामद गरेर कारबाही गरेका उदाहरण छन्। पछिल्लो महिनामा भने यस्तो नभेटिएको प्रहरीले बताएको छ।

लागु औषधीका कारोबारीको संख्या कारागारमा बढ्दो छ। नाकामा खटिएको ब्यूरोको टोलीले दैनिकजसो नै कोही न कोहीलाई पक्राउ गरिरहेको छ। जिल्लाका अरु प्रहरी कार्यालयबाट पक्राउ गरेर कारागारमा पठाउने संख्या पनि बढिरहेको छ।

लागु औषधीको तलतलमा रहनेहरु कारागार वा हिरासतमा पुग्दा छट्पटाउने भएकाले आफन्तीहरु भेट्न जादा, खाना या फलफूलमा लुकाएर लागु औषधी पुर्‍याउने प्रयास गरेको पाइन्छ।

कात्तिक २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्