उद्योग वाणिज्‍य महासंघको महानिर्देशकमा खतिवडा नियुक्त, विशेष साधारणसभा स्थगित

काठमाडौं- नेपाल उद्योग वाणिज्‍य महासंघको महानिर्देशकमा सरकारका पूर्वसचिव धरणीधर खतिवडा नियुक्त भएका छन्।

बुधबार महासंघका अध्‍यक्ष भवानी राणाको अध्‍यक्षतामा बसेको बैठकले खतिवडा महासंघको महानिर्देशकमा नियुक्त निर्णय गरेको हो।

यसका साथै नेपाल उद्योग वाणिज्‍य महासंघले कार्तिक २९ गते हुने भनिएको विशेष साधारण सभा रोक्का गरेको छ।

यस्तै महासंघले सरकारले अगाडि बढाएको सामाजिक सुरक्षा योजना र सामाजिक सुरक्षा कोषका विषयमा महासंघका सदस्य संघ संस्थाहरू जिल्लानगर उवासंघहरू, वस्तुगत संघहरू, एसोसिएट उद्योग प्रतिष्ठाहरूसंग यथाशीघ्र छलफल गरी अघि बढ्ने निर्णय गरेको छ।

यसैगरी मुलुकभित्रका उद्यमी व्यवसायीलाई राज्यका सबै सरोकारवाला निकायबाट कानुनी शासनको अवधारणा अनुरुप सम्मानजनक व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउने महासंघले जनाएको छ।

महासंघले जारी गरेको विज्ञप्तिमा भनिनएको छ, ‘उद्योगी/व्यवसायीहरू माथि विभिन्न समयमा राज्यका तर्फबाट हुँदै आएका व्यहार/रवैयाले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा समेत प्रतिकुल प्रभाव पर्न सक्ने सम्भावनातर्फ ध्यानाकर्षण गराउँदै मुलुकभित्रका उद्यमी व्यवसायीलाई राज्यका सवै सरोकारवाला निकायबाट कानुनी शासनको अवधारणा अनुरुप सम्मानजनक व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउनेछौ।’

कार्तिक २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्