विप्लवका जाजरकोट इन्चार्ज पक्राउ

साङ्केतिक तस्बिर

नेपालगञ्ज – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जाजरकोट इन्चार्ज प्रेमप्रकाश वली कोहलपुरबाट पक्राउ परेका छन् । जाजरकोट नलगाड नगरपालिका–५, रघुनाथ बस्ने ४२ वर्षका वलीलाई कोहलपुर प्रहरीले कोहलपुर–२, सालको बुटा भन्ने ठाउँबाट बिहीबार राति पक्राउ गरेको हो ।

कोहलपुर प्रहरीका इन्चार्ज डीएसपी हेम शाहीका अनुसार, वलीविरुद्ध विभिन्न मुद्दा लागेको छ । उनी लुकिछिपी कोहलपुरमा बस्दै आएका थिए ।

भौतिक संरचना विनास, राज्यविरुद्धको अपराध, चन्दासम्बन्धी कसुर मुद्दा लागेका वली फरार रहेका थिए । विभिन्न मितिमा जाजरकोटस्थित एनसेल टावरमा आगजनी तथा तोडफोड, जबरजस्ती चन्दा असुली वली संलग्न रहेको प्रहरीको आरोप छ ।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि त्यस पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गर्ने नीति अघि सारेको छ । त्यस अनुरुप जिल्लामा यसअघि पनि विप्लवका केन्द्रीय स्तरका नेताहरु जिल्लाबाट पक्राउ परिसकेका छन् ।

कार्तिक २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्