तीन दिनमा ओली र नेपालको दुई पटक भेट, तर मतभेद कायमै

काठमाडौँ- करीब तीन महिनादेखि संवादविहीन रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्लो तीन दिनमा दुई पटक भेट भएको छ।

मंगलबार र बिहीबार बालुवाटारमा भएका दुवै छलफल प्रधानमन्त्री ओलीकै पहलमा भएको बुझिएको छ। तर सिंगापुर उपचारमा जानुभन्दा पहिले भदौ पाँच गते नेपालको ‘स्वास्थ्य लाभको शुभकामना चाँहिदैन र तपाई मेरो छिटो मृत्यु चाहनुहुन्छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि संवादहीनताको अवस्थामा पुगेकका यी दुई नेताबीच भएको भेटघालाई पार्टीभित्र सकारात्मक रुपमा हेरिएको छ ।

तर ओलीद्वारा श्रंखलाबद्ध रुपमा एक्लाइएका र अपमानित गरिएका नेता नेपालबाट तत्काल सहयोग र समर्थन उनलाई प्राप्त हुने सम्भावना भने कम रहेको दुवै पक्षको सम्बन्ध बुझ्ने पार्टी नेताहरुले बताएका छन् ।

‘लामो समयपछि एक्लाएक्लै ओली र नेपालबीच संवाद भएको छ, दुई पटक । यो राम्रो हो तर पटक-पटक ओलीको व्यवहारबाट नेपालको मन भाँचिएको छ। त्यो मन फर्काउन ओलीले धेरै मिहनत गर्नुपर्ने देखिन्छ,’ नेपाल निकट एक नेताले देशसञ्चारलाई बताए ।

ओलीले नेपाललाई बोलाएर ‘तपाई र म बीचकिन दूरी बढ्यो’ भन्ने प्रश्न गरे पनि उनले विगतमा आफूबाट भएका गल्तीहरुको महशुस तथा समीक्षा नगरेको ती नेताको भनाई छ ।

मंगलबार भएको करीब चार घण्टा लामो भेटमा ओलीले आफ्ना धारणाहरु बढी राखेका थिए भने नेपाललाई बोल्ने मौका निकै कम दिएका थिए । दोस्रो पटक बिहीबारको भेटमा पनि त्यसैगरी ओलीले आफ्ना कुरा सुनाए र नेपाललाई बिदाई गरेको बालुवाटार स्रोतले जनाएको छ । त्यसबाट ओलीले अहिले पनि आफ्ना कारणले नेपालको चित्त दुखेको छ भन्नेबारे नसोचेको देखिन्छ ।

‘दुई दिनको करीब पाँच घण्टाको भेटमा ओलीले पार्टी एकतामा केही चासो राख्नुभयो । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीलाई फेरि आफ्नो नक्सामा पारेको विषयमा पनि छलफल गर्नुभयो ।

तर विगतमा पार्टी एकता र सरकार सञ्चालनक्रममा भएका गल्तीको महशुस हुने गरी नेपाललाई केही भन्नु भएन । न त आफ्ना योजना नै सुनाउनुभयो,’ ओली निकट एक नेताले बताए । यो अवस्थामा यी दुई बैठकले मात्रै तत्काल मलमको काम नगर्ने देखिएको छ ।

ओलीले केहीदिनमै परिवर्तन गर्ने भनिएको मन्त्रीपरिषदमा नेपालपक्षका नेतालाई ल्याउने रणनीतिमा उनीभएको तर नेपालसँगको भेटमा त्यसबारेमा केही उल्लेख नगरेको समेत बुझिएको छ ।

त्यसबाट पनि एकलौटी रुपमा काम गर्ने आफ्नो शैली परिवर्तन गर्न ओलीले नचाहेको पुष्टी हुने नेपाल पक्षको भनाई छ ।

विधि, पद्दती र संस्थागत निर्णय हुनुपर्ने माग राख्दै पार्टीमा पटकपटक लिखित असहमति राख्दै आएका नेपालको तेस्रो वरियता खोसेर ओलीले अर्का नेता झलनाथ खनाललाई दिएपछि ओली र नेपालबीचको सम्बन्ध गत साउनको अन्तिम साता चिसिएको थियो ।

अस्वस्थ ओलीले सिंगापुरमा लामो उपचारका लागि जाने दिन बिहान बालुवाटारमा डाकेको सचिवालय बैठकमा नेता नेपालले मेरो पनि स्वास्थ्यलाभको कामनाभन्दा ओलीले मृत्युको कामना गरिरहेकाबाट स्वास्थ्यलाभको शुभकामना चाहिँदैन भन्ने जवाफ फर्काएका थिए ।

त्यसपछि नेपालले त्यो प्रमाणित गर्न ओलीलाई चुनौती दिएका थिए । विधिका आधारमा पार्टीभित्र काम हुनुपर्ने माग राख्दै निरन्तर लड्न थालेपछि गल्ती नभए पनि बालुवाटार जग्गा प्रकरणमा आफूलाई ओलीले फसाउन खोजेको आशंकामा नेपाल छन् ।

तर पछिल्लो समय नेपाल, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता खनाल र वामदेव गौतम मिलेर फेरी नयाँ समीकरण बन्छ कि भन्‍ने डरमा ओलीले नेपाललाई बोेलाएर छलफल गरेको बुझिएको छ।

कात्तिक २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्